साहित्यपोस्ट डट कम

किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग

किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग

काठमाडौं । किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग गरेको छ । परिषद्को आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा शनिबार काठमाडौंमा सम्पन्न दुई दिने ‘मुन्दुम ज्ञान प्रणाली विषयक छैटौं प्राज्ञिक संगोष्ठी–२०८२’ पछि जारी यलाखोम घोषणापत्र मार्फत यो माग सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा भनिएको छ, “किराती समाजमा हजारौं वर्षदेखि सामूहिक पुख्र्यौली ज्ञानहरू मौखिक रूपमा हस्तान्तरण हुँदै आएका छन्, जसलाई मुन्दुम ज्ञान प्रणाली भनिन्छ । यो प्रणाली विश्व मानव समाजका लागि उपयोगी छ र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक बौद्धिक प्रतिनिधित्व गर्न सक्ने सामर्थ्य राख्छ ।”

संगोष्ठीमा २३ कार्यपत्र प्रस्तुत गरिएका थिए, जसमा मुन्दुम दर्शन, साकेला, विऔपनिवेशीकरण, सृष्टि वर्णन, उपचार पद्धति, न्याय प्रणाली, सुप्तुलुङ, परिवार र लैङ्गिकता, मानवभाषा शास्त्र, बसाइँसराइ, यात्रा वर्णन र अनुष्ठान लगायतका विषयमा विस्तृत छलफल भएको थियो ।

परिषद्का सदस्य भोगीराज चाम्लिङले वाचन गर्दै भन्नुभयाे, “किराती समाजमा भाषिक विविधता अनुसार मुन्दुम, मुन्धुम, मुन्थुम, मुद्दुम, मुदुम, मुडुम, मुक्तुम, मुक्दुम, मुग्दुम, मुन्तुम, मिन्दुम, रिदुम, तम्र, तुम्लो, पेलाम, ड्युम्ला, याङ्मा खाउ आदि शब्द प्रयोग हुन्छन्, जसको आद्य शब्द ‘मुन्दुम’ मानिन्छ।”

घोषणापत्रको अर्को बुँदामा राजनीतिक, आर्थिक, सांस्कृतिक र पर्यावरणसँग सम्बन्धित मुन्दुम र नेपालका मौलिक आदिवासी ज्ञान प्रणालीलाई आधार बनाएर मात्र “नेपाली समाजवाद” विकास र त्यसप्रति बृहत्तर स्वामित्व निर्माण गर्न सकिने उल्लेख गरिएको छ ।

साथै, परिषद्ले माग गरेको छ कि मुन्दुम ज्ञान प्रणाली सम्बन्धी पठनपाठनका लागि विद्यालय, विश्वविद्यालय तथा सामुदायिक र सरकारी शिक्षण संस्थाहरूमा व्यवस्था गरियोस् ।

समापन सत्रमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले भन्नुभयाे, “किरातीहरूले संज्ञानको रूपमा संस्कार, संस्कृति र सभ्यताको मूल स्रोत मुन्दुमलाई मान्ने गरेको छन् । मौखिक ज्ञान प्रणालीलाई जीवन दर्शन र जगत परिचालनको सूत्राधार अवधारणा मान्दै लोकलदेखि ग्लोबलसम्म समायोजन गर्न जरुरी छ ।”

प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले पनि मुन्दुम मौखिक ज्ञान प्रणालीलाई विश्व समुदायमा अन्तर्राष्ट्रिय ज्ञान र विज्ञानसम्मत तुल्याउने प्रयास जारी रहेको जानकारी दिनुभयो ।

यस पहलले किराती सभ्यता र पुँख्र्यौली ज्ञानको अन्तर्राष्ट्रिय स्तरमा संरक्षण र प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.