२०८३ साल जेठ २९ गते । कोन्ज्योसोम गाउँपालिकाको सभाहल चौघरेमा दिनभरि कार्यक्रमको चहलपहल थियो । साहित्यिक विमर्शसहित दुई पुस्तक लोकार्पण कार्यक्रम सकिएपछि एकाएक अर्को यात्रा तय भयो । हुन त बिहान कार्यक्रममा जाँदै कोन्ज्योसोमको रत्न प्रतिमास्थल जाने विषयले अलिकति चर्चा पाएको थियो । कार्यक्रम सकिएपछि आकाशका घाम पश्चिमतिर हानिइसकेको थियो । हामीले शुरू गरिहाल्यौँ कोन्ज्योसोम प्रतिमास्थलतर्फको यात्रा । यात्रामा शिक्षिकाहरू बिना न्यासुर, पुष्मा थिङ, रुपा बजगाइँ, कवि रत्न विरही, कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेल, कवि कमलप्रसाद तिमल्सिना र म सहभागी थियौँ र सँगै हुनुहुन्थ्यो, नेपाली साहित्यका साधक प्रा. डा. देवी नेपाल ।
सिङ्गाने भन्ज्याङ (परिवर्तित नाम सिमभन्ज्याङ)बाट स्कर्पियोले उकालो बाटो समातेपछि यात्रा रोमाञ्चक बन्दै गयो । साँघुरो बाटो, हरियालीले ढाकिएका डाँडाकाँडा र माथितिर लम्कँदै गरेको गाडी । दमको रोगीले सास फेरेझैँ गाडी ह्याकह्याक गर्दै उकालो चढिरहेकै बेला अचानक ‘फुसुसुसुसु…’ आवाजले वातावरण चिरिदियो । टायर पन्क्चर भएको रहेछ । गाडी थ्याच्चै बस्यो । बसिसकेको गाडीलाई सजिलो ठाउँमा लैजान धकेल्ने निधो गरियो । धकेल्न थाल्दा साहित्यकार गोपाल सञ्जेल गाडीको टायरभन्दा ठ्याक्कै पछाडि हुनुहुँदोरहेछ । गाडी उकालो चढ्न, अगाडि बढ्न सकेन । टायर फिनिनिनि घुम्यो । गोपाल सञ्जेलको कोट पाइन्ट हिलोबाहेक अलिअलि लुगा पनि देखिने स्थितिमा । यात्रामा बाधा आयो । हिँडेर जान टाढा । उकालो बाटो । वनैवन । सन्ध्याकाल । अग्लोस्थान । कुहिरोसँगको लुकामारी । चराहरूको चिरबिर । यी सबै हामीसँगै थिए ।
प्रकृतिले पनि आफ्नो खेल देखाउन बाँकी राखेको रहेछ क्यार ! त्यसैबेला कुहिरोले हामीलाई चारैतिरबाट घेर्यो । लाग्थ्यो, वनले आफ्नै रहस्यभित्र हामीलाई लुकाइदिएको छ । केही परसम्म पनि देख्न नसकिने सेतो संसारमा हामी उभिएका थियौँ । मित्र मिलन घिमिरे, कवि कमलप्रसाद तिमल्सिनाको सहयोगमा आधा घण्टासम्म टायर फेर्ने सङ्घर्षमा जुटिरहनुभयो । उता हामी भने समयलाई सिर्जनात्मक संवादमा बदलिरहेका थियौँ । यसैबेला एक जना स्थानीयले खस्रुको सेउला बाइकमा राखेर गरररर ओरालो झरेको दृश्यले बाल्यकालमा खस्रुका पत्कर जम्मा पार्दा हत्केला चाल्ना भएका घटना दिमागमा फनफनी घुमे । हात हेरेँ । अहिले त हात पनि भर्खर जन्मेको बच्चाको जस्तै कमलो । त्यो त सम्झना मात्रै थियो ।
डा. देवी नेपालसँग साहित्य, सिर्जना, अध्ययन र अनुभवका अनेक विषयमा कुराकानी चलिरह्यो । बाटोछेउका चुत्रो र ऐँसेलु टिप्दै बाल्यकालका स्मृतिहरू दोहोर्यायौँ। ज्ञानका कुरा सुन्यौँ, अनुभवका पाटा बाँड्यौँ । समय त्यहाँ घडीले होइन, संवादले नापिरहेको थियो । गाडीले पुनर्जीवन पाएपछि यात्रा पुनः अघि बढ्यो । कुहिरोको पर्दा चिर्दै हामी माथिमाथि उक्लियौँ । माथि डाँडामा पुगुन्जेलसम्म कुहिरो हामीबाट टाढिइसकेको थियो । डाँडैमा पुगेपछि फट्ट फड्केर पारी तर्दा फुलचोकीको टावरमा समात्न सकिन्छ कि झैँ लाग्यो । अलिकति हात बढाएर छोइहाल्न सकिन्छ जत्तिकै नजिक । अन्ततः हामी कोन्ज्योसोम प्रतिमास्थल पुग्यौँ ।
यहाँ बुद्धका तीन प्रतिमाले शान्त र गम्भीर उपस्थिति दिएका थिए । पहाडको टाकुरामा उभिएका यी प्रतिमाले दर्शन, संस्कृति र इतिहासको मौन कथा सुनाइरहेका आभास हुन्थ्यो । हुन त आभास व्यक्तिपिच्छे फरक हुन्छ । एकसेएक साहित्य पारखी यात्रामा भएकाले आ-आफ्ना आभास कापीमा उतारिहाल्छन् । कोन्ज्योसोम–नाममै कति गहिरो अर्थ लुकेको छ । तामाङ भाषामा “कोन्ज्यो” भनेको रत्न र “सोम” भनेको तीन । अर्थात् तीन रत्न । त्रिरत्न । बुद्ध रत्न, धर्म रत्न र सङ्घ रत्न । नाममै बुद्धत्वको उज्यालो बोकेको यो स्थल वास्तवमै आध्यात्मिक गौरवको प्रतीक हो । हामी प्रतिमास्थलको सौन्दर्यमा हराइरहेका थियौँ । त्यत्तिकैमा डा. देवी नेपाल मोबाइल निकालेर केही कोर्न थाल्नुभयो । कविको मन प्रकृतिको स्पर्श पाउनासाथ शब्दको बगैँचा बन्ने रहेछ । दुई मिनेट नबित्दै उहाँको मोबाइलको पर्दामा एउटा कविता जन्मिसकेको थियो ।
कोन्ज्योसोम पुगेर बल्ल बुझियो शब्दार्थको गौरव
‘कोन्ज्यो’ रत्न र ‘सोम’ तीन सँग छन् बुद्धत्वका सौरभ ।
हो उद्यान अनेक जातथरका माला उनिन्छन् जहाँ,
यस्तो सुन्दर काव्यबाग जगमा पाइन्छ अर्को कहाँ ?
कविताले स्थानको वर्णनसँगै कोन्ज्योसोमको आत्मालाई शब्दमा उतारेको थियो । पछिल्लो समय उहाँले सामाजिक सञ्जालमा निरन्तर ‘पर्यटन कविता शृङ्खला’ प्रस्तुत गरिरहनुभएको छ । यो ८५ नम्बरको कविता भएको उहाँको फेसबुक वालले दर्शाउँथ्यो । जुन ठाउँमा पुग्नुहुन्छ, त्यही ठाउँलाई कवितामार्फत चिनाउनुहुन्छ । पर्यटन प्रवर्धनको यस्तो सिर्जनात्मक अभ्यास दुर्लभ छ । कविता भावनाको अभिव्यक्ति हो । यसका साथै स्थान र पहिचानको दूत पनि बन्न सक्छ भन्ने उदाहरण हो यो । उहाँले कविता सुनाइसकेपछि मेरा हात पनि अघि बढे । जो जानेको कोरेँ । कविले कोर्दा कविता हुन्छ । साहित्यकारले साहित्य रस मिसाउँछन् । तर, मैले पनि आफ्ना भावना अक्षरमा व्यक्त गरेँ । कविता बनोस् कि भावना मात्रै । बस् अभिव्यक्त गरेँ ।
कोन्ज्योसोम डाँडामा, चारैतिर जङ्गल
घुमौँफिरौँ हाँसेर, सबैजना मङ्गल
बुद्धत्वको भावना, मनमनै गुनेर
धर्मकर्म गरौँ न, आफैँलाई सुनेर !
कोन्ज्योसोमको प्रतिमास्थल जाने आउनेसमेत बिताएको एक घण्टा प्रकृतिसँगको संवाद थियो । साहित्यसँगको साक्षात्कार थियो र सिर्जनाको जन्मक्षणको साक्षी बन्ने अवसर पनि थियो । कुहिरोले ढाकेको बाटो, वनको नि:स्तब्धता, चुत्रोको स्वाद, मित्रताको ऊष्मा र कविताको जन्म । यी सबै मिलेर त्यो एक घण्टा जीवनका अविस्मरणीय क्षणहरूमध्ये एक बन्यो । कोन्ज्योसोम नेपालको राजधानी काठमाडौँ नजिकैको एउटा उत्तम गन्तव्य हो । प्रचार अभावमा ललितपुरको कोन्ज्योसोमले पर्यटकलाई एक टकले हेरेर, कुरेर बसेको छ । कोन्ज्योसोम शब्द, शान्ति र सौन्दर्यको सङ्गम हो । यहाँ पुगेपछि बुद्धका तीन रत्नसँगै आफ्नै जीवनका अनेक रत्नहरू पनि भेटिन्छन् ।
ॐ मणि पद्मे हुँ

