साहित्यपोस्ट डट कम

केशु विरहीको ‘जीवनकथा अग्रजका’ लोकार्पण

केशु विरहीको ‘जीवनकथा अग्रजका’ लोकार्पण

मोरङ । केशु विरहीद्वारा लिखित ‘जीवनकथा अग्रजका’ नामक कृतिको लोकार्पण मोरङको बेलबारीमा एक समारोहबीच सम्पन्न भएको छ । कृतिमा बेलबारी र सुन्दरहरैँचाका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको जीवन–वृत्तान्त समेटिएको छ ।

कार्यक्रमको आयोजना कोसी साहित्य–कला परिषद् नेपालले गरेको हो भने सुकुना बहुमुखी क्याम्पसले सहकार्य गरेको थियो । समारोहमा प्रमुख अतिथि प्रेमलाल चौधरी रहनुभएको थियो । कृतिको समीक्षा प्रा.डा. भीम खतिवडा र लीला अनमोलले गर्नुभएको थियो ।

समीक्षकहरूले अग्रजहरूको अध्ययन र दस्तावेजीकरणले इतिहासलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कृतिले स्थानीय इतिहास बुझ्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभएकाे थियाे ।

उद्योगपति भोलेश्वर दुलालले ऐतिहासिक व्यक्तित्वको संरक्षण सबैको दायित्व भएको बताउनुभयो । कृतिकार विरहीले अनुसन्धानका क्रममा आएका चुनौती र अनुभव साझा गर्दै अग्रजका जीवन–अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पुस्तक लेखिएको जानकारी दिनुभयो ।

कार्यक्रम परिषद्का अध्यक्ष चिरञ्जीवी काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन नवराज पोखरेल ‘नवशिला’ले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.