कुनै रहरले पढिन ए बी सी डी
करले पढेको थिएँ
डरले पढेको थिएँ
कतै भोकै पो मरिन्छ कि भनेर
जहरले पढेको थिएँ
कुनै रहरले पढिन ए बी सी डी ।
पढेको कुनै कुरा नि बुझिन
पढी रहेँ, पढी रहेँ, पढी रहेँ
कुनै दिन बुझिएला भनेर
जीवन एक मुठ्ठी सुल्झिएला भनेर
नबुझे नि पढी रहेँ, पढी रहेँ, पढी रहेँ
त्यो सगरमाथा थियो - म नाथे खालीखुट्टे लिलिपुट
त्यही पनि चढी रहेँ, चढी रहेँ, चढी रहेँ
सगरमाथा अझै अग्लो हुँदै गयो, हुँदै गयो, हुँदै गयो
म चढी रहेँ, लडी रहेँ, लडी रहेँ, चढी रहेँ
कुनै रहरले पढिन ए बी सी डी ।
नेपथ्य चिच्याइरह्यो - गर्जिरह्यो, बर्सिरह्यो, पड्किरह्यो
कहिले लण्ठा बनेर, कहिले डण्ठा बनेर -
"टुहुरा हौ तिमीहरू, संस्कृत पढ, प्रचारक बन
गाई खाने भाषा हो त्यो, चरम निराशा हो त्यो
एकाबिहानै सी ए टी - क्याट, डी ओ जी - डग
कुक्कुर-बिरालोको नाम ? 'ईश्वरको नाम छोडेर ?'"
अंग्रेजी अनाथआश्रमबाट प्रतिबन्ध भयो, क्रूर दण्ड भयो
मेरो अदम्य इच्छा भूमिगत भयो, मुटु चोइटिएर गयो
मेरो भविष्यको भातको भाषा रातोरात असंवैधानिक, बलात्कृत भयो
कुनै रहरले पढिन ए बी सी डी ।
मैकलेको गङ्गामा नुहाउन अनाथआश्रम छोड्नैपर्यो
एउटा पिरती लाउन अर्को तोड्नैपर्यो
जति पढेँ त्यति बुझिन, जति बुझिन त्यति पढेँ
शेक्सपियर, मिल्टन, वर्डसवर्थ अनि एलिअटपढेँ
अनि बुझिन, बुझिन तर पढी रहेँ, पढी रहेँ
त्यो पढाइ थियो कि लडाइँ थियो ? लडाइँ थियो कि पढाइ ?
कुनै रहरले पढिन ए बी सी डी ।
भाग्ने कुनै अब बाटो थिएन, नभोकाएको कुनै पाटो थिएन
भविष्यको आस बोकी, त्रासभित्र त्रास बोकी
वनवासभित्र वनवास बोकी
पढी रहेँ, पढी रहेँ, पढी रहेँ
छटपटीमा लडी रहेँ, लडी रहेँ, लडी रहेँ
कुनै रहरले पढिन ए बी सी डी ।
शेक्सपियर बुझ्नलाई गाइडहरू किनेँ
अब गाइड बुझ्नलाई के किन्नु किन्नु ?
एउटा लठुवाले जिनियसलाई कसो गरी चिन्नु ?
सुदूर भविष्यको गाँसलाई आफैँ कसो गरी छिन्नु ?
कुनै रहरले पढिन ए बी सी डी ।
शेक्सपियरलाई उठाएर पढेँ, मिल्टनलाई सुताएर
जवानीको लास भेटेँ, सबैतिर त्रास भेटेँ
भाषा नै नबुझी, भाषा इतर कसो गरी बुझ्नु !
मन्त्र उसको थाहै छैन, उसलाई कसो गरी पुज्नु !
कुदेँ पछि-पछि शेक्सपियरको, उसले मेरो भात बोकेको थियो
मेरो निर्वाणको ढोका मानौँ उसैले रोकेको थियो
कुनै रहरले पढिन ए बी सी डी ।
डेभिड डाएचेसको अंग्रेजी साहित्यको इतिहास पढेँ
त्यो पुस्तकको अंग्रेजीमा अंग्रेजी नै थिएन
जति पढेँ त्यति ठुलो मूर्ख हुँदै गएँ
एकान्तमा रुने बानी बस्यो - लुकेर रुने पनि भएँ
विद्वत्ताको शिखरको साटो, मूर्खताको पाताल छुँदै गएँ ।
कुनै रहरले पढिन ए बी सी डी ।
अंग्रेजी साहित्यको उत्कर्ष - एउटा सजाय भएर आयो
भन्न मिल्ने अनि नमिल्ने - रोगलहर भएर आयो
नर्भस ब्रेकडाउन - हस्पिटलको राउन्डपछि राउन्ड
शोकलहर भएर आयो, जहर भएर आयो
कुनै रहरले पढिन ए बी सी डी ।
अचानक, अनायास, अप्रत्याशित -
निर्वाणको समय एकदिन कोनि कसो गरी आयो !
भात पनि दियो उसले साथ पनि दियो
वैभव सारा संसारका - मधुमास पनि दियो
गाई खाने भाषाले गाईलाई पुजायो
मैकलेको गङ्गाले बुद्धत्व जगायो
अर्धनारीश्वरको काखमा पुर्यायो
आफ्नै देवी-देउरालीतिर डोर्यायो, फर्कायो
आफ्नै आमा-भाषाप्रति सम्मोहन गरायो
कुनै रहरले पढिन ए बी सी डी ।
भ्रान्ति छैन अंग्रेजीमा - छ त मात्र क्रान्ति
ज्ञानको यो धरोहर - विज्ञानको सरोवर
पुनर्जागरण, ज्ञानोदयदेखि आधुनिकता
व्यक्तिको अक्षुण्ण सम्प्रभुता, दिव्यता
मैकलेको गङ्गामा - म त भएँ तरलता
कुनै रहरले पढिन ए बी सी डी ।
गुलामीको अस्त्र यो - कसले भन्छ थिएन र !
तर स्वतन्त्रताको पागलपन - कसलाई यसले दिएन र ?
म्लेच्छको बुद्धत्वमा बौलाएको छु म
सी ए टी - क्याट, डी ओ जी - डग
सपनामा भन्दैछु म, दिनरात रम्दैछु म ।
क्याट डग, डग क्याट - दिनरात रट्दैछु म
कुनै रहरले पढिन ए बी सी डी ।
"ननाद ढक्कां नवपञ्चवारम्"
महाकालको डमरूमा अंग्रेजीकै नाद सुन्छु
"हाई हाई अंग्रेजी"-मा अंग्रेजीकै उन्माद सुन्छु
उनको सबै लेखाइमा म्लेच्छकै नै छाप देख्छु
अंग्रेजीको तिरस्कारमा उसैको नि जाप देख्छु
तर अंग्रेजीको वरदानमा नि अचम्मको श्राप देख्छु
अंग्रेजीले लेख्न सकेन मलाई, म अंग्रेजी लेख्छु
अंग्रेजीको दास हुँ म, अनि मेरो दास अंग्रेजी हो
उसले मलाई भात दिन्छ म उसलाई सास दिन्छु !!!
कुनै रहरले पढिन ए बी सी डी ।


