साहित्यपोस्ट डट कम

कोलाहलमा मौन आवाज

कोलाहलमा मौन आवाज

शम्भु अर्यालको ‘मौन आवाज’ हात परे पछि एकछिन शीर्षक नियालिरहेँ । अभिव्यक्त प्रकटीकरणमा मौन र आवाज दुई विपरीत अर्थ शब्द संयोजनले मनभित्र गाताको पतामा लुकेको रहस्यपूर्ण उपहार खोल्ने सङ्केत गरिरहेको विरोधाभास सत्यको अनुभव भयो । दृष्टिपटल गर्दा मन थाम्न नसकिने चिन्तनमा ध्यानमग्न शक्ति छ । आवाजका ध्यानभग्न बहुरङ कलाले लतपत बनिरहेका छन्; जो मिहिनेतले ओतप्रोत छ ।

भाषा र भावले मलाई अचम्मित पार्यो । हरफमा अनावश्यक लचकता छैन । न त भावनामा कमजोर ध्वनिको प्रतिध्वनित स्वर मिश्रित छ । आत्मविश्वासी शक्ति र अदम्य साहसको समूह मिसिएको छ; जसले पाठकलाई अब तिमी तयार रहनू भन्ने सन्देश अभिव्यक्त गरिरहेको आभास हुन्छ । म तिमीलाई मेरो संसारमा लैजानेछु । निर्बन्धताले निबन्ध विचरणको निमग्न निम्तो दिइरहेको जताततै अनुभूत हुन्छ ।

मौन आवाजको हरफ समाएपछि जो कोहीलाई पनि ध्यानमग्न पारेर एकाग्र डोर्याउन सक्नु अभिव्यक्तिको अपार शक्ति हो । अभिव्यक्तिको स्पष्ट चतुर कलामा उनी प्रचुर रहेछन् । सँगसगै बढेर, पढेर, नुनिलो, गुनिलो र स्नेहिल वात्सल्यले भरपूर बनेर पनि मन चिन्न आखिर पढ्नै पर्ने रहेछ । कविले मलाई साविती बयान दिए । मित्रताको स्नेहिल प्रवचनमा अचानक आश्चर्यचकित आविष्कार गर्न सक्ने उनी साँच्चिकै साधनामा मौन ध्यानी निर्बन्ध नै रहेछन् । यो चानेचुने अनुभवले अर्जित ज्ञान होइन ।

शुरुवातको एकछिनमै मैले महसुस गरेँ । यो साधारण निबन्ध कृति हुँदै होइन । यो त एक असाधरण प्रकृतिको अद्भूत निर्बन्धको अनुपम उदाहरण हो । मौन आवाज जीवनमा बारीका रङ टिपेर गहिरो आत्मस्वीकृतिको रूपमा उभ्याइएको सफल कृति हो । मौन आवाजको डोरेटोले मलाई विगतको स्मृतिका गोरेटोमा धकेलिदिए । पलकभरमै जहाँ न त धेरै बोलिएको थियो न त सुनिएको थियो । अनुभूति भने गहिरो थियो ।

विगतलाई चित्त बुझाएर वर्तमानमा मान्छे बाँचिरहेको हुन्छ । केही गर्नुको कालजयी सिर्जनामा सजीव स्वर पैदा गर्ने उनलाई भूगोलको सूक्ष्ममा बसेर खै कसरी अर्थ्याउन सकुँला ? मित्र, यसै पनि मनको ‘म’ भन्दा चेतनको प्रारम्भमै प्रभा हुन्छ ।

मौन आवाजको पत्र पत्र पल्टाउँदा उर्जाले सम्मोहित बनेँ । उजिल्याउन मलाई कठिन व्यायम गर्नुपर्यो । तिख्खर र निख्खर अभिव्यक्ति पढिरहँदा मित्रले मित्रलाई कस्तो सन्देश छोड्न सकुँला ? जे छोड्यौ अनुपम अनुराग छोड्यौ । यसले मलाई पढाउन मात्रै सिकाएन । सिर्जना र कल्पनामा कल्पको पगरी कसरी भर्नुपर्छ ? अभिव्यक्ति प्रकटिकरणको सटिक र सत्य सिकाइको अद्भुत लक्षणार्थ रुपकको प्रयोगले म चकित छु । अभिव्यञ्जनार्थ चिसो चुल्होमा खाएर, बढेर र पढेर प्राप्तिमा तापको चुरो र तपले प्राप्त हुने वर कति अनमोल हुँदो रहेछ ।

साहित्यका विराट प्रतिभा लक्ष्मीप्रसाद देवकोटाको समीपमा पुर्याएर अमूर्त सूक्ष्म प्रतिविम्बित चमत्कार देखाउन उनले कसर राखेनन् । लागिरहेको छ उनले शङ्कर लामिछानेको वर प्राप्त गरेका रहेछन् । लाग्यो देवकोटा अझै नानी छन् । आँधीखोले पानी ढलोमा शालीग्राम बनेर लुकिरहेका रहेका छन् । कल्कीमा जो कोहीलाई रुपक आशिर्वाद सजिलै प्राप्त हुँदैन । मित्रताको निकटतामा कविलाई द्वय विराट प्रतिभाको छायाले ओतप्रोत पारेका रहेछन् ।

सङ्ग्रहित निर्बन्ध आलेखले मलाई आफ्नै मस्तिष्कको धारणालाई पुनः सोच्न विवश बनायो । पुस्तकको प्रारम्भकै समापनमा मैले महसुस गरेका सवाल जवाफ हुन् । जोकोहीले पनि पाना पल्टाएपछि अन्तिमसम्म छोड्नै सक्दैनन् । प्रत्येक पृष्ठमा होइन शब्द, पङ्क्ति र अनुच्छेदमा चुनौती र नवीन अनुभूतिले पाठक दङ्ग पर्छन् । मौन आवाज कठिन परिश्रम, अनन्त अध्ययन र खोजले सत्य बनेर बलेको छ । मौन आवाज निर्बन्धसँग मेरो सम्बन्ध पाठक र सीमानामा मात्रै सीमित छैन । परिवेश, पहिचान र अन्तरहृदयसँग पनि गहिरो गरी गडेको छ । अनुभवको अनुभूतिले अर्जित अनमोल प्राप्ति छ । आवाज सिकाइको उच्च कला बन्ने छ । म विश्वस्त छु; उजागर गरिएका अनुभव र संवेदना मेरै सांस्कृतिक माटोबाट उत्पन्न भएका छन् । म हुर्किएको छु । पढ्दा वरिपरिको परिवेश झल्किन्छ । यो सफा छ । स्निग्ध सफा मन मौन आवाज निरन्तरसम्म प्रसिद्ध हुने छ । कठोर सजायले प्राप्त उपहार खाडीको बँधुवा जीवन निर्बन्ध बनेपछि प्राप्त भएको हीरा हो । संसारको उच्च शिखरको हिउँजस्तै एक छ ।

गर्विलो छ । निर्बन्ध साहित्यको अनुपम उपहार हो मौन आवाज । ‘आँधीखोला’ सांस्कृतिक र ऐतिहासिक चिह्नलाई वर्तमानले साहित्यिक उचाइमा पुर्याएको छ । मलाई पनि यो भूमिले गर्वका साथ बाँच्न उत्प्रेरित गरिरहेको छ ।

कृतिमा समेटिएका अनुभूति प्रामाणिक र सजीव छन् । प्रकटिकरण लेखकको मात्रै नभएर साझा अनुभव हुन्छन् । आवाजले मनसा पहिचानलाई सुदृढ बनाउँछ र साहित्यमा नयाँ आत्मविश्वास भर्न सहयोग पुर्यायाउँछ । प्राप्त अनुभूति आफैँमा गर्व मानेको छु । मौन आवाजले मनमा प्रेरणा जगाउँछ । शीतल छ ।

शब्दले मात्रै नभएर सांस्कृतिक गर्वले मलाई निकट उभ्याएको छ । मौन आवाजले युगको वाचाल पुस्तान्तरण हाँकेको छ । हामीलाई निरन्तरसम्म सम्झाइरहने छ । मौन आवाजलाई उच्च सम्मानमा राख्न मलाई दुर्बलताको सङ्कोच हुँदैन ।

मौन आवाज निबन्ध सङ्ग्रह साहित्यमा निर्बन्ध शैलीको उत्कृष्ट उदाहरण हो । कृतिमा प्रयोग गरिएको संरचना र शैलीले विचारको स्पष्ट अभिव्यक्ति त गर्छ नै, पाठकलाई सहजै भावनाको गहिराइमा पनि डुबाउँछ ।

कृतिको निर्बन्ध शैली शिल्पले स्वतन्त्र र सहज लेखनमा उन्मुक्त बनाएको छ । स्वतन्त्र छ । कठोर नियमको ढाँचाभित्र नबाँधिएर भावनात्मक र चिन्तनशील विचार खुलस्त, प्रशस्त र प्रवाहमय प्रयुक्त गर्नु उनको खुबी हो । शैलीले प्रत्यक्ष संवाद गर्छ । आत्मीयता नै कालजयी छ । सिकाइ नै अनुकरणीय छ । म विश्वस्त छु; स्पर्धामा यो निरन्तरसम्म अगाडि उभिने छ ।

मौन आवाजका निबन्धमा बहु भाषिक, बहु सांस्कृतिक र सिर्जनामा उच्च आत्मपरकताको एकरूपता जताततै देख्न सकिन्छ । दृष्टिकोणले निर्माणमा यो बहुमूल्य छ । अक्षरका लिपि, आवाज, जल, धरा, बतास, आकाश र आँधीखोलाको तापमा सामूहिक मौनता, संवेदना र ‘आत्मसाक्षात्कार’ मौलिक भावनात्मक अभिव्यञ्जना बग्रेल्ति झल्किन्छन् । वाचकलाई निरन्तरताको धाराप्रवाह आकर्षण गर्छ । सङ्गठनात्मक इकाइले उचाइमा उभ्याउँछ ।

शैलीमा काव्यात्मकता र सूक्ष्म रूपकको प्रयोग उल्लेखनीय छ । अनुभूतिको अभिव्यक्ति प्राकृतिक छवि र जीवन्त प्रतीकलाई सजीव चित्रण मौन आवाजको विशेषता हो । आँधीखोलाको उपमा, जहाँ जीवनका सङ्घर्ष र आवेग अन्तिम सिद्ध प्रसिद्ध प्रवाहित छन् । स्थानीय सांस्कृतिक पहिचानलाई उचाइमा पुर्याउँछ । पाठकमा दृश्यात्मक कल्पनालाई जन्म दिन्छ र अनुभवलाई गहिरो बनाउँछ । जीवन भोगाइको पथमा खाडीको कर्म र मर्म पनि घनिभूत रूपमा घनिष्ठ बनेको छ, यद्यपि मौन आवाज प्रतीकात्मक छ । गुप्त सत्य कुनै दिन पुस्तकमा आउने छ, म विश्वस्त छु । मिहिन अध्ययन गरेपछि परदेश पलायनमा भोकको अल्पज्ञानले वर्तमानमा भुमरी परिरहेको आर्जनमा मौन आवाजलाई समावेश गर्नुपर्छ भन्ने मेरो मान्यता रह्यो । नबोलिएको आवाज उच्च शिक्षामा बाटो छ ।

सरल अभिव्यक्ति, प्रभावकारी र उच्च कलात्मक छ । जटिल शब्दावलीको उचाइमा नबसेर उनले भाषालाई साहित्यिक छाँटकाँटमा प्रस्तुत गरेका छन् । कम प्रयोग हुने शब्दावलीको कलात्मक प्रयोग गर्न उनी माहिर देखिन्छन्; जसले पाठकलाई नयाँपन र कौतूहलताको अनुभूति दिन्छ । अर्जित प्राप्ति मौन आवाजको विशिष्ट उपलब्धि हो । सर्वव्यापक छ । प्रवाहमय हुनुका साथै संवेग र तीखोपनले भरिपूर्ण छ । मनमा स्थायी छाप छोडेर नवीनतम सिर्जना गर्न अभिमुख गर्छ ।

भावनात्मक अतिवृद्धिले सिर्जनात्मक प्रसव बढाउँछ । विश्लेषणात्मक स्पष्टता कम गर्छ । स्रष्टाको व्यक्तिगत अनुभूति र संवेदनशीलता जोकोहीले छिचोल्न सक्दैनन् । अन्ततः मौन आवाजको संरचना र शैलीले निबन्धमा नवीन आयाम थपेको छ । प्राप्त उपहार अनुभूत संवेदनशीलताको अनुपम उपहार हो । मौन आवाजले विधागत पृथकताको खोजी गरेको छ । उत्प्रेरित दर्शनले भावकलाई सोच्न बाध्य बनाउँछ । मौन आलापले धेरै कुरा चुपचाप उत्प्रेरित गरिरहेको छ । मौन आवाजमा विषयवस्तु र दृष्टिकोणको बहुआयामिकता स्पष्ट रूपमा प्रतीत छ । नेपाली भाषा र सहित्यमा सदैव अगाडि उभिइरहने छ । अनुभव, आत्मविश्लेषण र संवेदनशील भावनाले गरिएको प्रकटीकरण मजदुरको पसिना हो । कुल्ली ज्यामीको प्रत्यक्ष भोगाइमा लेखिएको भौतिक अनुभव मनुजमा जरोजस्तै फैलिएको छ ।

व्यक्तिगत अनुभूति र संवेदना सङ्ग्रहको आत्मा बनेको छ । मौन आवाजले जीवनका क्षण, सङ्घर्ष र अन्तर्मनको आवाजलाई शाब्दिक रूपमा निखार पारेको छ । अध्येताको मनमा प्रतिध्वनित बनेर प्रतिविम्बित रमाहट हरफ फक्रन्छन् । निर्बन्ध मौनता मात्रै होइन, मौनता भित्रको सुषुप्त संवाद, प्रश्न र उत्तर पनि नीरव छन् । मनको मौनताले अध्ययन उत्प्रेरित गर्छ । निबन्धले समाजको मौलिकता, गाउँले शैली, आर्थिक सङ्घर्ष, सांस्कृतिक पहिचान र आधुनिकताको प्रभावलाई मरिमेटेको छ । व्यक्तिगत कथा नभएर दस्तावेजको रूपमा अमूल्य छ ।

दार्शनिक दृष्टिले, मौन आवाजमा जीवनका मौलिक प्रश्न उठाइएको छ । अस्तित्व, समय, स्मृति र मानव सम्बन्ध परिपूरक हुन्छन् । तर्क र अनुभूतिलाई सन्तुलनमा राख्दै प्रमाणित गर्छ । चिन्तनले दर्शन बनेको छ । भाव र बौद्धिकता प्रगाढ छ । बहुआयामिक दृष्टिकोणले निबन्धलाई समदर्शी बनाएको छ । रूचि, अनुभव र परिवेश अनुसार फरक अर्थ, सन्देश र स्व:स्फूर्ति पाउन सकिन्छ । तहमा साहित्यको सूचक मानेको छु ।

मौन आवाज लेखकको मौनता मात्रै होइन । समाज र संस्कृतिमा अनुभूतिको समृद्ध सङ्ग्रह हो भन्न मलाई अफ्ठ्यारो लाग्दैन । मौन आवाजले बहुविधात्मक निर्बन्धतामा विशिष्ट स्थान ओगट्ने छ । सङ्ग्रहमा विचार शक्तिशाली छन् । मौलिकता र स्वस्फूर्त अभिव्यक्तिको प्रखरता हो । अर्यालले अनुभवलाई स्पष्ट, सजीव र सशक्त प्रस्फुटन गरेका छन् । भावाकुल कोमलताले मनमा हलचल पैदा गर्छन् । शैलीगत काव्यात्मकता र जीवन्त रूपकले कृति निबन्ध मात्रै होइन, साहित्य सिर्जनाको उच्चतम शिखर बनेको छ । संवेदनशीलता, सामाजिक चेतना, आर्थिक सङ्घर्ष, सांस्कृतिक पहिचान र आत्मीयताको आयाम बिस्तार छ । मौन आवाज एकलाप होइन सामाजिक दस्तावेज हो । निरन्तरसम्म स्थापित हुनेछ । भावनात्मक अतिवृद्धिले कहिलेकाहीँ पठितलाई विचलित पारेको छ । विश्लेषणात्मक स्पष्टता र तार्किकतामा अवरोध पुर्याउन सक्छ । यद्यपि, यो कमजोरी भन्दा पनि शैलीगत विशेषता मान्न सकिन्छ । अपवाद त्रुटिलाई ग्रहणीय उच्च बौद्धिक भन्न मन पराउँछु ।

केही निबन्धमा प्रवाहको क्रम सन्तुलित नभएर आख्यान निकट भएको अनुभूत गरेँ । अन्ततः मौन आवाजको शक्ति भावनात्मक गहिराइ र मौलिक अभिव्यक्तिमा शिल्पसीमाहरू विश्लेषण र सन्तुलनमा देखिन्छन् । पृथक् समुन्नत लेखनतर्फ अभिप्रेरित गर्छ र निबन्धमा निर्बन्ध छ । उनको शब्दमा मौनताको कलात्मक आवाज छ । कहिल्यै नबोलिएको सत्यलाई सजीव बनाउँछ । मौन आवाज साहित्यिक कोलाहल मात्रै होइन । खाडीका ज्यामीको हृदय र मस्तिष्क बिचको निरीह संवाद पनि हो । यसले दिएको प्रेरणा र आत्मचिन्तनको अवसरलाई जीवनभर सम्झिइरहने छु । अर्यालको लेखन, सिकाइमा अनमोल छ । भौतिक अनुभवलाई मौनतामा दबाएर नराख्नु, नबोलेर साझा गर्नु, मौन आवाज होइन; आत्माको सुषुप्त प्रष्टफुटन हो जसले अङ्कुरणलाई ताप दिन्छ । रुखो मरुभूमि सिञ्चित गर्छ ।

सङ्घर्षका बाबजुद उनले आफूलाई अक्षरमा प्रतिविम्बित गरेर महान् बन्ने छन् । म दृढ छु । ‘मौन आवाज’ सुनिन्छ; प्रखर आवाजभन्दा बढी वात्सल्यले पग्लिन्छ । उनले प्रमाणित गरिदिए; देश भन्नु कागजमा नक्साको कला होइन, चल्ने नागरिकलाई उनले उर्वर बनाए । मित्रहरू ! गर्व गनुहोस्, आर्जन अर्थ हो । परिश्रमले सिर्जित हुन्छ । कदर गर्नुहोस्, पढ्नुहोस्, महसुस गर्नुहोस् र आवाजलाई आफ्नै जीवनसँग जोड्नुहोस् । सत्य, सङ्घर्ष र आशाको बीज रोप्नु हुनेछ ।

अक्षर पर्वतारोहण गर्ने साहसी हरफ हुन् शम्भु अर्याल । कठिन धार पार गरेर शिखरमा हुन्छन् । ठिहीसँग थाक्दैनन्, चोटि सगरमाथा आरोहण गर्न उनलाई अफ्ठ्यारो लाग्दैन । खबुजको यात्रा कालान्तरसम्म प्रेरणादायी रहिरहनेछ । म विश्वस्त छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.