‘साहित्यपोस्ट काव्य पुरस्कार – २०८२’ का लागि तीन काव्य कृतिको अन्तिम सूची घोषणा भइसकेको छ । यो पुरस्कारको प्रायोजन कवि तथा गीतकार उत्तम भौकाजीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट तीन कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य “साहित्यपोस्ट काव्य पुरस्कार”लाई लिएर नवोदित लेखक/कविहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । प्रस्तुत छ, उत्कृष्ट तीनमा छनोट भएको कृति ‘एकदिन मानिसहरू फर्किनेछन्‘का स्रष्टा दोस्ताजसँगको संवाद:
===
तपाईंको पहिलो कृति कवितासङ्ग्रह ‘एकदिन मानिसहरू फर्किनेछन्’ साहित्यपोस्ट काव्य पुरस्कारको अन्तिम सूचीमा छनौट भयो । कस्तो महसूस गरिरहनुभएको छ ?
कहीँ हराएको थिएँ, कहीँ भेटिएँ । औसत महसुस भइरहेको छ ।
साहित्यपोस्ट काव्य पुरस्कारको अन्तिम सूचीमा छनोट गर्नुभएकोमा साहित्यपोस्ट परिवारलाई धन्यवाद ।
कवितामा कतै तपाईं आफ्नै विरुद्ध उभिनुभएको छ, कतै शासक र समाजका विरुद्धमा । आफ्ना कविता र आफ्नो जीवनमा के कति समानता र भिन्नता पाउनुहुन्छ ?
यहाँ मानिस, मानिस भइकन पनि मानिस जस्ता छैनन् ।
तसर्थ, म एकदिन मानिसहरू फर्खिनेछन् भनीकन पर्खिरहेको छु ।
त्यसैले हो कि, जताततै म विरुद्धै विरुद्धमा देखिएको ?
उसो त म स्वयंको विरुद्धमा छु ।
हे हे ………
कविता जीवनजस्तो नभई, जीवन कविताजस्तो,
एन्ड भाइस-भर्सा… !
ती मानिसहरू अहिले कहाँ छन्, जो एकदिन फर्किनेछन् ? उनीहरू फर्किने ‘त्यो एकदिन’ कहिले आउला ?
ती मानिसहरू अहिले गहिरो निद्रामा छन्, एकदिन पक्कै ब्युँझिनेछन् – छिट्टै ।
अन्तिम सूचीमा तपाईंको कृतिसहित उत्कृष्ट तीन काव्यकृति रहेका छन् । तपाईंले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी कवितायात्रामा के अर्थ राख्छ ? तपाईंले यो पुरस्कार जित्नुभयो भने प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?
पुरस्कार जित्नु वा नजित्नुले मेरो आगामी कवितायात्रामा कुनै फरक पार्ने छैन । म लेखिरहनेछु ।
अन्त्यमा, तपाईंका आगामी साहित्यिक योजनाहरू के के छन् ? बताइदिनुस् न ।
आउने दिनमा त्यस्ता कुनै योजनाहरू बनाएको छैन । शायद अर्को कविता-किताबमै या त्योभन्दा थोरै परको ब्रह्माण्डमा भेटिन्छु कि !?

