हे युद्ध विभीषिका !
तँ उन्मुक्त हाँस्दै छस्
दुनियाँको आँगनमा सन्त्रास फिजाउँदै
त्रासदीको गीत गाउँछौ
गोलार्धको गगनमा युद्धास्त्रका बाजा बजाउँदै ।
हे युद्ध विभीषिका !
तैँले गाउने गीतहरू
कलमले होइन, हतियारले लेखिन्छन्
मञ्चमा होइन, रणमैदानमा गुञ्जिन्छन्
तेरो गीत सुनेर मानिसहरू आत्तिन्छन् ।
तेरो गीतमा सङ्गीत बनेको छ
अत्याधुनिक अस्त्र–शस्त्रको झङ्कार
युद्ध–दावानलको फुङ्कार, निर्दयताको हुङ्कार
अस्त्राहतको आर्तनाद, निरीहको चीत्कार
शक्तिमत्त बौलाहाहरूको नाङ्गो नाचमा
मानवताको हुँदै छ बर्बर बलात्कार ।
हे युद्ध विभीषिका !
तेरा खित्काहरू बिजुली बनेर मान्छेलाई झस्काउँछन्
तेरा अट्टाहासहरू चट्याङ बनेर मान्छेलाई अत्याउँछन्
तेरो ताण्डव नृत्यको ताल, काल बनेर मान्छेलाई तर्साउँछ
पानी बर्साउने बादलले आज गोला बर्साएर थर्काउँछ ।
तेरो भयानक बारुदनादमा
दबेको दबै भयो शान्तिको शङ्खनाद
बेअसर भयो सर्वशक्तिमान ईश्वरको पुकार
बेखबर रह्यो मेहरबान अल्लाहको चमत्कार ।
हे युद्ध विभीषिका !
तँ अन्न खाँदैनस्, फरक पर्दैन तँलाई इन्धनको नाकाबन्दीमा
तँ पानी पिउँदैनस्, आगो लगाइस् समुद्रको पानीमा ।
गोला पाक्छ तेरो लागि हतियारको भट्टीमा
करोडौँको चुलो निभ्यो, हाहाकार छ सहर–बस्तीमा ।
करोडौँको चुलो निभ्यो, हाहाकार छ सहर–बस्तीमा ।

