साहित्यपोस्ट डट कम

कायाकल्प : आत्मबोधको प्रेम कथा

कायाकल्प : आत्मबोधको प्रेम कथा

आजको डिजिटल युगमा किताब पढ्ने संस्कार क्रमशः कमजोर हुँदै गइरहेको देखिन्छ । अडियो बुक र अनलाइन माध्यमले पाठकलाई सजिलो पहुँच दिएको भए तापनि, कागजी पुस्तकका पन्ना पल्टाएर पढ्दा प्राप्त हुने अनुभूति अलग्गै हुन्छ । सामाजिक सञ्जालका छोटा दृश्य र संवादहरूमा सीमित हुँदै गएको आजको समाजमा गहिरो पाठन संस्कार दुर्लभ बन्दै गएको छ । तर मलाई किताबका पन्ना पल्टाएर पढेको जस्तो स्वाद अडियो र अनलाइन माध्यममा पाउँदिनँ । यही परिवेशमा हालै मेरो हातमा कल्पना बान्तवाको उपन्यास “कायाकल्प” पर्यो ।

“कायाकल्प” वि.सं. २०७१ सालमा फाइन प्रिन्टन प्रकाशनबाट प्रकाशित भएको हो । यस कृतिमा एक आधुनिक महिलाको जीवन, संघर्ष, कमजोरी र आत्मबोधलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिएको छ । ‘कायाकल्प’ शीर्षकले नै पाठकलाई आत्मपरिवर्तन र अस्तित्वको खोजतर्फ आकर्षित गर्दछ । काया अर्थात् अस्तित्वको रूपान्तरण के होला ? वा कुनै कुराको परिवर्तन के होला भन्ने जिज्ञासाले यो पुस्तक पल्टाएँ । पुस्तकको प्रारम्भमै प्रस्तुत वाक्य— “जब कुकुनभित्रको सुन्डी (caterpillar) ले संसार सकियो सोच्छे, त्यही दिन ऊ पुतली बन्छे ।” यही वाक्यले मलाई अत्यन्त आकर्षित गर्‍यो। यो उपन्यासको उद्देश्य यही वाक्यले समेटेजस्तो लाग्यो ।

लेखकको नामसँग मिल्दोजुल्दो शीर्षक भएकाले लेखकले आफ्नै अनुभव लेखेकी हुन् कि भन्ने अनुमान गर्नु स्वाभाविकै हो । शुरुवातमा नर्स पात्रबाट आरम्भ भएको कथाले पाठकलाई चिकित्सा पेशा र मानवीय संवेदनाबीचको सम्बन्धतर्फ उन्मुख गराएजस्तो देखिन्छ । तर कथाको केन्द्रमा सामाजिक, पारिवारिक, प्रेम, पीडा र आत्मसम्मान र मानसिक अन्तर्द्वन्द्व रहेको स्पष्ट हुन्छ । यसैले यो उपन्यास एक आधुनिक कर्मशील नारी पात्रको जीवन, संघर्ष, कमजोरी र आत्मबोधको कथात्मक प्रस्तुति हो ।

पहिलो चरणमा कायाको आफूभन्दा सानो केटासँगको प्रेमकथा र त्यसको अन्त्य कसरी हुन्छ भन्ने वर्णन छ । दोस्रो चरणमा कायाको अर्को प्रेमीसँगको सम्बन्ध प्रस्तुत गरिएको छ । काया विवाहित पुरुषसँग प्रेममा लिप्त भएकी नारी पात्र हो भन्ने देखाइएको छ, जो प्रेमीको इशारामा चलिरहेकी हुन्छे । प्रेमीबाट अनेकौँ शारीरिक र मानसिक यातना पाए पनि प्रेमका मीठा शब्दले फेरि बदलिने उसको स्वभाव देखिन्छ । ऊ प्रेममा चुर्लुम्म डुबेको देखिन्छ ।

त्यसैले यस उपन्यासले परपुरुषसँगको प्रेममा फसेकी काया दोस्रो दर्जाकी महिला बनेर बस्नुको मनोविज्ञान, सामाजिक दबाब र मानसिक पीडालाई गहिराइका साथ उजागर गरेको छ । शारीरिक र मानसिक वेदनाभन्दा पनि आत्मसम्मान र आत्मपरिवर्तनलाई मूल मूल्यका रूपमा स्थापित गर्नु नै यस कृतिको विशेषता हो । यही अर्थमा “कायाकल्प” केवल प्रेमकथा मात्र नभई आत्मबोधको कथा हो ।

म कुनै कुशल वा व्यवसायिक समालोचक होइन । समालोचना गर्न पनि जान्दिनँ । तर म एक शुद्ध पाठक हुँ, जसले किताब पढिसकेपछि आफूलाई लागेका कुरा लेख्न मन पराउँछु । त्यसैले “कायाकल्प” पढेर मलाई लागेका अनुभूति यहाँ प्रस्तुत गर्दैछु । कायाकल्प पल्टाएपछि शुरुका संवाद—लेखक स्वयं र ‘मन’ पात्रबीचका सम्बदभन्दा पनि क्रमशः कथा यति रोचक बन्दै गयो कि पुस्तक भुइँमा राख्न मन लागेन ।

भाषाशैली सरल, सरस र प्रवाहमय छ । साहित्यिक सौन्दर्य र सहज अभिव्यक्तिको संयोजनले उपन्यासलाई अन्तिम पृष्ठसम्म रोचक बनाइराखेको छ । स्वास्थ्यकर्मी पात्रको प्रयोगले कथालाई यथार्थपरक बनाएको छ भने नारी जीवनका सूक्ष्म संवेदनाहरूलाई सजीव रूपमा उतारिएको छ । आफू पनि स्वास्थ्यकर्मी भएकाले स्वास्थ्यसम्बन्धी शब्द बुझ्न मलाई कठिन भएन। यद्यपि उपन्यासको अन्त्यतिर आउने केही पात्र र घटनाक्रमले संरचनागत प्रश्न उठाउने ठाउँ पनि दिन्छन् ।

अर्को मलाई खट्केको कुरा के हो भने—एक आत्मनिर्भर नर्सले प्रेमीबाट यति धेरै यातना सहनुपर्ने अवस्था कति यथार्थपरक होला ? पहिलो प्रेमकथा अधुरो र अपूरो किन रह्यो ? – यस्तै अरु कतिपय प्रसङ्गहरू कथामा अनिवार्य थिए कि थिएनन् भन्ने जिज्ञासा पाठकमा रहिरहन्छ । पहिलो प्रेमकथाको अपूर्ण अन्त्य र कायाको दीर्घ सहनशीलता पनि आलोचनात्मक दृष्टिले विचारयोग्य पक्ष हुन् । यी सबै प्रश्नहरूले पुस्तक पढिसकेपछि मेरो मनमा अनेक सोचहरू घुमाइरहे । शायद यही कारणले यो पुस्तक “पढिरहूँ, सोचिरहूँ” लाग्ने कृति बनेको हुने दुईमन नहोला ।

करिब २९४ पृष्ठको यो कृति, लेखकले ममतामयी आमालाई समर्पण गर्नुभएको छ । अन्तका केही पृष्ठहरूमा लेखकले बिस्तृतमा यो कृति कसरी लेखियो ? र सहयोगी हातहरूका बारे सुन्दर “आभार” पढ्न पाइन्छ । लेखक कल्पना बान्तवाको यो पहिलो उपन्यास भए पनि भाषिक पकड, विषयवस्तुको गम्भीरता र भावनात्मक प्रस्तुति प्रशंसनीय छ । यसरी नै कलम निरन्तर चलिरहेमा उहाँ नेपाली साहित्य क्षेत्रमा एक सशक्त नारी हस्ताक्षरका रूपमा स्थापित हुनुहुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।

व्यक्तिगत रूपमा लेखकसँगको चिनजानले यस कृतिलाई अझ आत्मीय बनाएको छ । लेखकलाई मैले साहित्यकारभन्दा पहिले एक स्वास्थ्यकर्मीका रूपमा चिनेकी हुँ । एउटै नर्सिङ कलेजको होस्टेल, एउटै अस्पताल र एउटै नर्सिङ क्वाटरमा बिताएका दिनहरूले हाम्रो मित्रता राम्रो थियो । त्यतिबेला पनि उहाँको भाषा, साहित्य र संस्कृतिप्रतिको रुचि स्पष्ट देखिन्थ्यो । उहाँ प्रायः पुस्तक पढिरहनुहुन्थ्यो । नर्सिङ कलेजका दिनहरूमा हामी धेरै पटक सांस्कृतिक कार्यक्रममा सँगै सहभागी हुन्थ्यौँ । त्यसैले पुस्तकप्रेम र सांस्कृतिक गतिविधिप्रतिको सक्रियता आजको साहित्यिक यात्राको आधार बनेको देखिन्छ ।

विदेशमा बसोबासका कारण लामो समय सम्पर्क टुटे पनि सामाजिक सञ्जालमार्फत उहाँका कथा र कविता पढ्ने अवसर पाएँ । ती रचनामार्फत उहाँ एक सक्षम र संवेदनशील लेखक हुनुहुन्छ भन्ने पुष्टि भयो । यदि तपाईंले “कायाकल्प” पढ्नुभएको छैन भने, यो उपन्यास एक पटक अवश्य पढ्न योग्य कृति हो । नारी मनोविज्ञान, प्रेम, पीडा र आत्मबोधको संयोजनले यस कृतिलाई समकालीन नेपाली साहित्यमा उल्लेखनीय स्थान दिन्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.