साहित्यपोस्ट डट कम

कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानुभाइ’ बेलकामा विमोचन

कुमार कोइरालाको कथा सङ्ग्रह ‘सानुभाइ’ बेलकामा विमोचन

माधव पोखरेल

उदयपुर। कवि तथा कथाकार कुमार कोइरालाद्वारा लिखित कथा सङ्ग्रह ‘सानुभाइ’ शनिबार बेलका नगरपालिकाको सभाहलमा आयोजित समारोहबीच सामूहिक रूपमा विमोचन गरिएको छ।

उदयपुर साहित्य कला प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बेलका नगरपालिका उदयपुरका नगर प्रमुख अशोक कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विमोचित कृतिको प्रकाशकसमेत आयोजक संस्था उदयपुर साहित्य कला प्रतिष्ठान नै रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले साहित्यिक क्षेत्रलाई महासागरको संज्ञा दिँदै यसमा सबैले सहजै डुबुल्की मार्न नसक्ने बताउनुभयो। उहाँले साहित्य, कला र संस्कृति समाजको प्रतिबिम्ब भएको उल्लेख गर्दै लेखक तथा कलाकर्मीहरूले सिर्जना गर्नुभएकाे कृतिहरूलाई साझा सम्पत्तिका रूपमा संरक्षण गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा लेखक कुमार कोइरालाले कथा सङ्ग्रहको शीर्षक कथा ‘सानुभाइ’ वाचन गर्नुभएको थियो। साथै, उदयपुरका प्रथम कथाकार शारदाप्रसाद भट्टराई, नेपाली लेखक सङ्घ उदयपुरका अध्यक्ष बासुदेव पोखरेल, उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रे, रविन्द्र राजा शाही, कीर्तिबहादुर खड्कालगायत स्रष्टाहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो अवसरमा शारदाप्रसाद भट्टराई, रविन्द्र राजा शाही र डा. कैलाश राईले कथा सङ्ग्रहको संक्षिप्त समीक्षा प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाश कुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सरिता पौडेल गुरागाईंले गर्नुभएको थियो। कार्यक्रमको सुरुआत संयोग कोइरालाको स्वागत मन्तव्यबाट गरिएको थियो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.