काठमाडौं । कवि केशव निमेषको नयाँ कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ सार्वजनिक गरिएको छ । शिखा बुक्सबाट प्रकाशित कृतिको शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा विमोचन गरिएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले ‘मृत्युगञ्जको मौनता’ समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र समयको गहिरो बेचैनीलाई कवितामार्फत सशक्त रूपमा अभिव्यक्त गर्ने कृति भएको बताउनुभयो । उहाँले निमेषका कविताले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्दै यस सङ्ग्रहले समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले कवितासङ्ग्रहले समाजमा दबिएका आवाज, मौन बनाइएका जीवन र सीमान्तकृत समुदायका अनुभूतिलाई संवेदनशील रूपमा अभिव्यक्त गरेको बताउनुभयो । साहित्य केवल सौन्दर्यबोधको विषय नभई सामाजिक रूपान्तरणको माध्यम पनि भएको उल्लेख गर्दै उहाँले निमेषका कविताले पाठकलाई नयाँ दृष्टिकोणका साथ समाजलाई हेर्न प्रेरित गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद सुरेशकुमार चौधरी, खड्गबहादुर बुढा र रमेश मल्लले शुभकामना मन्तव्य राख्दै कृतिले समकालीन नेपाली समाजका यथार्थलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताउनुभयाे । साहित्यले समाजलाई मानवीय, संवेदनशील र लोकतान्त्रिक चेतनातर्फ डोर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनीहरूको भनाइ थियो ।
शिखा बुक्सका प्रकाशक पुष्पराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै गुणस्तरीय नेपाली साहित्यलाई पाठकमाझ पुर्याउन लेखक, प्रकाशक र पाठकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा कवि केशव निमेषले आफ्नो लेखन यात्राका अनुभव सुनाउँदै कविता समय, समाज र मानिससँगको निरन्तर संवाद भएको बताउनुभयो । ‘मृत्युगञ्जको मौनता’ आफ्ना व्यक्तिगत अनुभूति मात्र नभई समाजका असङ्ख्य आवाजहरूको प्रतिनिधित्व गर्ने प्रयास भएको उल्लेख गर्दै उहाँले उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो ।

