काठमाडौं । गुरुकुल एजुकेशनल फाउन्डेसनले ‘गामबेँसीका कवि’ क्षेत्रप्रताप अधिकारीको स्मृतिमा स्थापना गरेको ‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८२’ का लागि उत्कृष्ट चार कृतिको सूची सार्वजनिक गरेको छ।
देशभरबाट प्राप्त कवितासंग्रहहरूको आन्तरिक मूल्याङ्कनपछि सबिना राईको ‘घामको जरा’, उमेश अवस्थी ‘आदर्श’को ‘सन्ध्यामा सूर्य’, सिम्योन सुकिता राईको ‘सिम्योन सिम्फोनी’ र दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ शीर्ष चारमा मनोनयन भएका छन्।
नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM)को आयोजनामा प्रदान गरिने उक्त पुरस्कारको विजेता आगामी २०८३ वैशाख ४ गते ‘एनसीएम डे’को अवसरमा घोषणा गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि २०८१ फागुन १ देखि २०८२ फागुन १ भित्र प्रकाशित कवितासंग्रहहरू समावेश गरिएको थियो। ३५ वर्षमुनिका युवा स्रष्टालाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको यो पुरस्कार गत वर्षदेखि प्रदान हुँदै आएको छ।
गत वर्षको पुरस्कार सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’लाई प्रदान गरिएको थियो। अन्य उत्कृष्ट कृतिहरूमा पल्लविको ‘लाटी’, सुभासिसको ‘क’ र सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसका’ समावेश थिए।

