साहित्यपोस्ट डट कम

कोहलपुरमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठी

कोहलपुरमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठी

कोहलपुर । नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको सहकार्यमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठी सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुदनकुमार पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले नेपाली संस्कृति राष्ट्रका अमूल्य निधि भएकाले तिनको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले आधुनिक प्रविधिको उपयोगमार्फत प्राचीन संस्कृतिको प्रचार–प्रसार र संरक्षण गर्न सकिने सम्भावनासमेत औँल्याउनुभयो ।

सङ्गोष्ठीमा लुम्बिनी प्रदेशका थारू, कुसुन्डा, अवधी तथा मुस्लिम समुदायका सांस्कृतिक पक्षसम्बन्धी चार कार्यपत्र प्रस्तुत गरिएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. राजकुमार थारूले ‘थारू जातिका धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा प्रकृति र पर्यावरणीय चेतना’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्रमाथि पूर्वमन्त्री तथा थारू संस्कृतिका अध्येता डा. गोपाल दहितले टिप्पणी गर्नुभएको थियो । कार्यपत्रमा थारू समुदायका अधिकांश धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा प्रकृतिप्रतिको सम्मान र पर्यावरणीय चेतना अभिव्यक्त भएको निष्कर्ष प्रस्तुत गरिएको थियो ।

त्यसैगरी अध्येता उदयराज आलेले ‘कुसुन्डाको परम्परागत संस्कृति’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. पुष्कर रिजालले टिप्पणी गर्दै कुसुन्डा समुदायको मौलिक संस्कृति लोपोन्मुख अवस्थामा पुगेको उल्लेख गर्नुभयो । उहाँले कुसुन्डा भाषाका मातृभाषी वक्ता एक जनामा सीमित हुनु चिन्ताको विषय भएको धारणा राख्नुभयो ।

अवधी संस्कृतिका अध्येता जगतराम यादवले ‘अवधी लोकसाहित्यमा लोकगाथा चनैनी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै लोकसंस्कृतिका अध्येता डा. गोविन्द आचार्यले यसले अवधी लोकगाथाको परिचय विस्तार गर्न सहयोग पुर्‍याउने बताउनुभयो ।

त्यसैगरी आरिफ खानद्वारा तयार गरिएको ‘मोहर्रम’ विषयक कार्यपत्रमाथि महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. हरिप्रसाद तिमिल्सिनाले टिप्पणी गर्नुभयो । उहाँले कार्यपत्रमा मुस्लिम संस्कृतिका केही पक्ष समेटिन बाँकी रहेको उल्लेख गर्दै नेपालगञ्ज उर्दू साहित्य र संस्कृतिको महत्वपूर्ण केन्द्र रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेगबहादुर वली, साहित्यकार प्रा. डा. कृष्णप्रसाद घिमिरे, साहित्यकार सनत रेग्मी, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी तथा कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सङ्गोष्ठीमा कोहलपुरका पूर्वमेयर लुटबहादुर रावत, विभिन्न साहित्यिक, सांस्कृतिक तथा शैक्षिक संस्थाका प्रतिनिधि, साहित्यकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक डा. टीकाराम उदासीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष डा. खोपीराम वली क्षेत्रीले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.