साहित्यपोस्ट डट कम

‘अज्ञात’ ऐतिहासिक तथ्यमा टेकेर सत्यसम्म पुग्ने प्रयास हो - केशवराज ज्ञवाली

‘अज्ञात’ ऐतिहासिक तथ्यमा टेकेर सत्यसम्म पुग्ने प्रयास हो - केशवराज ज्ञवाली

केशवराज ज्ञवाली कक्षा ५ मा पढ्दा कथा छाप्नका लागि  स्थानीय पत्रिकाको कार्यालयसम्म पुग्नुभएको थियो ।  सम्पादकले दुई रुपैयाँ लिए अनि कथाको फोटोकपी गरेर फिर्ता दिए । त्यो बेला नौ–दश वर्षको बालक भएको हुँदा उहाँलाई त्यही नै कथा छापिएको जस्तो लागेको थियो । फोटोकपी मेसिनबाट तातो कागजमा काला–काला अक्षरहरू निस्कँदै गर्दा उहाँमा खुशीको सीमा थिएन । त्यो कथा पछि हरायो  र त्यससँगै लेख्ने र हराउने एउटा लामो क्रम शुरु भएको बताउनुहुन्छ ।

पठनको दायरा विस्तार हुँदै जाँदा उहाँले गुरुप्रसाद मैनाली, भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइराला, पारिजात, बालकृष्ण सम, ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा, नयनराज पाण्डे, कृष्ण धरावासी, बानिरा गिरीलगायत सबै नेपाली साहित्यकारका कृति अध्ययन गर्ने अवसर पाउनुभयो  । हिन्दी साहित्यप्रति उहाँको आकर्षण पनि उत्तिकै गहिरो थियो ।  त्यसैको सिलसिलामा उहाँले रवीन्द्रनाथ ठाकुर, प्रेमचन्द, हरिवंशराय बच्चन, सआदत हसन मन्टो, आचार्य चतुरसेन, अमृता प्रितम, गुलजार आदिका कृतिसँग परिचित हुने अवसर पाउनुभयो  । आइएस्सी र इन्जिनियरिङ अध्ययनका क्रममा हिन्दीमा अनुदित रुसी साहित्यमार्फत एन्तोन चेखभ, माक्सिम गोर्की तथा अन्य विश्वप्रसिद्ध साहित्यकारका साहित्य पनि अध्ययन गर्नुभयो । अनिवार्य अङ्ग्रेजी विषयबाट शुरु भएको अङ्ग्रेजी साहित्यप्रतिको उहाँको यात्रा क्रमशः लियो टोल्स्टोय, डी.एच. लोरेन्स, एन्तोन चेखभ हुँदै अघि बढ्यो । एलिस मुनरो र झुम्पालाहिरीका लेखनलाई उहाँले गहिरोसँग अनुभूत गर्नुभयो । साहित्यको विशाल संसारसँग उहाँको परिचय थोपाबाट शुरु भयो । बिम्बमा लेख्न रुचाउने उहाँसँग सङ्ग्रहका लागि पुग्ने कविता छन् । केही संस्मरणात्मक निबन्ध पनि छन् । उहाँको पहिलो कृति ‘अर्को भोर’ कथासङ्ग्रहले २०७८ सालको पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्‍यो । अहिले उहाँको दोस्रो कृति ‘अज्ञात’ उपन्यास बजारमा आएको छ ।

गुल्मीमा जन्मिएका केशवराज ज्ञवाली यतिखेर अमेरिकालाई कर्मथलो बनाएर नेपाली साहित्य लेखनमा कलम चलाइरहनुभएको छ । उहाँको लेखन अनि भर्खरै प्रकाशित उपन्यास 'अज्ञात'सँग सम्बन्धित भएर महेश कार्की क्षितिजले उहाँसँग गर्नुभएको कुराकानी यहाँ प्रस्तुत छ:

‘अर्को भोर’ तपाईँको पहिलो कथासङ्ग्रहले पद्मश्री पुरस्कार पाउन सफल भयो । नेपाली आख्यानका पाठकले तपाईँको लेखनलाई मन पराए । प्रचारप्रसारबाट टाढा बसेर पनि पाठकको मन जित्न सक्ने तपाईँ आफ्नो आख्यान लेखनको शक्ति केलाई मान्नु हुन्छ ?

आफूले लेखेका कुरा पाठकलाई मन पर्नु खुशीको कुरा हो । तर त्योभन्दा पनि ठूलो कुरा चाहिँ, आफ्नो लेखन र विषयवस्तुप्रति आफ्नो शक्ति र सीमाले दिएसम्म इमानदार हुनु महत्त्वपूर्ण कुरा हो भन्ने लाग्छ । मेरो लेखन आफ्ना गुण र कमजोरीसँगै पाठकसामु उपस्थित छ । त्यसमा कुनै शक्तिको अनुभूति हुन्छ भने, त्यो त्यसको इमानदारिताबाट आएको होला भन्ने मेरो अनुमान हो ।

तपाईँका आख्यान पढ्दा लाग्छ, तपाईँ गम्भीर अध्येता हुनुहुन्छ । गहिरो अध्ययन अनुसन्धान गरेर आख्यान लेख्ने तपाईँका लागि  कथा के हो र उपन्यास के हो ?

मलाई कुनै विषयले तान्यो भने, त्यसको जरासम्म पुग्ने चाहना हुन्छ । त्यो मेरो अभ्यास र स्वभाव दुवै हो । मसँग यो विषयमा शास्त्रीय स्पष्टता छैन कि ? त्यो म साहित्यको औपचारिक विद्यार्थी नभएकाले पनि हुन सक्छ । कथा र उपन्यासमा केही समानता पनि छन् र फरक पनि । उपन्यास लामो कथा हो र कहिलेकाहीँ कथा छोटो उपन्यास पनि हुन सक्छ । कुनै विषयमा छोटोमा लेखियो र कहिलेकाहीँ एउटा आयामलाई बढी समातेर आख्यान लेखियो भने त्यो कथा हुन्छ होला । कुनै बृहत्तर विषय र बहुआयामलाई समातेर अलिक लामो आख्यान बन्यो भने त्यो उपन्यास होला ।

तपाईँ त इन्जिनियरिङको विद्यार्थी तर इतिहासलाई आधार बनाएर अज्ञात उपन्यास लेख्नुभयो । ऐतिहासिक पृष्ठभूमिको उपन्यास लेख्ने अहिले नेपाली आख्यानकारमा फेसन नै चलेको देखिन्छ । खासमा ऐतिहासिक उपन्यास लेख्न चाहिँ सजिलो छ ? ऐतिहासिक उपन्यास लेख्दा के कुराको फाइदा हुने रहेछ ?

म यसलाई फेसनको सट्टा इतिहासमाथि बढ्दो रुचि भन्न मन पराउँछु । हामी बाँचेको समय र परिवेशका कतिपय कुरा हाम्रो जीवन–भोगाइबाट पनि आउँछन्, त्यसले समसामयिक लेखनमा सहयोग नै पुर्‍याउँछन् भन्ने लाग्छ । तर आफ्नो जीवन र परिवेशभन्दा परको विषय हुने भएकाले ऐतिहासिक उपन्यास अरूभन्दा एक तह बढी गाह्रो हुन्छ भन्ने मेरो बुझाइ छ । पुरानो समयमा पुगेर, त्यो जीवन र समाजको कल्पनाकै लागि पनि धेरै अध्ययन र मनन गर्नुपर्ने हुन्छ । ऐतिहासिक उपन्यास लेख्दा, एउटा लेखकको रूपमा फरक समय र फरक घटनाहरूको बारेमा लेख्न र बुझ्न पाइन्छ । मेरो विचारमा लेखकका लागि त्यो फाइदाकै कुरा हो भन्ने लाग्छ ।

तपाईँको विचारमा इतिहासको अध्ययन र ऐतिहासिक उपन्यासको अध्ययनबीच के फरक छ ? आजका युवा पुस्ताले ऐतिहासिक उपन्यास किन पढ्नुपर्छ भन्ने लाग्छ ?

इतिहासको अध्ययनमा अलि बढी तथ्य, तिथिमितिहरू र सिलसिलेवार घटनाहरू आउँछन् । त्यो सबै पाठकका लागि एकदमै रुचिको विषय नहुन पनि सक्छ, तर ऐतिहासिक आख्यान कथा र अनुभूति समेत मिसाएर भनिने हुँदा त्यो पाठकका लागि अलि बढी सरस र सहज हुने सम्भावना बढी हुन्छ । अझ कतिपय सन्दर्भमा तथ्यपरक सामग्रीले मात्रै भन्न नसक्ने कुराहरू आख्यानले सजिलै भन्न सकेको पनि हुन्छ । सुनिएका र लेखिएका तथ्यले भन्न नसकेको सत्य आख्यानले बुझाउन सक्छ भन्ने मलाई लाग्छ ।

ऐतिहासिक उपन्यास लेख्दा लेखकले इतिहासकारभन्दा बढी स्वतन्त्रता पाउनुपर्छ कि बढी जिम्मेवारी ? तपाईँलाई इतिहासका कुन पाटाहरू अझै पनि नेपाली साहित्यमा पर्याप्त रूपमा लेखिन बाँकी छन् जस्तो लाग्छ ?

स्वतन्त्रता र जिम्मेवारी एकआपसमा जोडिएका कुरा हुन् । ऐतिहासिक आख्यानमा पनि यी दुवै कुराको संयोजन हुन्छ । स्थापित र प्रमाणिक तथ्यहरू तलमाथि नपरून् भन्ने जिम्मेवारी हो भने, त्यो तथ्यको वरिपरिका कतिपय घटनाहरू बुन्ने र कल्पना गर्ने स्वतन्त्रताको उपभोग लेखकले गर्न पाउँछ । नेपाली इतिहासका विविध प्रसङ्ग  र सन्दर्भमा प्रशस्त काम भएको छैन भन्ने मेरो बुझाइ छ । ऐतिहासिक रूपमा दलित, सीमान्तकृत, महिला, आदिवासी आदिको विभिन्न कालखण्डमा उपस्थिति र योगदानको चर्चा निकै कम र कमजोर छ भन्ने मलाई लाग्छ । विविध दृष्टि र कोणबाट नेपाली साहित्यले नेपालको इतिहासलाई सम्बोधन गर्न बाँकी छ जस्तो लाग्छ । गोरखाको विस्तार, राणा शासन र त्यसविरुद्धको सङ्घर्ष, पञ्चायतकाल र अरू समयमाथि पनि साहित्यिक कामको प्रशस्त सम्भावना छ ।

उपन्यासको प्रमुख पात्र मन्यामार्फत तपाईँले इतिहासका परित्यक्त मानिसहरूको आवाज उठाउन खोज्नुभएको छ । मन्या पात्रको निर्माण गर्दा तपाईँले कस्ता ऐतिहासिक, सामाजिक वा वैचारिक आधारलाई ध्यान दिनुभयो ?

इतिहासमा वा हालसालै भएका कुनै पनि सामाजिक जीवनका घटना बिरलैमात्र एकल प्रयासबाट भएका होलान् । गोरखा विस्तारको ठूलो घटनामा त्यो समय र समाजका आममानिसको प्रत्यक्ष र परोक्ष संलग्नता र भागिदारी थियो । नेपाली इतिहासको त्यो खण्डमा आम मानिसले के–कस्तो जीवन भोगे होलान् ? चाहेर वा राज्यको आदेशमा कसरी सीमा निर्माणमा जोडिए होलान् ? यी र यस्तै प्रश्नको उत्तर खोज्ने क्रममा अज्ञातका पात्रहरू र कथा बन्न पुगेको हो । नेपालको इतिहासमा श्री महेशचन्द्र रेग्मीजस्ता सामाजिक तथा आर्थिक इतिहासकारहरूको योगदान अतुलनीय छ । त्यसैगरी संशोधन मण्डल र यसका सदस्य/संस्थापकहरू तथा अरू पनि उत्खननको आलोकमा ‘अज्ञात’ लेखिएको हो । एउटा राष्ट्रको सीमा र सार्वभौमिकताको निरन्तरतामा त्यो सीमाभित्र रहे/बसेका सबैको योगदान हुन्छ । योगदानको परिमाणलाई मूल्याङ्न गर्ने हो भने, आम मानिसको कुल योगदान सधैँ ठूलो हुन्छ । नेपाल निर्माणमा त्यो समयका आममानिसहरूले गरेको काम र कहरको साहित्यिक सम्बोधन नै 'अज्ञात' हो ।

ऐतिहासिक घटनालाई कथात्मक रूपमा प्रस्तुत गर्दा तथ्य बिग्रिने जोखिम कति  हुन्छ ? तपाईँको उपन्यास अज्ञातका पात्र जिम्मालले मन्याकी आमालाई पाल्पा दरबारमा पुर्‍याएको अनि पाल्पाली राजा पृथ्वीपाल सेनले आफू नेपाल जाँदा उतै लगेको सन्दर्भलाई सम्झँदा आफूले तथ्यलाई झनै रोचक बनाएँ जस्तो लाग्छ कि इतिहास जे थियो त्यही लेखेँ जस्तो लाग्छ ?

इतिहासमा काम गर्दा, त्यो समयका घटना, पात्र र तिथिमितिमा बढी चनाखो हुनुपर्छ । तपाईँले उल्लेख गर्नुभएको प्रसङ्ग काल्पनिक हो, तर त्यो घट्नसक्ने सम्भावना भएकै घटना हो भन्ने मेरो निक्र्यौल छ । कमारा/कमारीलाई लेनदेनको वस्तु बनाइनु त्यो समयको सामान्य चलन हो । कथाले बुनेको प्रसङ्गमा मन्याकी आमा पाल्पा दरबारमा पुग्नु सामान्य कुरा हो ।  एउटा राजा कहीँ हिँड्दा आफ्ना सुसारे, भान्से, अङ्गरक्षक आदि सँगै लैजानु पनि सामान्य प्रचलन हो । अहिले पनि राज्यको उपल्लो तहमा पुगेका मानिसहरू हिँड्दा ठूलै समूह हिँडेकै हुन्छ । त्यो रोचक बनाउने वा इतिहासलाई जस्ताको तस्तै भन्ने उद्देश्यले होइन, कथाले भन्न खोजेको कुरासम्म पुर्‍याउने उद्देश्यले बुनिएको प्रसङ्ग हो ।

हेजेमोनी संस्कृतिको निर्माण गरी प्रभुत्वमा रहेको काजीले नर्सिङलाई बन्दुकले मार्न खोज्दा गोविन्दे हेजेमोनाइज्ड बन्दैन । उसले  खुकुरी प्रहार गरी काजीलाई मारेको प्रङ्गले उपन्यासमा उदीयमान संस्कृतिको निर्माणमा पनि तपाईँ चनाखो देखिनु हुन्छ । यहाँ  इतिहासमा उपलब्ध तथ्य र साहित्यिक कल्पनाबीच सन्तुलन कायम गर्न तपाईँले कस्ता चुनौतीहरू सामना गर्नुभयो ?

हरेक सत्ताले आफ्नो हेजेमोनीअनुकूल संस्कृति निर्माण गर्दछ । त्यस्तो संस्कृतिको उद्देश्य धेरैजसो सत्ता टिकाइराख्नु नै हुन्छ । तर नयाँ समय, फेरिएको परिवेश र नयाँ पुस्ताले नवीन विचार र संस्कृतिको चाहना राख्छ । त्यसैले यी दुईबीचको टकराव अवश्यम्भावी हुन्छ । काजी धौकलसिंह त्यसरी मारिएको ऐतिहासिक तथ्य हो, तर उनको हत्या हुनु पछाडिको मूल कारण भने नवसंस्कृतिप्रतिको चाहना नै हो । उपलब्ध तथ्य र साहित्यिक सन्तुलनलाई मैले अनुशासित कल्पना भन्ने गरेको छु । कल्पना अवश्य पनि हो, तर यसले ऐतिहासिक तथ्य र घटनाको सीमा तथा अनुशासनलाई पालना गरेको छ भन्ने मेरो बुझाइ छ ।

इतिहासले प्रायः विजेता र नायकहरूको कथा लेख्छ, तर साहित्यले ओझेलमा परेका पात्रहरूलाई बोल्ने अवसर दिन्छ भन्ने मान्यता छ ।  तपाईँको विचारमा इतिहासले भन्न नसकेका कुन सत्यलाई अज्ञात उपन्यासले उजागर गर्न खोजेको छ ?

अवश्य हो । हामीले विभिन्न समाजका, समयका ऐतिहासिक लेखनलाई पढ्यौँ भने, धेरैपटक तिनीहरूले त्यो समयको सत्ताको उद्देश्यको परिपूर्तिमा सहयोग पुर्‍याउने कोशिश गरेको देखिन्छ । अर्कै प्रसङ्गमा माथि लिएका नामहरू अपवाद भए पनि, नेपालको सन्दर्भमा पनि त्यो भएको छ । साहित्य आम मानिसको बोली र अनुभूति हो । ‘अज्ञात’ ऐतिहासिक तथ्यमा टेकेर सत्यसम्म पुग्ने प्रयास हो ।

कथा र उपन्यासमा स्थापित हुने भनेको पात्र हो । त्यो पात्रकै माध्यमबाट लेखकले आफ्नो विचार र दर्शन प्रस्तुत गर्दछ । कतिपय उपन्यास र कथाका किताबहरू पात्रकै नामबाट राखिएका हुन्छन् र ती किताब सफल पनि छन् । तपाईँ आख्यानमा प्रयोग गरिएका ती पात्र वा पात्रका नामबाट राखिएका किताबलाई कसरी सम्झिनुहुन्छ ? तपाईँको किताबको नाम अज्ञातको सट्टा मन्या हुन सक्दैनथ्यो ?

तपाईंले भनेझैँ लेखकले आफ्ना पात्रमार्फत आफ्नो जीवनदर्शन र विश्वास अभिव्यक्त गर्छ । कतिपय लेखकले आफ्नो आख्यानको शीर्षक नै पात्रको नामबाट राखेका छन् । तर शीर्षककै कारणले मात्र कुनै पुस्तक सफल वा असफल हुन्छ भन्ने निष्कर्षमा पुग्नु परिपक्व दृष्टिकोण नहुन सक्छ । नेपाली साहित्यमा पात्रकै नामबाट शीर्षक राखिएका अनेकौं सफल कृतिहरू छन् । त्यसैगरी पात्रको नाम नभएका शीर्षक भएका कृतिहरू पनि उत्तिकै सफल मानिएका छन् । सुम्निमा, योगमाया, राधा, अनुराधा र माधवी पात्रको नामबाट राखिएका कृतिहरू हुन् । त्यसैगरी शिरीषको फूल, अलिखित, तीन घुम्ती, लू र सेतो धरती जस्ता कृतिहरू पनि उत्तिकै सफल छन् । आख्यानको सफलता मुख्यतः यसको कथावस्तु, बुनोट, चरित्र निर्माण र दर्शनमा आधारित हुन्छ, शीर्षकमा मात्र होइन । यो पुस्तकको नाम ‘मन्या’ राखिएको भए पनि यसको कथावस्तु उही रहने थियो । तर लेखकका रूपमा मलाई ‘अज्ञात’ शीर्षकले कथावस्तुको अन्तर्य र भावभूमिलाई अझ नजिकबाट प्रतिनिधित्व गरेको अनुभूति भएकाले यही नाम रोजेको हुँ ।

अमेरिकामा बसेर नेपाली साहित्य पढिरहँदा र लेखिरहँदा तुलनात्मक तरिकाले अमेरिकाको र नेपालको पठन संस्कृति, साहित्य बजार, प्रकाशन, प्रचार प्रसारमा कस्तो अन्तर पाउनुहुन्छ ?

अमेरिका र नेपालको लेखन, प्रकाशन तथा पठनको संस्कृति र इतिहास निकै फरक छ । नेपाली भाषामा अलि ठूलो सङ्ख्यामा पुस्तक प्रकाशित हुन थालेको केही दशक मात्रै भएको छ । पढाइलाई जीविका वा जागिरसँग मात्रै जोडिने कारणले नेपालमा औपचारिक शिक्षाभन्दा बाहिरको पठन सङ्ख्यात्मक रूपमा कम छ । अमेरिकामा जनसङ्ख्या पनि ठूलो छ । अङ्ग्रेजी भाषाको बजार विश्वभर छ । यताका चर्चित पुस्तक संसारभरि खोजिन्छन्, पढिन्छन् । बजार ठूलो भएकैले पनि हुन सक्छ, यहाँको प्रकाशनमा पनि निकै ठूलो मिहिनेत र लगानी गरेको पाइन्छ । यताको पुस्तकालय व्यवस्थापन निकै लोभलाग्दो छ । सबै साना–ठूला शहरमा नगरपालिकाकै व्यवस्थापनमा कम्तीमा एउटा राम्रो पुस्तकालय हुन्छ । त्यहाँ बालबालिकाका लागि कथा वाचन र अरू लेखन–पठन सम्बन्धी कार्यक्रम भइरहन्छन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.