साहित्यपोस्ट डट कम

कविता : युद्ध विभीषिकाको नाङ्गो नाच

कविता : युद्ध विभीषिकाको नाङ्गो नाच

हे युद्ध विभीषिका !

तँ उन्मुक्त हाँस्दै छस्

दुनियाँको आँगनमा सन्त्रास फिजाउँदै

त्रासदीको गीत गाउँछौ

गोलार्धको गगनमा युद्धास्त्रका बाजा बजाउँदै ।

हे युद्ध विभीषिका !

तैँले गाउने गीतहरू

कलमले होइन, हतियारले लेखिन्छन्

मञ्चमा होइन, रणमैदानमा गुञ्जिन्छन्

तेरो गीत सुनेर मानिसहरू आत्तिन्छन् ।

तेरो गीतमा सङ्गीत बनेको छ

अत्याधुनिक अस्त्र–शस्त्रको झङ्कार

युद्ध–दावानलको फुङ्कार, निर्दयताको हुङ्कार

अस्त्राहतको आर्तनाद, निरीहको चीत्कार

शक्तिमत्त बौलाहाहरूको नाङ्गो नाचमा

मानवताको हुँदै छ बर्बर बलात्कार ।

हे युद्ध विभीषिका !

तेरा खित्काहरू बिजुली बनेर मान्छेलाई झस्काउँछन्

तेरा अट्टाहासहरू चट्याङ बनेर मान्छेलाई अत्याउँछन्

तेरो ताण्डव नृत्यको ताल, काल बनेर मान्छेलाई तर्साउँछ

पानी बर्साउने बादलले आज गोला बर्साएर थर्काउँछ ।

तेरो भयानक बारुदनादमा

दबेको दबै भयो शान्तिको शङ्खनाद

बेअसर भयो सर्वशक्तिमान ईश्वरको पुकार

बेखबर रह्यो मेहरबान अल्लाहको चमत्कार ।

हे युद्ध विभीषिका !

तँ अन्न खाँदैनस्, फरक पर्दैन तँलाई इन्धनको नाकाबन्दीमा

तँ पानी पिउँदैनस्, आगो लगाइस् समुद्रको पानीमा ।

गोला पाक्छ तेरो लागि हतियारको भट्टीमा

करोडौँको चुलो निभ्यो, हाहाकार छ सहर–बस्तीमा ।

करोडौँको चुलो निभ्यो, हाहाकार छ सहर–बस्तीमा ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.