साहित्यपोस्ट डट कम

खुसेन्द्र राईलाई ‘चिया कविता पुरस्कार–२०२६’ प्रदान गरिने

खुसेन्द्र राईलाई ‘चिया कविता पुरस्कार–२०२६’ प्रदान गरिने

गान्तोक । गान्तोकमा आयोजित चिया कविताको बैठकले साहित्यकार खुसेन्द्र राईलाई वर्ष २०२६ को ‘चिया कविता पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ ।

चिया कविताकी वरिष्ठ सदस्य उषा शर्माले पत्रकार सम्मेलनमार्फत पुरस्कारको घोषणा गर्दै विभिन्न विधामा सक्रिय सातजना स्रष्टामध्येबाट सर्वसम्मत रूपमा राईको नाम चयन गरिएको जानकारी दिनुभयो । पश्चिम सिक्किमको जुम गाउँमा जन्मिनुभएकाे राई लामो समयदेखि साहित्य साधनामा सक्रिय रहँदै आउनुभएकाे छ । उहाँका दुई गजल सङ्ग्रह, दुई कथा सङ्ग्रह, एक कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् भने एउटा उपन्यास प्रकाशोन्मुख रहेको छ । उहाँका ‘खुर्मी’ र ‘पिरती क्याफे’ कथासङ्ग्रह तथा ‘ए जिन्दगी’ र ‘मेरा एकाउन्न गजल’ चर्चित कृतिका रूपमा रहेका छन् । साथै ‘अनाम बाटो’ कविता सङ्ग्रहले पनि पाठकबीच राम्रो चर्चा पाएको छ ।

आगामी विश्व चिया दिवसका अवसरमा मे २१ मा आयोजना हुने विशेष कार्यक्रममा राईलाई उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । सोही अवसरमा अन्तर्राष्ट्रिय स्तरको काव्य सङ्गम, चिया वार्ता तथा कविता वार्ता कार्यक्रमसमेत आयोजना गरिनेछ । सन् २०२३ देखि निरन्तर प्रदान हुँदै आएको यस पुरस्कारअन्तर्गत नगद १५ हजार रुपैयाँ, अङ्गवस्त्र, ताम्रपत्र तथा प्रशस्तिपत्र प्रदान गरिने व्यवस्था रहेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.