साहित्यपोस्ट डट कम

कृष्णले जे छोयो त्यही त्यही कविता बन्छ : विष्णुविभु; विष्णुमा भित्रभित्रै गुम्सने बानी छ : कृष्ण

कृष्णले जे छोयो त्यही त्यही कविता बन्छ : विष्णुविभु; विष्णुमा भित्रभित्रै गुम्सने बानी छ : कृष्ण

नेपाली साहित्यमा क्रियाशील दुई व्यक्तित्वले आफ्ना अन्तरङ्गलाई कसरी चिन्नु हुन्छ भन्ने पाठकका जिज्ञाशा मेट्न साहित्यपोस्टले ‘ऊ र म’ स्तम्भ प्रकाशन गर्ने सिलसिलामा यस पटक नेपाली कविता विधाका सशक्त दुई अन्तरङ्ग विष्णुविभु घिमिरे (२०१०) र कृष्ण प्रधान (२०१२) लाई प्रस्तुत गरेका छौँ । यो स्तम्भमा आफ्ना साथीका बारेमा राखिने खुलस्त विचारले पाठकलाई न्याय दिनेछ । कति खुलस्त र कस्तो न्यायाधीश हुने सर्जककै जिम्मा ! लुकाउनै पर्ने सन्दर्भ पनि हुन सक्छन्, प्राकृतिक मानिसका । तर सर्जकहरू आमप्राकृतिक मानिस मात्र नभएर विशिष्ट स्रष्टा/द्रष्टा, जो सत्यको नजिक पुग्नु पर्ने हुन्छ र त लुकाउने, छिपाउने पनि उहाँहरूकै स्वविवेक ! प्रस्तुत छ, साहित्यपोस्टका सल्लाहकार सम्पादक त्रिभुवनचन्द्र वाग्लेको साथमा नेपाली कवितामा प्रतिनिधि उचाइ स्थापना गर्नुभएका विष्णुविभु घिमिरे र कविताका अतिरिक्त समालोचना र निबन्धमा पनि विशिष्ट पहिचान बनाउनुभएका कृष्ण प्रधानको ‘ऊ र म‘ ।

….

कृष्णले जे छोयो त्यही त्यही कविता बन्छ : विष्णुविभु घिमिरे

कवि तथा समालोचक कृष्ण प्रधानलाई व्यक्तिगत रुपमा कसरी चिन्नुहुन्छ ?

कृष्ण र म मेची महाविद्यालयमा प्रविणता प्रमाणपत्र तहमा पढ्दादेखिका साथी हौँ । डेरा–साझेदार हौँ । लँगौटीया यार ! २०२८ को युगज्ञानमा कृष्णको र २०२९ मा सूर्योदयमा मेरो पहिला कविता छापिए । सँगै बसियो, पकाइयो, खाइयो भाँडा माझियो । साहित्यिक कार्यक्रममा सँगै गइन्थ्यो । कविता सुनाउन ४–५ घण्टा कुरेर बसिन्थ्यो । मैले चिनेको कृष्ण प्रधान उत्कृष्ट कवि, निबन्धकार र समालोचक हो ।

कवि कृष्ण प्रधान र जागिरे कृष्ण प्रधानमा कुन बढी मन पर्छ ?

मीठा कविता लेख्ने, साहित्यमा तल्लिन, निरन्तर लेख्ने कृष्ण प्रधान ! ऊ लेख्न कहिल्यै थाकेन, उसको कविताले नयाँ दिशा देखाउँछन् । पढिरहने, लेखिरहने उसको पुरानो बानी हो । अर्कोतिर जागिरमा पनि उत्तिकै बफादार, कर्तव्यनिष्ठ, काम गर्ने, आफ्नो लाभलाई उस्तो साह्रो ध्यान नदिने दुबै कृष्ण प्रधान मन पर्छन् तर सर्जक कृष्ण र जागिरे कृष्णको संयोजनमा अर्को एउटा कृष्ण छ । दुबै क्षेत्रलाई सन्तुलित बनाएर हिँडेको कृष्ण प्रधान, न लेख्न छाड्यो न जागिर छाड्यो । त्यो कृष्ण प्रधान झन् मन पर्छ ।

उहाँको कुन बानी मन पर्छ ?

कृष्णको अध्ययन गरिरहने, लेखिरहने, कसैलाई चर्को स्वरले केही नभन्ने, गम्भीर र अन्तरमुखी बानी मन पर्छ । कलेजमा म बरु साथीभाइसँग हाट्टहुट्टमा लाग्थेँ तर कृष्ण सबैको प्यारो । सधैँको प्यारो । कहीँ कसैको अहित नसोच्ने उनको शान्त बानी मन पर्छ । उनलाई विभिन्न तिकडम गरेर जागिरमा दुःख दिँदा पनि कृष्णमा असन्तुष्टि वा विचलन देखिन । कृष्णको चर्कोझर्को आवाज आजसम्म सुनेको छैन ।

सर्जक कृष्ण प्रधानको कुन बानी मन पर्दैन ?

ऊभित्र के छ थाहै पाउन सकिन्न, एकनास । सँगै डेरामा बस्दा कतै मसँग उसलाई केही गुनासो छ कि भन्ने लाग्थ्यो तर के छ ऊभित्र थाहै नहुने ? झट्ट घुलमिल हुन नसकेको जस्तो देखिन्छ कृष्ण तर बहुत स्नेही छन् । उनले आफूलाई कहिल्यै प्रचार गरेनन् । तीसको दशकको उनी उत्कृष्ट कवि हुन्, राम्रो मात्र होइन प्रयोगवादी र प्रतिनिधि कवि हुन् तर धेरै पाठकलाई यो कुरा थाह नहुन सक्छ किनकि उनी आफूलाई कहिल्यै महत्त्व दिँदैनन् । ओझलमा बस्ने बानी छ, उनी सशक्त समालोचक र निबन्धकार पनि हुन् तर सधैँ ओझलमा बस्न रुचाउने । एउटा सर्जकको यस्तो बानी उति मन पर्दैन ।

उहाँका कविता कस्ता छन् ?

वाह ! उनका शृङ्खलाबद्ध कविता !! आगो र पानीलाई कविता बनाउन सक्ने सिर्जना शक्ति छ कृष्णमा । जे छोयो त्यही कविता बनाउने कवित्व छ उसमा । उनमा शृङ्खलाबद्ध कविता लेखनको सीप र शैली छ । उसले कति खेलाउँछ नि विम्ब र प्रतीक ! चेताना–ब्रह्म खुलेका कविता हुन्छन् उनका । दर्शन, जीवन, परिवेशलाई हेर्ने पृथक् आँखा छन् कृष्णसँग ।

कुनै कविताले आकर्षित गरेको छ ?

कुनै एउटाले मात्र होइन, मौन पहाड, अग्नियात्रा, सूर्यस्नान जस्ता सङ्ग्रह र त्यसपछिका सबै कविताले कविताले सबै पाठकलाई आकर्षित गर्छन् । मलाई मात्र नभएर धेरैभन्दा धेरै पाठकले कृष्णका कविता मन पराएका मैले पाएको छु ।

कृष्ण र विष्णुको झगडा वा मनमुटाव भएको छ ?

उनीजस्तो शान्त मानिसको मसँग मात्र होइन कसैसँग पनि मनमुटाव हुँदैन, झगडा पर्दैन । चिन्नेजान्ने सबैले कृष्णलाई शान्त र संवेदनशील मानिस मान्छन् ।

सँगै दारु खानु भएको छ ?

उतिखेर दारु खाएनौँ । पछि सँगै बसेर आइयो होला तर सम्झना छैन । कृष्ण खाए पनि नखाए पनि एकनास शान्त । हामी दुईजना सँगै बसेर मात्तिने गरी दारु खाएको हेक्का छैन । कुनै विशेष र सामूहिक कार्यक्रममा आइयो कि ?

चियाको पैसा झिक्न गाह्रो मान्नु हुन्छ ?

कृष्ण र म सँगै बस्दा डेरा भाडा मिलाएर तिर्थ्यौं । चियाखाजा खाएर कसले तिर्ने भन्ने नै भएन । उतिसाह्रो पसलमा गएर खाने चलन थिएन । काठमाडौँ आएपछि उनको जागिर राम्रो भयो । चियाको पैसा तिर्न उनले ढिलो गरेको थाह छैन, बरु आफैँ अघि सर्थे ।

सर्जक कृष्ण प्रधानको घर परिवारसँग सम्पर्क छ ?

म कृष्णको घर परिवारसँग परिचित छु । दाजुहरू, नानीबाबु, भाउजू सँबैसँग हाम्रो क्षेत्रीय कारणले पनि जाउआउ थियो । उहाँहरूले पनि हामीतिर सबै जान्नुहुन्छ, चिन्नुहुन्छ ।

उहाँसँगका रोचक घटना कस्ता छन् ?

धेरै छन् । एउटा घटना, डेरामा चामल सकियो । भद्रपुरबाट कृष्णको घर जान दुईवटा र मेरो घर जान तीनवटा खोला तर्नुपर्ने । एक दिन पानी दर्कोदो छ, एउटा छाता दुईजनाले ओढेर जाँदा निथ्रुकै भइयो । जाँदै गर्दा हँडिया खोला बढेर आएको रहेछ । फर्कौँ खाने चामल छैन, घर जाउँ खोला तर्न सकिन्न । जे होस् भनेर दुबैजना पस्यौँ खोलामा । म त पौडी जान्दथेँ । कृष्णलाई खोलाले लतारेर ३०–४० हात बगायो । कसो कसो उनी उत्रिए । फेरि फूलमती खोला तर्नुपर्ने । त्यो त धेरै बढेको रहेछ । हामी फूलमती र हँडियाको बीच पर्‍यौँ । हँडियाले गर्दा डेरा फर्कन नसक्ने, फूलमतीले गर्दा घर जान पनि नसक्ने । समस्या भयो । केही समयपछि स्थानीय एक सतार दाजुलाई अनुरोध गर्‍यौँ र उहाँको सहयोगमा फूलमती तरेर घर गइयो र चामल लिएर एक दुई दिनमा भद्रपुर फर्क्यौं ।

सुनाउन र भन्न मिल्ने केही बदमासी छन् कि कृष्ण प्रधानका ?

कृष्णको बदमासी त के भनौँ, हामी दुबैले गरेका थियौँ यस्तो काम । बदमासी नै पनि होइन । मेची क्याम्पस पढ्दा हामी डेरा गरेको सगरमाथा मिल नजिकको घर राधाकृष्ण, सीपी मैनालीको रहेछ । उहाँहरू कम्युनिष्टको नेता भइसक्नुभएको थियो, भूमिगत हुनुहुन्थ्यो । धनीमानी उहाँहरूको काठले बनाइएको त्यो ठूलो घर खाली थियो । धेरै कोठा थिए तर बस्ने हामी दुई जना मात्र । आरके, सिपीका बाले घरभाडा लिनुहुन्थ्यो, महीनाको १० रुपियाँ । बेलाबखत भाडा उठाउन आउँदा उहाँसँग अरु कोठाका साँचोको झुप्पा पनि हुन्थ्यो । पछि त उहाँले अन्य कोठाको साँचो पनि हामीलाई दिनुभयो । ‘मैले हराउन सक्छु तिमीहरूले नै राख बाबु’ भन्नुभयो । म यी धनी मैनालीको घरभित्र के छ भनेर साँचो खोलेर कोठा हेर्न चाहन्थेँ । कृष्ण ढोका खोल्न नमान्ने । धरै कर गरेपछि केही पनि सामान नचलाउने सर्तमा कृष्ण ढोका खोल्न सहमत भए । खोलेर हेर्दा त एउटा ठूलो कोठाभरि कम्युनिष्टका रातो किताब (रेडबुक), घोषणापत्र, माओत्सेतुङ लगायत अन्य कम्युनिष्ट नेताको जीवनी र नेपाली साहित्यका अधिकांश किताब रहेछन् । हामीले कम्युनिष्टको रातो किताबदेखि नेपाली साहित्यकारका विभिन्न किताब पढ्न पायौँ तर किताब जस्ताको त्यस्तै त्यही राखिदिन्थ्यौँ ।

रातो किताब पढ्ने, नेताद्वय मैनालीको घरमा बस्ने तपाईँहरू त कम्युनिष्ट नेता वा प्रगतिशील साहित्यकार हुनपर्ने ?

खै, त्यतिखेरसम्म म त निकै कडा नेविसंघ भइसकेको रहेछु । कृष्ण पनि नबोल्ने तर अति प्रतिबद्ध रहेछन् । पढ्न त कम्युनिष्ट साहित्य धेरै पढियो तर मेची क्याम्पसको स्ववियु निर्वाचनमा म नेविसंघबाट उपसभापति जितेँ । त्यही वर्ष कृष्णले कोषाध्यक्ष जिते । अर्को सानो भाइ तर टाठा थिए, नवीन घिमिरे उनी पनि सदस्यमा विजयी भए । पछि नवीन नेपाल सरकारको सचिव र अख्तियार प्रमुख भए । त्यस क्याम्पसमा त्यसअघि नेविसंघले जितेको थिएन ।

कृष्णको साथी शैली कस्तो लाग्छ ?

एकनास । सबैसँग मिल्न सक्ने । शुरुताका कतिपय कार्यक्रममा हामी कविता सुनाउन ढुकेर बस्थ्यौँ, पालो पर्खेर । पछि त हामी पनि सक्रिय भयौँ । धेरैपटक भानु, मोती, देवकोटा जयन्ती कृष्ण र मेरो सक्रियातमा मनाइएको छ । कृष्ण सबैसँग बराबरी मिल्ने साथी भएकाले हामीले पहिलो पटक मेची कजेलमा नेविसंघलाई जितायौं नि । हाम्रा अरु केही साथीले राजनीतिलाई प्रधानता दिए, हामीले साहित्यलाई । हामी साहित्यिक गतिविधिमा धेरै सक्रिय भयौँ र अहिलेसम्म रह्यौँ ।

संयोगबस, तपाईंहरू विष्णु र कृष्ण पर्नु भयो । कुन ठूला हुन् ?

हा..हा..हा.. लामो हाँसो । भगवान विष्णु त मूल भए, कृष्ण त त्यसपछिका अवतार ! हा .. हा.. हा..

विष्णुमा भित्रभित्रै गुम्सने बानी छ : कृष्ण प्रधान

कवि विष्णुविभु घिमिरेलाई कसरी चिन्नुहुन्छ ?

उनी तीसका दशकको एक सशक्त र निकै प्रभावशाली कवि हुन् । मेरै समकालीन पनि । तीसको दशकको कविता अध्ययन गर्नेले उनलाई छुटाउनै मिल्दैन, उनी प्रतिनिधि कवि हुन् त्यो युगका र उनका कविताले तीसको दशकको एक बिम्ब प्रस्तुत गर्छन् ।

कवि घिमिरे र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति घिमिरे कुनलाई बढी साथी भन्नुहुन्छ ?

प्रज्ञा प्रतिष्ठानका उपकुलपतिका रूपमा उनलाई हेर्ने मेरा अलग दृष्टिकोण छन् । एकै थलोका बालसखा, कलेजका सहपाठी र लँगौटीयार त्यहाँ पुग्दा साहित्यकारका रूपमा मलाई स्वाभाविकरूपको मीठो खुशी लागेको हो तर राजनीतिक परिदृष्यमा भने त्यहाँ जानेहरूको कुनै पनि पद विवादरहीत भएनन्, कतै न कतै, कुनै न कुनै, कसै न कसैको झर्‍याङ नसमाई त्यहाँ पुग्न नसकिने रोग त्यो बेला पनि सामान्य नै थियो कि ? यस अर्थमा मेरा मित्रलाई पनि त्यो आक्षेप नआएको होइन ।

कवि घिमिरेको मन पर्ने बानी ?

आफ्ना कुरा तार्किक रूपले राख्ने । रमाइलो गरिरहनु पर्ने । नरिसाइकन प्रस्तुत हुनसक्ने उनको बानी मन पर्छ ।

मन नपर्ने बानी ?

मैले फोन गरेपछि मात्र उसले मेरो हालखबर सोध्ने बानी छ । अघिपछि बिर्सन सक्ने । जतिसुकै नजिक भए पनि पूर्णरूपले नखुल्ने स्वभाव छ । भित्र भित्र, के के गुम्सिए जस्तो । म चाहिँ पूरै खुल्छु । ऊ अलिक कम बोल्छ । मेरा थोरै मित्रहरू, जोसित सम्बोधनमा तपाईं होइन तँ तँ चल्छ, मध्येका एक हुन् विष्णु । अझै पनि हामीबीच त्यस्तै सम्बन्ध छ । यो २०२८ सालदेखि निरन्तर छ । अहिले भेटघाट केही पातलो होला तर यति लामो मित्रता अरुको विरलै होला ।

कवि घिमिरेका कविता कस्ता छन् ?

उनका अघिकांश कविता सरल तर प्रभावी छन् । समसामयिक र गम्भीर विद्रोही स्वर लुकेका हुन्छन् उनका कवितामा । कति त नारीवादीहरूले उठाउने गरेका विषय र स्वरलाई पनि उछिन्ने खालका कविता छन् घिमिरेको । उनी एक चेतनशील कवि हुन् ।

कवि घिमिरेका कुनै खास कविताले प्रभाव पारेको छ ?

कुनै खास एउटा कविताले भन्दा पनि उनको ‘कठघरामा उभिएर’ सङ्ग्रहभित्रका धेरै कविताले मलाई छोएका छन् । पाठकले पनि किनै मन पराएका छन् । अन्य सङ्ग्रहमा पनि उनका कविता सशक्त र प्रभावी छन् ।

कवि घिमिरेसँग मनमुटाव वा झगडा भयो कि ?

छैन, मेरो झगडा गर्ने बानी नै थिएन र छैन पनि । अर्कोतिर उनी पनि मिलनसारै हुन् । हामी एउटै कोठामा बस्ने, एउटै खाटमा सुत्ने गरेका, एउटै क्षेत्रका सर्जक हौँ । २०२८ देखि अहिलेसम्म सम्बन्ध राम्रो छ ।

सँगै कति खानुभयो दारू ?

छैन । एक त मेरो दारूपानीसित सङ्गत भएन । सँगै चिया चमेना चाहिँ खाएका छौँ । २०२९ सालमा मेची कलेजमा पढ्दाताका हामी एउटै कोठा, एउटै खाट र एउटै भान्साका लँगौटियार हौँ । तर दारु चाहिँ ५४ वर्षको दोस्तानीमा पनि सँगै बसेर खाएको याद छैन ।

कवि घिमिरे चियाको पैसा तिर्न गाह्रो मान्नु हुन्थ्यो ?

होइन । कथम् सँगै बसेर चिया चमेना खाँदा पैसा तिर्न अघिसर्ने मेरो बानी भएकाले तेतापट्टि मेरो अहिलेसम्म ध्यान गएनछ । मेची कलेजमा पढ्दा भने हामीसित सीमित पैसा हुने भएकाले दुबै जनाले कोसँग कति छ भन्ने पहिले जोरजाम गरेर मात्र चिया, चमेना होटलतिर (अचेलजस्तो रेष्टुराँ, क्याफे कहाँ थिए र त्योबेला ?) जाने गरेको अलिअलि सम्झना छ । ऊ पनि त्यस्तो गाह्रो मान्ने मान्छे होइन ।

कवि घिमिरेको घर परिवारतिर सम्पर्क छ ?

पहिले त हुन्थ्यो, अहिले कम छ, किनभने म यो खाल्डोमा बस्न थालेको ५५ वर्ष भएछ । झापातिर धेरै कम गइन्छ, उसमाथि हामीले ज्यामिरगढी (बिचार्नी हाट) छाडेको पनि धेरै भयो । विष्णुको चाहिँ ज्यामिरगढी (गोमनसरी, बिचकामत हो) ।

कवि घिमिरेसँगका रोचक प्रसङ्ग छन् कि !

रोचक केही छन् तर यहाँ दुईटा मात्र उल्लेख गरौँ स्थानाभाव पनि होला ।

मेची कलेज पढ्दा भद्रपुरमा डेराडण्डाको व्यवस्था नभइञ्जेल हामी ज्यामिरगढीदेखि नै पैदल भद्रपुर जान्थ्यौँ । वर्षाद्को बेला हँडिया खोला तर्नु पर्थ्यो । बाढी आएका बेला डरलाग्दो, उसमाथि हामी फुच्चेहरूलाई त्यो तर्न निकै मुस्किलै हुन्थ्यो । एक घण्टाको बाटो । कलेज बिहानै सात बजे लागिसक्थ्यो । हामी बिहानको पाँच बजे ज्यामिरगढी, बिचार्नीहाटमा भेला भै हिँडिसक्थ्यौँ । विष्णु गोमनसरिबाट आधाघण्टा पहिल्यै हिँड्थ्यो । उसले त निन्दा खोला पनि तर्नु पर्थ्यो, बिचार्नीहाट आउन । एक दिन रातभरको पानीले हँडिया खोला बढिसकेको अनुमानमा मेरो निनी (फूपु) ले एकजना सतार थरका हलियारलाई खोला तारिदिएर आउन हामीसँगै पठाइदिनुभएको थियो । साउनको खोला उर्लिएको रहेछ, पहिले हलियार खोलामा पसे । उनी झण्डै डुब्ने स्थितिमा देखिन्थ्यो । उनको घाँटीसम्म पानी आएको थियो । यस्तै बेला उनले हामीलाई समाएर खोलामा हेलिए । हाम्रा कपडा र नोटबुकहरू उनले टाउकोमा बेरेर राखे । हामीले कट्टु मात्र लगाएका थियौँ । खोलाले हामीलाई बगाएर करिब दुईसय फिटजति तल लगेको रहेछ । पछि पो थाहा भयो, उनले खोलामा छड्के छड्के पार्दै दुबै जनालाई त्यसरी सुरक्षित तारेका रहेछन् । म त चुर्लुम्मै डुबेको थिएँ पानी खाएँ । मभन्दा विष्णु केही अग्लो भएकाले उसले पानी खानु परेन । पारी तरेपछि पो बाँचियो जस्तो लाग्यो । हामी केहीबेर भिजेका कट्टु लगाएर अघि बढ्यौँ । अलि अलि सुकेपछि अरु कपडा थपेर कलेजतिर कुलेलम् ठोक्यौँ । चप्पल हातमा समाएर दौडेको देख्ने हामी दुईबाहेक कोही थिएनन्, बिहानैको कुरा हो । त्यो दिन सतार दाइ नभएको भए हँडिया खोलाले हामी दुबैलाई परमधाम बनाइसक्ने रहेछ । हाम्रा लागि मेरी फुपूको दूरदृष्टि र सतार दाइको त्यो सहयोगलाई जति नै धन्यवाद दिए पनि पुग्दैन । अहिले पनि त्यो घटनाको संस्मरण ताजै छ ।

अर्को, सोही बिहान कलेज पुग्दा मोहनराज शर्मा (मोराश) सर कक्षामा आइसक्नुभएको रहेछ तर पनि भित्र छिर्न पाइयो । नासो कथाका बारेमा उहाँले कक्षा लिइरहनुभएको र डिक्टेशन पनि गराउँदै हुनुहुन्थ्यो । साथीहरू नोट लेख्न व्यस्त थिए तर मेरो कलम घरमै छुटेछ । मैले नोट गरेको नदेखेर सरले मछेउ आएर किन नलेखेको भनेर सोध्नुभयो । मैले कलम छैन भनेँ । सरले एकछिन नोट लेखाउन छाडेर कक्षा कोठाको बीचतिर उभिएर बिस्तारै अनौठौ लेक्चर पो दिन थाल्नुभयो । उहाँ अहिले हुनुहुन्न तर उहाँले त्यो दिन भनेका शब्द पनि कानैमा गुञ्जिराखेका छन् । लडाइँमा जाने सिपाहीले हतियार र विद्यार्थीले कलम बोक्न बिर्स्यो भने के होला ? यो दुबै अवस्था समान हुन् भन्दै उहाँले अर्को उपदेश पनि सुनाउँदै आफ्नो कलम मलाई दिनुभयो । उहाँको कथन थियो– ‘पुस्तक दिने मूर्ख, फर्काउने महामूर्ख हो । पुस्तक, कलम र श्रीमती अरूलाई दिने वस्तु होइनन् ।’ श्राीमतीको प्रसङ्ग त मैले त्यो बेला खासै बुझिँन । तर त्यो दिन साथमा कलम नभएको पिरलोले अहिलेसम्म पनि मलाई ग्लानि भइरहन्छ । शायद यसै घटनाले होला अहिलेसम्म पनि म अरुसँग कलम मागेर सकभर लेखोइन । साथमा कलम छैन भने किनेर मात्र लेख्छु तर माग्न भने मन लाग्दैन । त्यस्तो अर्ति दिएर पनि कलम दिने यो परिघटना दानी महान् साहित्यकार मोराशलाई सम्झिने मेरो जीवनको एक अविश्मरणीय घटना हो ।

स्मरणीय कुनै घटनाले अहिले पनि विगतलाई जीवन्त बनाउँछ ?

हामी दुईबीच सँधै स्मरणमा आइरहने केही घटना छन् । मोती जयन्तीका अवसरमा, २०२९ सालको कुरा हो । तत्कालीन भद्रपुर गाउँ पञ्चायतले कविता गोष्ठीका लागि कविता मागेको थियो । हामी पनि त्यसबेला भरखर भरखर साहित्यतिर चाख राख्नेमै पर्थ्यौं । अरुले त हामीलाई चिनेका होइनन् । तर हामी कविताप्रति चाख राख्दा रहेछौँ त्यही बेलादेखि । हामी दुबैले कविता पठायौँ । गोष्ठीका दिन हाम्रो पालो कतिखेर आउला भनेर अन्तिम बेञ्चतिर बसेका थियौँ, कार्यक्रमको अन्तिम समयसम्मै । पालो आएन । एक प्रकारको नमज्जा लाग्यो । खिन्न अनुहार लिएर हामी डेरा फकियौँ । सम्झना भएसम्म विष्णुले झ्याउरे भाकामा कविता लेखेको थियो, मोतीरामकै बारे । मैले गद्य कविता, तर के लेखेँ सम्झना छैन । लाग्छ अहिले, ऊबेला शायद हाम्रा कविता स्तरीय थिएनन् कि, या समयले सेन्सर गर्‍यो कि ! मेरा कवितामा त अलिक विद्रोही स्वर पनि हुन्थ्यो । हामी दुवैका लागि निकै पीडादायी क्षण थियो त्यो । लाग्छ, ऊ बेला कविता सुनाउन नपाउने मेरा लँगौटियार विष्णु प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुनु मेरा लागि सुखद् संयोग हो । त्योबेला कविता सुनाउनेहरूको अहिले नामोनिसान छैन, तर हामी त्यसबेलाका विष्णु र मेरो नाम नेपाली साहित्यमा कतै छ कि भन्ने लाग्छ । ऊ बेलाका मेरा सबै प्रकाशित/अप्रकाशित रचनाहरू कुनबेला कबाडीले मेरी अवोध आमासित (झापा घरमा रहेको कागज कापीको थुप्रोहरूबाट) जोखेर लगेछन् । धेरै पछि मात्र थाहा पाएँ । झापाका आलोक, सूर्योदय, पञ्चायत, र इलामका सौगात, मेचीजस्ता पत्रिकामा प्रकाशित ०२९/३० सालका मेरा रचना अहिले मसित छैनन् । मेरा पाण्डुलिपिहरू माईकी रानी (खण्डकाव्य, जसको भूमिका मित्र चिन्तामणि दाहालजीले लेखेका थिए), आऊ मलाई सम्भोग गर (लघु कविता), केही निबन्ध जुन मैले दार्जिलिङको एक प्रकाशकलाई दिएको थिएँ २०३२ सालमा जुन कहिल्यै प्रकाशित भएन) आदि कबाड भए । मसँग पछुतो मात्र छ ।

प्राज्ञ विष्णुविभुका बदमासी भनिदिनु होस् न !

त्यस्तो खासै सम्झना त छैन तर मेची कलेज पढ्दा ताका उसैले हो कि जस्तो लाग्छ, मोहनराज शर्मा (मोराश) लाई ‘ठुटे समालोचक’को पगरी दिएको हो । ‘मोराश’ले युगज्ञान पत्रिकाको पुछार पातोमा स्तम्भ लेख्नुहुन्थ्यो, त्यो हामी पढ्थ्यौँ । त्यत्रो नाम चलेका, वरिष्ठ साहित्यकारलाई हामीजस्ता फुच्चेले त्यस्ता व्यङ्ग्यात्मक पगरी लगानुलाई एकखाले बदमासी नै भनौँ कि ? पछि त सबै साथीभाइबीच यो पगरी एक उहाँमाथिको व्यङ्ग्य नै हुन थाल्यो ।

संयोगबस, तपाईंहरू विष्णु र कृष्ण पर्नु भयो । कुन ठूला हुन् ?

कस्तो अप्ठ्यारो ….. , हा..हा.. हा.. अब … दुबै आ–आफ्ना युगका महानायक !

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.