कला क्षेत्रमा कलाको मूल्याङ्कन गर्नु वा समीक्षा गर्नु ज्यादै कठिन कार्य हो । कलाले जहिले पनि कलाकार स्वयंको निजी भावना, विचार र कलागत सौन्दर्य बोल्ने हुनाले उनको भावना र विचारमाथि वा समग्रमा कलामाथि टिप्पणी गरिहाल्न मेरो व्यक्तिगत धर्मले दिँदैन । तर यसो भनिरहँदा आफूले दशकौँदेखि कला समीक्षकको भूमिका निर्वाह गर्दै आएकोले कलामाथि समीक्षा नगरिरहन पनि बस्न सकिन्न । किनकि तेस्रो पक्षबाट वा समीक्षकको अन्तर्चक्षुको हेराइबाट देखाइएको बाटोले नै एउटा कलाकार समाजमा कलाकार भएर प्रचारित हुन सक्छ । कलाको समीक्षा वा लेखरचनाले नै एउटा कलाकारमा उठान ल्याउन सक्छ । कला, कलाकार र समाजको कडी नै राष्ट्रमा कला क्षेत्र जागृत हुने र फस्टाउने आधारहरू हुन् । यस अर्थमा कला, कलाकार र समीक्षकको सम्बन्धलाई नङ र मासुको उदाहरण दिने चलन छ । एकको अभावमा अर्कोको अस्तित्व दूरगामी रूपमा बाँच्न सक्दैन । त्यसैले कलाकारका लागि समीक्षक र उसको समीक्षा महत्त्वपूर्ण हुन्छ । यसै सिलसिलामा मैले यस पङ्क्तिमा कला र कला प्रदर्शनीमाथि गरिएको एक समीक्षात्मक कलालेख प्रस्तुत गरेको छु ।
विगतको वर्ष जस्तै यस वर्ष पनि ललितकला प्रज्ञाप्रतिष्ठानले प्रत्येक प्रदेशहरूमा प्रादेशिक कला प्रदर्शनीको कार्यक्रमहरूको आयोजना गर्यो । सातै प्रदेशमा सोही प्रदेशका कलाकारहरूका कलाकृतिहरूको प्रदर्शनी भए । ललितकला प्रज्ञाप्रतिष्ठानले आफ्नो कार्य योजना अनुरूप प्रत्येक प्रदेशमा प्रदर्शित गरिएका विविध कला विधाका कलाकृतिहरूलाई छनोट गरी नियमित भइआएको राष्ट्रिय कला प्रदर्शनीको कार्यक्रममा प्रदर्शित गर्दै आएको छ । र प्रतियोगी कलाकृतिहरूलाई छुट्टाइएका विधा अनुरूप सम्मानित एवं पुरस्कृत गरिने चलन बनाएको छ । यही कार्यशैली अनुरूप यस वर्ष पनि पश्चिमदेखि पूर्वसम्मका प्रदेशहरूमा प्रादेशिक कला प्रदर्शनीहरू सम्पन्न भए । अहिले भर्खरै बागमती प्रदेशको प्रादेशिक कला प्रदर्शनी पनि भइरहेको छ । मूलतः म स्वयम् पनि एक कलाकार भएको नाताले मेरो सहभागिता क्षेत्र कोशी प्रदेश हो । यसैले यस पङ्क्तिमा मैले कोशी प्रदेशको कला प्रदर्शनीको विषय र प्रदर्शित कलाको विषयमा केही समीक्षात्मक आलेख यहाँ पस्केको छु ।
माघ २९ गते कोशी प्रदेशमा सम्पन्न भएको प्रादेशिक कला प्रदर्शनीमा राखिएका कलामाथि मेरो संक्षिप्त तर समीक्षात्मक दृष्टि जानु स्वाभाविक पनि हो । किनकि प्रादेशिक र राष्ट्रिय कला प्रदर्शनी भनेको कलाकारहरूको वर्ष दिनमा एक चोटी आउने चाड जस्तै हो जहाँ वरिष्ठदेखि कनिष्ठसम्मका कलाकारहरूका नयाँ काम र विविध शैली तथा विधाका कलाहरू प्रत्यक्ष देख्न, अनुभूति गर्न र रसास्वादन लिन पाइन्छ । यस पङ्क्तिमा मैले कोशीको प्रदर्शित कलाको समीक्षा गर्दा वा मूल्याङ्कन गर्दा एउटा स्तरीय कलामा हुनुपर्ने बेसिक नम्स र बृहत्तर नम्सलाई हृदयङ्गम गरी उत्कृष्टताको धरातल खोज्ने प्रयत्न गरेको छु । अर्कोतर्फ कलामा हुनुपर्ने गुण भनेको विचार, भावना, प्रयोगवादी र मौलिकतावादी कलामन सँगसँगै कलामा समाहित रहेको शिल्पी पक्ष पनि लोभलाग्दो किसिमले, टड्कारो रूपमा उजागर हुनुपर्ने भन्ने सत्यतालाई अङ्गीकार गरेको छु । समीक्षामा मैले यस्तै यस्तै कला विशेषतालाई खोज्दै कलाको र प्रदर्शनीको समीक्षा वा मूल्याङ्कन गरेको छु । मेरो समीक्षा गर्ने आधार भन्नु नै कलामा प्रयोग गरिने रङ्गको संसार, रेखाको खिचाव एवं बहाव, विषयभेल, भावनाको संवेग, विचारको उठान, मौलिकताको छाप र सृजनशीलताको सुगन्ध नै हो । कोशीको प्रदर्शनीमा राखिएका कलाहरूमा मैले यस्तै यस्तै छापहरु खोज्ने प्रयत्न गरेको छु ।
समग्रमा प्रदर्शित कलाहरू हेर्दा राम्रै देखिए तापनि प्रदर्शित केही कलाहरूमा मैले काँचोपन भेटेको छु । त्यस्ता कला बनाउने कलाकारहरूले अझै थुप्रै काम गर्न आवश्यक छ भन्ने मलाई महसुस भएको छ । कतिपय कलाहरूमा रेखाङ्कन राम्रा छन् तर रङ्गको छनोट र प्रयोग त्यति राम्रा र गहन हुन सकेका देखिँदैनन् । बिम्ब र मिथकहरू प्रशस्तै प्रयोग भएका छन् तर सुन्दर कलामा हुनै पर्ने कम्पोजिसन, सुहाउँदो क्यानभासको स्पेस डिभिजन र हुनु पर्ने रङ्ग हार्मोनी त्यति प्रभाविलो हुन सकेका देखिँदैनन् । कुनै कलामा रङ्गको छनोट र प्रयोग राम्रो छ तर रङ्गमाथि हुनुपर्ने गम्भीरता न्यून हो कि भन्ने शङ्का उब्जने ठाउँहरू प्रशस्तै छन् । कला जहिले पनि प्रभाविलो र एट्रयाक्टिभ (आकर्षक) हुनुपर्दछ । कलामा कलाकारको नितान्त निजीपन छाउनु पर्दछ भन्ने मेरो नितान्त निजी बुझाइ हो । तर भर्खरै अघि बढ्दै गरेका वा सिक्दै गरेका कलाकारमा यस्ता किसिमका सिद्धान्तको जन्जिरभित्र राखेर मूल्याङ्कन गरिहाल्न पनि सुहाउँदैन तर पनि बाटो पहिल्याइदिने समीक्षकको नाताको धर्म हुने गर्छ । कला वा सिर्जना भनेको सिक्दै, साधना गर्दै जाने प्रक्रिया हो । निरन्तरको अभ्यास र अध्ययनले नै राष्ट्रले एउटा राम्रो कलाकर्मी पाउन सक्छ भन्ने मेरो अनुभव र बुझाइ छ ।
यसरी प्रदर्शित कलाकृतिमाथि औँला देखाइरहँदा प्रदर्शनीमा राखिएका सबै कलाकृतिहरू उत्कृष्ट छैनन्, सबै गुणविहीन छन् भन्ने कुरा भन्न खोजिएको पनि होइन । प्रदर्शित भएका कतिपय कलाहरू राम्रा छन् र कुनै कुनै कृतिहरू ज्यादै उत्कृष्ट पनि छन् । यहाँ देखिएका राम्रा कलाहरूले कलाको विधि, गुण, मौलिक शैली र कला विशेषतालाई छुन सकेका छन् । जस्तो आधुनिक चित्रकला तर्फ प्रदर्शित गरिएको ‘रिचुअल क्रिएसन’, ‘हिस्टोरिकल साइट’, ‘विथ नेचर’, ‘मलाईनी’ शीर्षक लगायतका केही चित्रहरू गहकिला छन् र कुनै चित्रहरू आधुनिक प्रयोगमुखी धारबाट अभिव्यक्त भएका छन् ।
यस्तै प्रदर्शनीमा संख्यात्मक रूपमा अलिक कम देखिएका समसामयिक र परम्परागत मूर्तिकला, मिथिला र थारुकला र हस्तकलाहरू सामान्य किसिमका नै देखिन्छन् । यस प्रदर्शनीमा यस्ता कलाहरू प्रदर्शनीका लागि त्यति धेरै नआएर भन्ने बुझिन्छ । ‘अङ्कुरण’, ‘आगो’, ‘स्ट्रगल एण्ड टाइमिङ’, ‘दिवाङ्कर बुद्ध’ लगायतका शीर्षकमा आधारित कलाहरू राम्रा छन् । यसको साथै केही हस्तकला लगायत अन्य मिडियमका कलाहरू पनि उल्लेख गर्न योग्य छन् ।
अन्ततः समग्र रूपबाट मूल्याङ्कन गर्दा यो पछिल्लो कोशीको प्रादेशिक कला प्रदर्शनी मैले राम्रै भएको अनुभूत गरेको छु । यद्यपि प्रदर्शनी हल अलि साँघुरिएको आभास भएको छ । र हलले वास्तविक कला क्युरेटरको माग गरिरहेको छ । यहाँ कलालाई झुन्ड्याएको अवस्था त्यति व्यवस्थित भएको देखिएन । सायद चित्रहरूलाई ‘आई लेभल’मा राख्नु पर्छ र चित्रभित्र कलाकारको नामको स्टिकर टाँस्नु हुन्न भन्ने जानकारीको अलिक अभाव भएको जस्तो देखिन्छ । तर पनि स्थानीय र प्रदेशको सहकार्यले राम्रै परिणाम दिने प्रयत्न गरेको देखिन्छ । आयोजक पक्षले विविध समस्याका बावजुद पनि राम्रै परिणाम ल्याउने जमर्को गरेको देखिन्छ । तुलनात्मक रूपमा भन्ने हो भने कोशी प्रदेशमा हिजोको भन्दा आजका काम र कला गतिविधिहरू परिष्कृत भएर आएका छन् । यति हो कि भनेजस्तो वा प्रज्ञाप्रतिष्ठानले इच्छाएको जस्तो धेरै भन्दा धेरै गुणात्मक कामहरू भने संकलित हुन सकेका देखिएनन् । किन होला? कलाको उर्वरभूमि पूर्वमा धेरै राम्रा काम गर्ने कलाकारहरू छन् भन्ने भनाइ अझै ज्युँका त्युँ बाँचिरहेको छ । अन्तमा भन्दा कोशीको यो प्रादेशिक कला प्रदर्शनीले सफल स्थान ओगटेको छ ।

