कोहलपुर । बाँकेको कोहलपुरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा लेखक क्षितिज समर्पणको उपन्यास तोरकीनमाथि परिचर्चा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले कम चर्चामा आउने मुस्ताङको मराङ गाउँको विगत र वर्तमानलाई सूक्ष्म रूपमा उजागर गरिएको कृतिबारे पाठकलाई जानकारी दिन र लेखकलाई हौसला प्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । लेखक समर्पणले उपन्यासको लेखन आफ्नो हिमाली क्षेत्रको यात्राबाट सुरु भएको उल्लेख गर्दै आधुनिकताका कारण हिमाली बस्तीहरू रित्तिँदै जानु, पर्यावरणीय परिवर्तनले सौन्दर्यमा परेको असर तथा संस्कृति र लोकरीति हराउँदै जानुजस्ता विषयलाई कृतिमा समेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार उपन्यासले जन्मभूमिप्रतिको आत्मीयता, हिमाली सभ्यता तथा नेपाल–तिब्बत सम्बन्धलाई पनि चित्रण गरेको छ ।
करिब दुई घण्टा चलेको परिचर्चामा पाठकहरूले कथानक, पात्र, विषयवस्तु, परिवेश, शैली र उद्देश्यका विविध पक्षमा जिज्ञासा राख्नुभएकाे थियाे । कार्यक्रममा महानन्द ढकाल, खगेन्द्र गिरि कोपिला, सागर गैरे, कपिल अन्जानलगायत साहित्यकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
संस्थाकी उपाध्यक्ष देवकी निरौलाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव केशव निमेषले गर्नुभएको थियो । सहभागीहरूले औपचारिकता कम र संवाद बढी भएको कार्यक्रमलाई रोचक र गुणात्मक भएको प्रतिक्रिया दिनुभएकाे छ ।

