साहित्यपोस्ट डट कम

लघु-नाटक: माटो, नदी र मान्छे

लघु-नाटक: माटो, नदी र मान्छे

खेतबारीमा क्रमशः उत्पादन घट्न थालेपछि खेतीकिसानी छोडेर शहरतिर जानेहरू बढेका छन् । खेतीपातीबाट मनग्य उत्पादन गर्नेहरूकै घरमा आजकल खान नपुग्ने अवस्था छ । गाउँमा पहिरोको जोखिम बढ्न थालेको छ ।

सुत्राधार: हिजो धान फल्ने खेतमा आज प्रश्नै प्रश्न फलेको छ तैपनि कोही बोल्दैनन् । कोसँग छ यसको जवाफ ?

विस्ने: को हुन् यी फेरि ? भावना पोखेर हामीलाई मार्न खोज्ने ? पोहोर परार हालेको औषधिले उब्जनी राम्रो भएन । यसपालि त क्वालिटीको विषादी ल्याएको छु । औषधि नहाले त किराले सबै सिध्याइहाल्छ नि गाँठे ?

आमा : ए विस्ने के भनिस् रे ? हेर् ऊ त्यो गाउँका युवाहरूले मलाई यसरी नै घाइते बनाएका थिए । आज गाउँ नै छोडेर खााडीमा पुग्या छन् । तैँले छरेको औषधिले किरा मात्रै मर्दैन, हेर् त (देखाउँदै) मेरो रगत पातलो भइसक्यो । तेरो बाँच्ने आधार अझै मारिबस् मोरा !

मेरो प्वाल परेको मुटु फुटाइदे !

म उसै मरेको छु ।

रगतपछ्य पारेर मिल्काइदे ।

तँ म विना बाँच्छस् भने ठिक छ

मलाई मर्न गारो हुने छैन

आफैँ मरिदिउँला

तर मभन्दा पहिला तँ मरिस् भने

कसले लेखिदिन्छ नमिठो इतिहास ?

विस्ने : लौ लौ लौ को हँ माथितिर बसेर बकबक गर्ने ? माटोको नि मुटु हुन्छ ? नचाहिने सिम्प्याथी देखाइरहनु पर्दैन यार । सक्छस् भने आइज आमुन्नेसामुन्ने भिँड्न !

पिपल : (मञ्चको दाहिनेतिरको कुनाबाट मसिनो आवाजमा बोल्दै निस्कन्छ ) मिठो मिठो खुवाएर चाँडो चाँडो ठूलो बनाएका होलान् भनेको, मार्न पो रहेछ । यसै रोगी छु मार ।

सुइ लाएर भए पनि मलाई बेलैमा चपाइछाड्यौ क्यार ? तिमीलाई पनि चपाउँदैछ नि समयले विचार गरे बाबै !

फट्यांग्रो : मलाई पनि धेरै नहेप है ! सानुको महत्व झन् ठूलो पो हुन्छ त ।

विस्ने: राम राम राम किराफट्यांग्रा, माटो बोटबिरुवादेखि मान्छेसम्मले मैले गरेर खाएको देखिसकेनन् हगि ? आओ आओ सबै मिलेर सिध्याइदेऊ मलाई । सबै मिलेर टाउको खाओ ।

बजारले वस्तु खोज्छ कि स्वास्थ्य ? नखाइ को बाँच्दो रैछ ? मान्छेले त रिस गर्थे नै, हावा पानी कीटपतंग सबैले मलाई नै गाली गर्छन् । गइदिन्छु कोरियातिर । भाषा परीक्षा पास गर्न पाए कोरियाको खेतीमा काम गरेर टन्नै कमाउँथे ।

(खुइया गर्दै)

यो पृथ्वीमा कलियुग आएछ । निर्जिवहरू पनि बोल्न थाले । हेर्दै जाओ अब मान्छेहरूको युग सकिन्छ ।

(परबाट सेतो एप्रोन लगाएर डाक्टर आइरहेका देखिन्छन् ) अहो डाक्टर केटो कताबाट आइपुग्यो ? आउ बस भतिज बस । ए नाति डाक्टर काकालाई मीठो चिया पका भन् त तेरो आमालाई ?

मिनु : बाबु लिनुस् चिया । कताबाट यता पाल्नुभो ?

डाक्टर: घुम्दै आएको भाउजू । स्वास्थ्य चौकीको डिउटी सकेर घरतिर जान लागेको । काका काकीलाई भेटेर जान्छु भनेर यताबाट आएको नि ! भाउजू तपाईंको हातमा के भाको, पूरै कालो छ त ?

मिनु: खै बाबु, बाले सागमा हाल्ने औषधि ल्याउनुभा रै’छ, यसो खोलेर छामेको छाला खाइदियो । कस्तो कडा रहेछ ।

डाक्टर : विष्णु काका हेर्नुस् त सागसब्जीमा यस्तो कडा विषादी हाल्नु हुँदैन । त्यस्तो सागसब्जी खाँदा हामीलाई नराम्रो असर गर्छ ।

विस्ने: हैन भतिज यो हामीले खाने होइन नि बेच्नलाई हो !

डाक्टर: बेचे पनि हामीजस्तै अरुको स्वास्थ्यमा हानी गर्छ नि ? माटो बिग्रिन्छ । किरा फट्यांग्राको बाँच्न पाउने अधिकार हनन हुन्छ ।

विस्ने : राम राम बाली खाने किरालाई के को अधिकार ? बजारले वस्तु खोज्छ । स्वास्थ्य हेरेर बस्ने भए भोकै बस्नुपर्छ ।

नदी (छङछङ गर्दै ): हो हो त्यो मान्छेले सागमा हालेको विष मसम्म आइपुग्यो । बिरामी छु । ( हँ हँ गरी खोक्दै) स्वच्छ बग्न नसकेको धेरै भो ।

विस्ने : राम राम (टोपी फुकाल्दै ) यो लोक बहुलाइसक्यो पृथ्वी माता ? कि म बहुलाएँ ? कृपा गर प्रभु ! ( ऊ हात जोड्छ )

डाक्टर: पृथ्वी माता तपाईंसँग पुकार माग्दै छिन् । बचाऊ बचाऊ भनेर । उ… सुन्नुभएन ?

प्रान्जल : अँ विषादीले प्रकृतिको सन्तुलन बिग्रन्छ भनेर पढेका थियौँ हामीले ।

विस्ने : भारतको विषादी हो । भन्सार छिराउन माननीयकै पावर लगाउनु पर्याथ्यो मलाई । कृषि मन्त्रीले फोन नगरिदिएका भए त पोहोर परारकै हालत हुन्थ्यो । रसायनिक मल पनि उतैबाट ल्याएको छु । क्वालिटीको छ । यहाँ त वडाध्यक्षले हामीलाई पालै दिदैनन् बरै !

डाक्टर : क्वालिटीकोले त असर पनि क्वालिटीकै गर्छ सर्वत्र । गाइनोको डाक्टर भए पनि यति ज्ञान छ । प्रान्जलतिर देखाउँदै ) बाबुुलाई नि थाहा रैछ । सुन्नुभो नि ? छाला जल्ने, एलर्जी हुने, टाउको दुख्ने हुन्छ । अटेर गरेर लामो समयसम्म प्रयोग गर्नुभो भने त क्यान्सर हुन्छ । मृगौला, कलेजो बिगार्छ । महिलाहरूको बच्चा जन्माउने क्षमता घटाउँछ । माटोको त उर्वरा शक्ति नै घटाउँछ । विषादीले नदी खोलाका प्राणीलाई नास गर्छ । मौरी, पुतलीजस्ता नभइ नहुने जीवलाई मार्छ अनि त जैविक सन्तुलन नै बिग्रन्छ ।

विस्ने : के रे के रे ? के भन्छ डाक्टर भैखाको मेरो भतिज ?

डाक्टर : हो काका । पल्लो गाउँमा पहिला कस्तो उब्जनी हुन्थ्यो । अहिले माटो ढुंगाजस्तो भएको छ । त्यो सबै विषादीले नै गर्दा हो । दुईचार बाली लगाएपछि त बारी बिग्रिन्छ काका ! उब्जनी नै हुन छोड्छ ।

प्रान्जल : हामी विष खान्छौ कि खानेकुरा, बुबा ?

विस्ने (एकछिन सोच्दै ): अहो ! मैले खेतबारी मात्रै जोतेको होइन रहेछ । साराको जीवन जोतेको रहेछु ।

माटो : मलाई माया गर । म पनि माया गर्छु ।

पिपल : हामी बाँचे तिमी बाँच्छौ ।

नदी : पहिला मलाई बचाऊ । अनि म तिमीलाई बचाउँछु ।

सुत्राधार : बाँचौ । हामी बाँचौ । बाँच्ने आधारलाई पनि बचाऔँ ।

प्रकृति शोषण गर्ने ठाउँ होइन । बाँच्ने आधार हो ।

(सबैले हात समातेर माथि उठाउँछन् । मञ्चमा बिस्तारै पर्दा लाग्छ । )

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.