काठमाडौँ । एक थिएटर नेपालले आफ्नो नयाँ नाटक ‘केसामी–नाम्सामी’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । नाटक साउन १८ देखि भदौ १३ गतेसम्म बुधबारबाहेक नियमित मञ्चन गरिनेछ ।
नाटकको निर्देशन अनिल सुब्बाले गर्नुभएको हो भने नाट्य रूपान्तरण यासेली योङ्हाङले गर्नुभएको छ ।
निर्माण टोलीका अनुसार पुस्तौँदेखि मौखिक परम्परामा जीवित रहेको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृतिलाई आधुनिक रङ्गभाषामार्फत प्रस्तुत गर्ने उद्देश्यका साथ नाटक तयार गरिएको हो ।
निर्देशक सुब्बाका अनुसार नाटकले परम्परा र वर्तमानबीचको संवाद, मौलिक संस्कृति, इतिहास, प्रकृतिसँगको मानवीय सम्बन्ध, संवेदना तथा पहिचानका विविध आयामलाई रङ्गमञ्चमार्फत अभिव्यक्त गर्ने प्रयास गरेको छ ।
उहाँले नेपाली संस्कृति र सभ्यतालाई नयाँ दृष्टिकोणबाट अनुभूति गर्न चाहने दर्शकका लागि ‘केसामी–नाम्सामी’ महत्त्वपूर्ण प्रस्तुति हुने विश्वास व्यक्त गर्नुभएको छ ।

