मोरङ । भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका उद्देश्यले स्थापित कोसी साहित्य–कला परिषद् नेपालले साहित्यिक गतिविधिसँगै प्रकाशन क्षेत्रमा पनि विशेष ध्यान केन्द्रित गरेको जनाएको छ। संस्थाले पहिलो प्रकाशनका रूपमा गीतकार प्रकाश भट्टराईको ‘गुनासो’ गीतसङ्ग्रह सार्वजनिक गरेलगत्तै दोस्रो कृति मुक्तककार नवराज पोखरेल ‘नवशिला’द्वारा लिखित ‘सिलसिला’ (मुक्तकसङ्ग्रह) प्रकाशनमा ल्याएको हो।
बेलबारीस्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको थियो। कृतिको लोकार्पण नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, परिषद्का अध्यक्ष केशु विरही, कवि तथा समालोचक डा. दीपकप्रसाद न्यौपाने, अग्रज स्रष्टा हर्कमान तामाङ, असम नेपाली साहित्य सभा बीटीआर क्षेत्रीय समितिकी सचिव इन्दिरा गौतम, लेखक ‘नवशिला’ तथा उहाँका अभिभावक लक्ष्मीप्रसाद पोखरेल र दुर्गादेवी पोखरेलको संयुक्त बाहुलीबाट गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भीम खतिवडा र समीक्षक डा. दीपकप्रसाद न्यौपानेले परिषद्ले साहित्यिक गतिविधिसँगै प्रकाशनलाई निरन्तरता दिनु नेपाली साहित्यका लागि सकारात्मक पहल भएको धारणा व्यक्त गर्नुभयाे । अन्य वक्ताहरूले पनि संस्थाका गतिविधिले नेपाली साहित्यलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएकाे थियाे । शुभकामना मन्तव्य दिनेहरूमा इन्दिरा गौतम, विराट साहित्य सङ्गम विराटनगरका अध्यक्ष मधु पोखरेल तथा हाम्रो लघुकथा नेपालकी एडमिन इन्दिरा चापागाईँलगायत रहनुभएकाे थियाे ।
परिषद्का अध्यक्ष केशु विरहीले संस्थाले नियमित कार्यक्रमभन्दा उत्पादनशील र समुदायमुखी गतिविधिमा जोड दिँदै आएको जानकारी दिनुभयाे । किसान, मजदुर, विद्यार्थी तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा विद्यार्थी लक्षित कार्यक्रम, तेस्रो कृति प्रकाशन तथा संस्थाको वार्षिक मुखपत्र प्रकाशनको तयारी भइरहेको बताउनुभयाे ।
संस्थाको पहिलो प्रकाशन ‘गुनासो’ गीतसङ्ग्रहको लोकार्पण यसअघि प्राज्ञ गङ्गा सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भइसकेको थियो। मोरङको बेलबारीमा प्रधान कार्यालय रहेको परिषद्ले विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

