‘साहित्यपोस्ट काव्य पुरस्कार – २०८२’ का लागि तीन काव्य कृतिको अन्तिम सूची घोषणा भइसकेको छ । यो पुरस्कारको प्रायोजन कवि तथा गीतकार उत्तम भौकाजीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट तीन कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य “साहित्यपोस्ट काव्य पुरस्कार”लाई लिएर नवोदित लेखक/कविहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । प्रस्तुत छ, उत्कृष्ट तीनमा छनोट भएको कृति ‘ब्ल्याकहोलमा गीतहरू‘का स्रष्टा अस्मिता विष्टसँगको संवाद:
===
तपाईंको पहिलो कृति कवितासङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ साहित्यपोस्ट काव्य पुरस्कारको अन्तिम सूचीमा छनौट भयो । कस्तो महसूस गरिरहनुभएको छ ?
म अत्यन्त खुशी महसूस गरिरहेकी छु । पुरस्कारको अन्तिम सूचीमा पर्नु भनेको आफ्नो सिर्जना र श्रमको कदर हुनु हो, जुन कुनै पनि सर्जकका लागि ठूलो हौसला र प्रेरणाको विषय हो । मेरा लागि पुरस्कार भनेको केवल सम्मान मात्र होइन, सिर्जनात्मक यात्रामा अगाडि बढिरहन प्रेरित गर्ने ऊर्जा पनि हो । कुनै पनि सर्जकका लागि पुरस्कार आमाले हौसलास्वरूप निधारमा अंकित गरिदिएको चुम्बनजस्तै हुन्छ- हृदयलाई प्रफुल्लित बनाउने, आत्मविश्वास जगाउने र अझ राम्रो सिर्जना गर्न उत्प्रेरित गर्ने अमूल्य अनुभूति ।
ब्ल्याकहोलमा हरेक कुराको अस्तित्व समाप्त हुन्छ भनिन्छ । तपाईंको कृतिको शीर्षक नै ‘ब्याकहोलमा गीतहरू’ रहेको छ । कृतिको शीर्षककै बारेमा थोरै बताइदिनुस् न ?
कवितामा प्रयोग गरिएका शब्दहरूको अर्थ सधैं सोझो र शाब्दिक हुँदैन; तिनले प्रायः प्रतीकात्मक अर्थ बोकेका हुन्छन् । मेरो कविता सङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ शीर्षकले पनि त्यस्तै प्रतीकात्मक अर्थ वहन गरेको छ । यहाँ ‘ब्ल्याकहोल’ केवल खगोलीय वस्तु होइन, समय, समाज र जीवनका ती अन्धकारमय आयामहरूको प्रतीक हो, जसले सम्बन्धहरू, अनुभूतिहरू, सपनाहरू र मानिसका अनेक आकांक्षाहरूलाई आफूतिर आकर्षित गरेर विलीन गरिदिन्छ ।
कहिलेकाहीँ हामीले बाँचेका सम्बन्ध, भोगाइ र अनुभवहरू पनि समयसँगै तारा झैँ रूपान्तरित हुँदै ब्ल्याकहोलमा हराए झैँ लाग्छन्, जहाँबाट फर्केर आउनु असम्भवजस्तै हुन्छ । आजको समाजमा आशा, संवेदना र आवाजहरू पनि यस्तै कुनै ब्ल्याकहोलमा छिरेर हराइरहेका छन् । लाग्छ – अन्याय, विछोड, वैदेशिक रोजगारीका पीडा, मानवताको क्रमिक क्षय र मानिसका असंख्य दुःखहरू विरुद्ध खडा हुने मानव मन पनि मानौँ यही ब्ल्याकहोलको गर्तमा विलीन भइरहेका छन् ।
तर यति हुँदाहुँदै पनि, यही अन्धकारभित्र – जहाँ सम्पूर्ण आशा र सम्भावनाको अन्त्य हुन्छ – त्यहीँ एउटा कविले आशाको उज्यालो गीतहरू जन्माउन सक्छ । दबिएका आवाज, नबोलिएका अनुभूति र भित्री संघर्षहरूलाई कविताका रूपमा गुन्जाउन सक्छ । त्यसैले ‘ब्ल्याकहोलमा गीतहरू’ शीर्षकले अन्धकारभित्र पनि सिर्जनशीलता, चेतना र आशाको सम्भावना बाँकी रहन्छ भन्ने विश्वास व्यक्त गर्छ । साथै, यी कविताहरूले आफ्नो समय, समाज र त्यसका पीडालाई गुरुत्वाकर्षण झैँ आफूतिर तानेर आत्मसात् गरेका छन् भन्ने अर्थमा पनि यो शीर्षकलाई ग्रहण गर्न सकिन्छ ।
तपाईं साहित्यकै उप–प्राध्यापक पनि, छोटोमा तपाईंका कविताका शक्ति र सीमितता केलाइदिनुस् न ।
सिर्जना र सन्तान उस्तै हुन् भन्ने गरिन्छ । एउटा उखान पनि छ- ‘बालीनाली राम्रो अर्काको, छोराछोरी राम्रो आफ्नो ।’ त्यसैले आफ्नै कृतिका शक्ति र सीमितताबारे आफैंले निष्पक्ष मूल्याङ्कन गर्नु सजिलो काम होइन ।
तथापि, साहित्यको विद्यार्थी र पाठकका रूपमा हेर्दा मेरा कविताको प्रमुख शक्ति तिनमा प्रयोग भएका नवीन विम्ब, प्रतीक र रूपकहरू हुन् भन्ने लाग्छ । यी कविताले मैले बाँचेको समय, समाज र परिवेशलाई प्रतिविम्बित गरेका छन् । मानिसका अनुभूति, पीडा, संघर्ष र आशाका कथाहरूलाई स्पर्श गर्ने प्रयास गरेका छन् । मेरा कविता कुनै निश्चित साहित्यिक बजार वा प्रचलित रुचिलाई ध्यानमा राखेर बनाइएका ‘स्विमिङ पुल’ जस्ता होइनन्; बरु जीवनका अनुभवबाट स्वाभाविक रूपमा बगेका खोलाजस्ता हुन् ।
सीमितताका कुरा गर्दा, यही विम्बात्मकता, प्रतीकात्मकता र रूपकको घनत्वका कारण केही कविता आम पाठकका लागि जटिल वा कठीन लाग्न सक्छन् । कविताको अर्थ तह–तहमा खुल्ने भएकाले तत्काल ग्रहण गर्न सजिलो नहुन सक्छ। साथै, शीर्षकदेखि केही कविताहरूमा अङ्ग्रेजी शब्दहरूको प्रयोग गरिएको छ, जुन सबै पाठकलाई सहज वा स्वीकार्य नलाग्न सक्छ। अर्को कुरा, यो सङ्ग्रह कुनै एक मुद्दा वा विषयमा केन्द्रित छैन; यसमा जीवनका विविध अनुभव र सरोकारहरू समेटिएका छन् । त्यसैले कुनै विशेष विषयमाथि केन्द्रित कृति अपेक्षा गर्ने पाठकलाई यसले केही अपूर्णताको अनुभूति गराउन पनि सक्छ ।
अन्तिम सूचीमा तपाईंको कृतिसहित उत्कृष्ट तीन काव्यकृति रहेका छन् । तपाईंले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी कवितायात्रामा के अर्थ राख्छ ? तपाईंले यो पुरस्कार जित्नुभयो भने प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?
यो पुरस्कार जित्नु वा नजित्नुले मेरो आगामी कवितायात्रामा केही न केही अर्थ अवश्य राख्छ । विशेषगरी म जस्तो नवप्रवेशी सर्जकका लागि यस्तो सम्मानले साहित्यप्रेमी पाठकबीच मेरा सिर्जनाप्रति जिज्ञासा र चासो बढाउन सक्छ, जुन आफैंमा खुशीको कुरा हो । पुरस्कार भनेको केवल आर्थिक उपलब्धि मात्र होइन, सिर्जनाप्रतिको विश्वास र सम्मान पनि हो । त्यसैले यदि यो सम्मान प्राप्त भयो भने त्यसले मलाई आगामी सिर्जनात्मक यात्रामा अझ जिम्मेवार, प्रतिबद्ध र सक्रिय बन्न प्रेरणा दिनेछ ।
तर म सिर्जना कुनै पुरस्कार वा प्रतिफलको अपेक्षाले गर्दिनँ । लेखन मेरा लागि आत्मअभिव्यक्ति र जीवनप्रतिको उत्तरदायित्वको एउटा माध्यम हो । त्यसैले पुरस्कार प्राप्त नभए पनि मेरो लेखनयात्रा र सिर्जनाप्रतिको प्रतिबद्धतामा कुनै कमी आउने छैन । अन्तिम सूचीमा रहेका सबै कृतिहरू उत्कृष्ट छन्, र हामी सबै एउटै साहित्यिक परिवारका सदस्य हौँ । हामीमध्ये जसले यो पुरस्कार प्राप्त गरे पनि त्यो नेपाली साहित्यकै उपलब्धि हुनेछ । त्यसैले यदि मैले पुरस्कार प्राप्त गरिनँ भने पनि आफ्नै परिवारको सदस्यले सम्मान पाएको अनुभूतिसहित खुशी मनाउनेछु । र, यदि पुरस्कारसँग जोडिएको आर्थिक राशि प्राप्त भयो भने – पुस्तक खरिद गर्छु अनि यात्राका लागि खर्च गर्छु ।
अन्त्यमा, तपाईंका आगामी साहित्यिक योजनाहरू के के छन् ? बताइदिनुस् न ।
मेरो आगामी साहित्यिक योजनाअन्तर्गत अर्को कविता सङ्ग्रह र एउटा निबन्ध सङ्ग्रह प्रकाशन गर्ने तयारीमा छु । यसका साथै अध्ययन, अनुसन्धान र सिर्जनात्मक अभ्यासलाई निरन्तरता दिँदै साहित्यमार्फत समय, समाज र मानिसका अनुभूतिहरूसँग संवाद गरिरहने मेरो योजना छ । आगामी दिनमा अझ परिपक्व र जिम्मेवार सिर्जनाका साथ पाठकमाझ उपस्थित हुने प्रयास रहनेछ ।

