जब यात्रा तय गरियो
बिसाएर घरको आँगन
चढेँ म गाडीमा
स्वप्नहरूको भारी बोकी
लागेँ म नयाँ गन्तव्यमा ।
घुमाउरा सडकहरू रमाइला लाग्थे
झ्यालबाट हेर्दा दृश्यहरू कविता बन्थे ।
हावा परेड खेल्थ्यो मेरो कपालसँग
कहिले सिरकझैँ ढाक्थ्यो मेरो अनुहार
कहिले गीत गाएर हावाको सङ्गीतमा
सास फेर्न सजिलो बनाउँथ्यो ।
कुनैकुनै मोडमा मन डराउँथ्यो पनि
जहाँ शरीरलाई असहज बनाउँथ्यो
बटुवाहरूको भिडमा हराउँछु कि भनी ।
टायरको घर्षणमा
लुकेका थिए स्वरहरू
एक्लोपन, उत्साह
र भविष्यका रहरहरू ।
चालकको अनुहारमा
जीवनको व्यथा पढिन्थ्यो
यात्रुहरूका नजरमा
आफ्नै कथा भेटिन्थ्यो ।
गाडी त रोकिएला एकदिन कुनै स्टेसनमा
तर मनको यात्रा कहाँ रोकिन्छ र ?
जसलाई लगाम लगाउन सकियो भने मात्र
जीवन सुन्दर बन्दोरहेछ ।
एक स्टपबाट अर्को स्टप
जिन्दगी यस्तै त रहेछ भनेर
गाडी चढेरै थाहा पाइयो ।
लड्ने डरले गन्तव्य कहाँ चुम्न सकिन्छ र
यात्रा न हो जीवन
जहाँ हिँडेपछि मात्र पुग्न सकिन्छ।
केवल
सास फेर्नु मात्र जीवन होइन रहेछ
पाइला चाल्नु मात्र यात्रा होइन रहेछ ।


