कविता कुनै कारखानामा उत्पादन गरिने वस्तु होइन, न त कुनै गणितीय सूत्रअनुसार निर्माण गरिने संरचना नै हो । कविता मानवीय चेतना, संवेदना, कल्पना र अनुभूतिको जटिल अन्तरक्रियाबाट जन्मिने सिर्जना हो । यही कारणले कविता सदैव नियम र स्तन्त्रता, व्यवस्था र अव्यवस्था, अनुशासन र विद्रोहबीचको तनावमा विकसित हुँदै आएको छ । कविताको इतिहास हेर्दा हरेक नयाँ काव्य आन्दोलनले स्थापित मान्यता, शैली र संरचनाविरुद्ध प्रश्न उठाएको देखिन्छ । यही प्रश्न, असहमति र परम्परागत सीमाको अतिक्रमणलाई “सिर्जनशील अराजकता” को रूपमा बुझ्न सकिन्छ ।
अराजकता भन्ने शब्द सामान्यतः अव्यवस्था, नियन्त्रणको अभाव वा विघटनसँग जोडिन्छ । तर साहित्यिक सन्दर्भमा अराजकता सधैं नकारात्मक हुँदैन । बरु यसले स्थापित संरचनालाई चुनौती दिने, नयाँ सम्भावनाको खोजी गर्ने र अभिव्यक्तिको नयाँ ढोका खोल्ने कार्य गर्छ ।
“सिर्जनशील अराजकता” कविता लेखनमा यस्तो स्वतन्त्रता हो, जसले परम्परागत नियमलाई मात्र पछ्याउँदैन, आवश्यक परे ती नियमलाई भत्काएर नयाँ सौन्दर्यशास्त्र निर्माण गर्छ । कविताको प्रारम्भिक स्वरूपमा छन्द, लय, अलङ्कार र भाषिक अनुशासनको विशेष महत्त्व थियो । कविलाई निर्धारित सीमाभित्र रहेर सौन्दर्य निर्माणको अपेक्षा गरिन्थ्यो ।
तर समय परिवर्तनसँगै कविता क्षेत्रले पनि आफ्नो स्वरूप बदल्दै गयो । आधुनिकता र उत्तरआधुनिकताले कवितालाई कठोर संरचनाबाट मुक्त गर्यो । मुक्तछन्दको विकास, भाषिक प्रयोगको विस्तार, प्रतीक र विम्बको नयाँ प्रयोग तथा व्यक्तिगत अनुभवको केन्द्रीयताले कवितामा सिर्जनशील अराजकताको प्रवेश गरायो । यसले कविलाई केवल स्थापित बाटोमा मात्र हिँड्ने होइन, आफ्नै बाटो निर्माण गर्ने अवसर प्रदान गर्यो ।
सिर्जनशील अराजकताको एउटा महत्त्वपूर्ण पक्ष भाषा हो । साामान्य भाषाले निश्चित अर्थ दिन्छ, तर कविताको भाषाले प्रायः अर्थलाई विस्तार गर्छ । कविले शब्दहरूलाई नयाँ सन्दर्भमा प्रयोग गर्न सक्छ, व्याकरणिक नियमलाई मोड्न सक्छ र असामान्य शब्द संयोजनमार्फत नयाँ अनुभूति निर्माण गर्न सक्छ ।
कतिपय अवस्थामा कविता पढ्दा अर्थ तुरुन्त स्पष्ट नहुनु पनि सिर्जनशील अराजकताको परिणाम हो । यस्तो अराजकता—अर्थको विनाश होइन, अर्थको बहुलता हो । पाठकले एउटै रचना कविताबाट फरक—फरक अर्थ निकाल्न सक्नु कविताको शक्ति हो ।
सिर्जनशील अराजकता विषयवस्तुमा पनि प्रकट हुन्छ । परम्परागत कविताहरूमा प्रेम, प्रकृति, वीरता वा अध्यात्म प्रमुख विषय हुन्थे । तर आधुनिक कविताले छायामा परेका विषयहरूलाई केन्द्रमा ल्यायो । श्रमिकको पीडा, महिला अनुभव, दलित चेतना, युद्ध, विस्थापन, मानसिक तनाव, अस्तित्वको संकट र सामाजिक असामानता जस्ता विषयहरू कवितामा प्रवेश गरे । यसले कविताको दायरा फराकिलो मात्र बनाएन, समाजका जटिल यथार्थहरूलाई अभिव्यक्त गर्ने नयाँ माध्यम बनायो ।
यद्यपि सिर्जनशील अराजकता अर्थपूर्ण अव्यवस्था भने होइन । यदि कविता केवल नियमविहीन शब्दहरूको थुप्रो मात्र बन्यो भने त्यसले कलात्मक प्रभाव सिर्जना गर्न सक्दैन । त्यसैले सिर्जनशील अराजकता र निरर्थक अव्यवस्थाबीच स्पष्ट भिन्नता छ । सिर्जनशील अराजकतामा बाह्य संरचना भत्किए पनि आन्तरिक संवेदनात्मक एकता रहन्छ । कविता भित्र कुनै न कुनै प्रकारको भावनात्मक, बौद्धिक वा सौन्दर्यात्मक सम्बन्ध कायम हुन्छ । यही सम्बन्धले कवितालाई कविता बनाउँछ ।
विश्व साहित्यका धेरै महत्त्वपूर्ण कविहरू सिर्जनशील अराजकताको उदाहरण हुन् ।
Walt Whitman ले परम्परागत छन्दलाई चुनौती दिएर मुक्तछन्दलाई प्रतिष्ठित बनाए । T.S. Eliot ले विखण्डित संरचना र बहुअर्थी प्रतीकहरूको प्रयोग गरे । नेपाली साहित्यमा भूपी शेरचन, हरिभक्त कटुवाल, मोहन कोइराला, ईश्वरवल्लभ, श्रवण मुकारुङ, भुपाल राई, राजन मुकारुङ, उपेन्द्र सुब्बा, स्वप्निल स्मृति लगायतका अन्य नयाँ कविहरूले परम्परागत काव्यधाराभन्दा फरक प्रयोग गर्दै कवितालाई नयाँ उचाइमा पुर्याए । उनीहरूको काव्ययात्राले देखाउँछ कि नवीनता प्रायः स्थापित मान्यतासँगको सङ्घर्षबाट जन्मिन्छ ।
आजको डिजिटल युगमा सिर्जनशील अराजकताको स्वरूप अझ फराकिलो बनेको छ । सामाजिक सञ्जाल, ब्लग र अनलाइन पत्रिकाले कवितालाई प्रकाशन संस्थाको नियन्त्रणबाट धेरै हदसम्म मुक्त गरेका छन् । अब जो कोहीले आफ्नो कविता सार्वजनिक गर्न सक्छ । यसले अभिव्यक्तिको लोकतन्त्रीकरण गरेको छ । तर यही स्वतन्त्रतासँगै गुणस्तर, उत्तरदायित्व र साहित्यिक मूल्यको प्रश्न पनि उठेको छ । त्यसैले सिर्जनशील अराजकता स्वतन्त्रताको अवसर मात्र होइन; सिर्जनाकर्ताको जिम्मेवारी पनि हो ।
कविता अन्ततः निश्चित उत्तर दिने विधा होइन; यसले प्रश्न जन्माउँछ । स्थापित सत्यलाई पुनः परीक्षण गर्न बाध्य बनाउँछ । जब कविले परम्परागत सीमा तोडेर नयाँ दृष्टिकोण प्रस्तुत गर्छन्, तब सिर्जनशील अराजकता जन्मिन्छ । यही अराजकताले कवितालाई जीवित, समयानुकूल बनाइरहेको हुन्छ । यदि साहित्यमा कुनै प्रकारको अराजकता नहुने हो भने नयाँ शैली, नयाँ विचार र नयाँ सौन्दर्यबोधको विकास सम्भव हुँदैन । यसर्थ, कवितामा सिर्जनशील अराजकता विनासको प्रक्रिया नभई पुनर्निमाणको प्रक्रिया हो । यसले पुराना संरचनालाई प्रश्न गर्दै नयाँ सम्भावनाको खोजी गर्छ ।
कविता जति स्वतन्त्र हुन्छ, त्यति नै नयाँ अनुभव र नयाँ सत्यको खोजी गर्न सक्षम हुन्छ । सिर्जनशील अराजकता कविताको शत्रु होइन, बरु त्यसको जीवन्तता, नवीनता र विकासको प्रमुख स्रोत हो । यही अराजकताभित्रबाट कविताले आफ्नो नयाँ अनुहार भेट्छ र मानव अनुभूतिको गहिरो संसारलाई उजागर गर्दै अघि बढ्छ ।
नेपाली साहित्यमा सिर्जनशील अराजकताः
नेपाली साहित्यमा “सिर्जनशील अराजकता’’ केवल एउटा शब्द वा साहित्यिक नारा मात्र होइन, यो स्थापित साहित्यिक संरचना, भाषिक केन्द्रियता र सांस्कृतिक प्रभुत्वविरुद्ध उठेको एउटा वैचारिक हस्तक्षेप पनि हो ।
विशेषतः २०६० को दशकतिर उपेन्द्र सुब्बा, हाङयुग अज्ञात र राजन मुकारुङ लगायतका स्रष्टाहरूले अघि सारेको “सिर्जनशील अराजकता” अभियानले नेपाली साहित्यमा नयाँ बहस जन्माएको थियो । यस अभियानले साहित्यमा विद्यमान स्थापित केन्द्र, मान्यता, भाषिक अनुशासन र सौन्दर्यबोधलाई चुनौती दिँदै बहुलता, स्थानीयता, पहिचान र वैकल्पिक अभिव्यक्तिको पक्षमा आवाज उठाएको थियो ।
नेपाली साहित्य लामो समयसम्म शहरकेन्द्रित चेतना, खस—नेपाली भाषिक प्रभुत्व र निश्चित सांस्कृतिक दृष्टिकोणबाट निर्देशित हुँदै आएको आरोप थियो ।
साहित्यमा उपस्थित पात्र, परिवेश, भाषा र सौन्दर्यबोधले देशको सम्पूर्ण बहुलतालाई प्रतिनिधित्व गर्न नसकेको अनुभूति धेरै स्रष्टाहरूमा थियो । यही पृष्ठभूमिमा सिर्जनशील अराजकता अभियानको जन्म भएको मान्न सकिन्छ ।
नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक समाज भएकाले साहित्य पनि त्यही विविधताको प्रतिनिधि हुनुपर्छ । त्यसैले उनीहरूले साहित्यिक संरचनाभित्र रहेको केन्द्रलाई प्रश्न गरे र सीमान्तमा रहेका आवाजहरूलाई केन्द्रमा ल्याउने प्रयास गरे ।
सिर्जनशील अराजकताको सबैभन्दा महत्त्वपूर्ण योगदान भाषिक प्रयोगमा देखिन्छ । नेपाली साहित्यमा लामो समयसम्म मानक नेपाली भाषालाई नै साहित्यिक भाषाको रूपमा स्वीकार गरियो । तर सिर्जनशील अराजकतावादीहरूले स्थानीय शब्द, मातृभाषाका अभिव्यक्ति, जनजीवनका बोली तथा सांस्कृतिक प्रतीकहरूलाई कविताको केन्द्रमा ल्याए । यसले भाषिक लोकतन्त्रको पक्षमा महत्त्वपूर्ण हस्तक्षेप गर्यो । भाषा केवल व्याकरणको विषय नभई अनुभव र अस्तित्वको विषय पनि हो भन्ने चेतना यस आन्दोलनले स्थापित गर्न खोज्यो । राजन मुकारुङको कविता र उपन्यासहरूमा किराँती सांस्कृतिक चेतना, स्थानीय मिथक र सीमान्त अनुभवको सशक्त उपस्थिति पाइन्छ । हाङयुग अज्ञातका कविताहरूले स्थापित काव्यभाषा र संरचनालाई चुनौती दिँदै नयाँ विम्ब र प्रतीकहरूको प्रयोग गरेका छन् ।
तर सिर्जनशील अराजकता अभियानमाथि आलोचना पनि भएका छन् । केही समालोचकहरूले साहित्यिकभन्दा बढी राजनीतिक वा पहिचानवादी अभियानका रूपमा व्याख्या पनि गरेका थिए । उनीहरूको तर्कमा साहित्यको मूल्यांकन जातीय वा क्षेत्रीय पहिचानका आधारमा होइन, कलात्मक गुणका आधारमा हुनुपर्छ । कतिपयले अराजकताको नाममा साहित्यिक अनुशासन कमजोर हुने खतरा औँल्याएका छन् ।
यद्यपि यस्ता आलोचनाका बीच पनि यस अभियानले नेपाली साहित्यमा नयाँ बहस र नयाँ दृष्टिकोण भित्राएको तथ्य अस्वीकार गर्न सकिँदैन । यसले साहित्यलाई केन्द्रबाट परिधितर्फ हेर्ने दृष्टिकोण प्रदान गर्यो । यसले “को बोलिरहेको छ?”,“कसको अनुभव साहित्यमा प्रतिनिधित्व भएको छ?” र “कसको आवाज छुटिरहेको छ ?” जस्ता महत्त्वपूर्ण प्रश्नहरू उठायो । यी प्रश्नहरूले नेपाली साहित्यिक आलोचनालाई पनि नयाँ ढङ्गले सोच्न बाध्य बनायो ।
अन्त्यमा, कवितामा सिर्जनशील अराजकता कुनै अव्यवस्थित, नियमविहीन वा विनाशमुखी अवधारणा होइन, बरु स्थापित मान्यता, एकता केन्द्रीय सोच र एकरूपी सौन्दर्यबोधविरुद्ध उभिएको एउटा सिर्जनात्मक प्रतिवाद हो । यसले साहित्यलाई निश्चित साँघुरो परिभाषा र परम्परागत अनुशासनभित्र कैद गरेर राख्ने प्रवृत्तिलाई चुनौती दिँदै अभिव्यक्तिको स्वतन्त्रता, सांस्कृतिक बहुलता र अनुभवको विविधतालाई स्वीकार गर्न आग्रह गर्दछ । यसको मूल मर्म साहित्यिक संरचनाको ध्वंसमा होइन, नयाँ सम्भावनाको खोज र नयाँ सौन्दर्यचेतनाको निर्माणमा निहित रहेको छ ।
नेपाली साहित्यमा उपेन्द्र सुब्बा, हाङयुग अज्ञात र राजन मुकारुङले अघि सारेको सिर्जनशील अराजकताको अवधारणाले साहित्यिक विमर्शलाई नयाँ मोड दिएको छ । यसले केन्द्र र सीमान्तबीचको सम्बन्धलाई पुर्नविचार गर्न प्रेरित गर्नुका साथै साहित्यमा उपेक्षित भाषा, संस्कृति, भूगोल र पहिचानलाई सम्मानपूर्वक स्थान दिने प्रयत्न गरेको छ । यस अभियानले नेपाली साहित्यमा केवल नयाँ विषय र शैली मात्र थपेको छैन, साहित्यलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याएको छ । साहित्य कुनै निश्चित वर्ग, भाषा वा संस्कृतिको एकाधिकार होइन, बरु सम्पूर्ण समाजका विविध अनुभव र संवेदनाको साँझा अभिव्यक्ति हो भन्ने मान्यता यसले स्थापित गर्न खोजेको छ ।
यद्यपि सिर्जनशील अराजकतालाई लिएर विभिन्न कोणबाट आलोचना पनि भएका छन् । कतिपयले यसलाई साहित्यिकभन्दा बढी राजनीतिक वा पहिचानवादी अभियानका रूपमा व्याख्या गरेका छन् भने केहीले अराजकताको नाममा कलात्मक अनुशासन कमजोर हुने आशंका समेत व्यक्त गरेका छन् । तर विचार र दृष्टिकोणको विविधता नै साहित्यको जीवन्तता भएकाले यस्ता बहसहरूलाई पनि सिर्जनशील प्रक्रियाकै एउटा अङ्गका रूपमा लिन सकिन्छ । वास्तवमा कुनै पनि नयाँ साहित्यिक आन्दोलन विवाद र प्रतिरोधविना स्थापित भएको इतिहास विरलै भेटिन्छ ।
आजको विश्वव्यापीकरण, डिजिटल सञ्चार र बदलिँदो सामाजिक परिवेशमा सिर्जनशील अराजकताको सान्दर्भिकता अझ बढेर गएको छ । किनकी आज साहित्यले एकमात्र केन्द्रको भाषा बोल्दैन, यसले अनेक भूगोल, अनेक संस्कृति, अनेक पहिचान र अनेक संवेदनाका आवाजहरूलाई समेट्न खोजिरहेको छ । यस्तो अवस्थामा सिर्जनशील अराजकताको अवधारणाले साहित्यलाई स्थिरता होइन, बहुलता र मौनता होइन, बहुवाणीको दिशामा उन्मुख गराउँछ ।
त्यसैले, सिर्जनशील अराजकता नेपाली साहित्यको इतिहासमा केवल एउटा अभियान वा क्षेणिक बहस मात्र नभई नयाँ सौन्दर्यबोध, वैचारिक स्वतन्त्रता र बहुसांस्कृतिक चेतनाको खोजसँग जोडिएको एउटा महत्त्वपूर्ण साहित्यिक हस्तक्षेपको रूपमा मूल्यांकन गर्न सकिन्छ ।
जबसम्म साहित्यले नयाँ प्रश्न उठाइरहन्छ, पुराना सीमालाई चुनौती दिइरहन्छ र मानव अनुभवका नयाँ आयाम खोजिरहन्छ, तबसम्म सिर्जनशील अराजकताको आवश्यक्ता र औचित्य रहन्छ ।


