भक्तपुर । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा भक्तपुरको लिवालीस्थित खोर्पिङ्ग इङ्ग्लिस एकेडेमीमा विद्यालयस्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले विद्यार्थीहरूमा साहित्यप्रतिको अभिरुचिको प्रशंसा गर्दै सिर्जनशीलताको विकासमा यस्ता कार्यक्रमको महत्त्व रहेको बताउनुभयो । उहाँले, “ज्ञान शिक्षा हो भने, त्यो ज्ञानलाई नयाँ रूप दिनु सृजनशीलताको महाकौशल हो,” भन्दै विद्यार्थीहरूलाई निरन्तर सिर्जनात्मक अभ्यासमा लाग्न प्रेरित गर्नुभयो ।
प्रतियोगिताअन्तर्गत कक्षा ६ देखि ८ समूहमा अनुष्का धुख्वा प्रथम र पेस्कीला खड्का द्वितीय हुनुभयो । उहाँहरूलाई पुरस्कारस्वरूप साहित्यपोस्टका तर्फबाट राम अधिकारीद्वारा लिखित ‘सपना र छायाहरू’ कृति प्रदान गरिएको थियो ।
त्यसैगरी, कक्षा ९ देखि १० समूहमा अर्किड धुख्वा प्रथम, राजश्री कुसी द्वितीय र विकल्प प्रजापति तृतीय हुनुभयो । उहाँहरूलाई साहित्यपोस्टका तर्फबाट राजबल्लभ कोइरालाद्वारा लिखित ‘औरा’ कृति पुरस्कारस्वरूप प्रदान गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान तथा चौतर्फी बौद्धिक विकासका लागि आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

.jpg)