साहित्यपोस्ट डट कम

‘काव्य पुरस्कार २०८२’ संवाद : अनाम प्रेमिका

‘काव्य पुरस्कार २०८२’ संवाद : अनाम प्रेमिका

‘साहित्यपोस्ट काव्य पुरस्कार – २०८२’ का लागि तीन काव्य कृतिको अन्तिम सूची घोषणा भइसकेको छ । यो पुरस्कारको प्रायोजन कवि तथा गीतकार उत्तम भौकाजीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट तीन कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य “साहित्यपोस्ट काव्य पुरस्कार”लाई लिएर नवोदित लेखक/कविहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । प्रस्तुत छ, उत्कृष्ट तीनमा छनोट भएको कृति ‘अनाम प्रेमिका‘का स्रष्टा राकेश क्रान्तिकारीसँगको संवाद:

===

तपाईंको पहिलो कृति कवितासंग्रह ‘अनाम प्रेमिका’ साहित्यपोस्ट काव्य पुरस्कारको अन्तिम सूचीमा छनौट भयो । कस्तो महसूस गरिरहनुभएको छ ?

एकदमै खुशी छु ।

तपाईं नाम ‘क्रान्तिकारी’ र संग्रहको नाम ‘अनाम प्रेमिका’मा ठूलो भिन्नता देखिन्छ । आफ्ना कविता र आफ्नो जीवनमा चाहिँ के कति समानता र भिन्नता पाउनुहुन्छ ?

म प्राय: आफू जे छु त्यही देखाउने प्रयास गर्छु । म आफूलाई ढोंगी बन्नदेखि जोगाउन खोज्छु र खोज्दै गर्नेछु । मैले लेखेका कविताहरूमा मभित्र र मबाहिर भएका घटना उपघटनाहरूको एउटा सानो थोपो मात्र हो । मेरा कविताहरूले बोकेका विचारहरूमा म तटस्थ छु ।

एक क्रान्तिकारी कविले कस्तो प्रेम र प्रेमिकाको कल्पना गर्दो रहेछ ? के केमा प्रेम खोज्दो र भेट्दो रहेछ ?

अचेल मानवभित्र प्रेमको मुहान सुकिसकेको छ । हामी केही सीमित घटनालाई प्रेम भनेर परिभाषित गर्न खोज्छौं । हामी एक युवक र युवतीबीचको आकर्षणलाई प्रेम भनेर परिभाषित गर्दैछौं । मलाई लाग्छ, जबसम्म मानव भन्ने प्राणीले यो पृथ्वीको हरेक चिजलाई प्रेम गर्दैन तबसम्म प्रेम भन्ने कुरा भ्रम मात्र हुनेछ । वास्तवमा म मसिना कुराहरूलाई प्रेम गर्न खोज्ने मान्छेमा पर्छु ।

अन्तिम सूचीमा तपाईंको कृतिसहित उत्कृष्ट तीन काव्यकृति रहेका छन् । तपाईंले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी कवितायात्रामा के अर्थ राख्छ ? तपाईंले यो पुरस्कार जित्नुभयो भने प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

यो पुरस्कार जित्नु नजित्नुले मेरो कवितायात्रा थोरै फरक भने पार्छ । अलि बढी राम्रा कविता लेख्नुपर्छ, पाठकलाई सुन्दर तरिकाले कवितालाई श्रवण गराउनको निम्ति केही मिहिनेत अझै गर्न शक्ति दिन्छ । पुरस्कार जितिगए भने केही पैसाको आफूलाई मन पर्ने किताब किन्छु केही पैसा घर खर्चलाई राख्छु ।

अन्त्यमा, तपाईंका आगामी साहित्यिक योजनाहरु के के छन् ? बताइदिनुस् न ।

आगामी दिनमा होस् या हिजोको दिनमा, म साहित्यभित्रै रमाउने मान्छे हुँ । कविता लेख्न मन पराउने मान्छे परेँ, त्यसैले शायद कवितै लेख्ने छु । मौका मिले किताब पनि आउला तर अलिक समय लाग्ला ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.