साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : यात्रा

कविता : यात्रा

बाटोमा यति सहरहरू छन्

जङ्गलहरू छन्

गाउँहरू छन्

तर कतै रोकिने मन छैन ।

सहरहरूमा कुनै सम्भावना छैन, जसले शान्ति देओस्

कोही मेरो मनभित्र आओस् र मलाई बाहिर लैजाओस्

भक्तपुरजस्ता पुराना सहरहरू

या कुनै फुसका बस्तीहरू

या बेइजिङजस्ता गगनचुम्बी सहरहरू

सडकमा मान्छेहरू, मान्छेहरूबाट टाढा गइरहेछन् ।

इतिहासको गोरेटो यति लामो छ कि

सहरहरूको अनुहारमा

कुनै न कुनै खत देखिन्छ

कसैले भर्खरै पनि

छुरीले लामो घाउ बनाइदिएको छ, धर्तीको मुहारमा ।

गाउँमा

उहीजस्ता खेतहरू

रूखहरू

स–साना घरहरू

समयले बिर्सेका किसानहरू

र युगौँदेखि बगिरहेको कुलोको पानी

अब नयाँ केही देखिन्न, जसलाई रोकिएर हेर्नुपरोस् ।

भेट्नु

हिमाल, सागर, मरुभूमि र पहाडहरूलाई

केवल

मृगतृष्णाहरूको पुनरावृत्तिभन्दा

ज्यादा केही होइन

नियमित आकस्मिकताका लामा सडकहरू ।

असम्भव छ ईश्वरको आँखा लिएर यात्रा गर्न

मेरा यी थकित आँखाहरूको लागि

क्रमशः पुराना लाग्न थाल्छन्

पहिले नदेखेका दृश्यहरू पनि ।

हरेक सहरका मान्छेको कुटिलता

कुनै नयाँ अनुभव होइन

मेरो सहरको भन्दा ।

भीडको कोलाहलको शब्दहीनता

कति खतरनाक छ

म शुद्ध आवाज खोज्न हिँडेको हुँ ।

पाइला, मन, सडक र यात्राको गति नमिल्दा

लर्बरिएर

बाटोमा हिँडिरहेका हजार सपनाहरूमध्ये

कुनै सपना

भर्खरै पछारिन सक्छ, भर्खरै मरेर ।

खोजीमा छु

सपनाविहीन आशुतोष आँखाहरूको ।

नटाँसिएको होला नि यस्तो आँखा

केवल

कुनै अमूर्त शिवको निधारमा मात्र ?

समय छिटो हिँड्छ या मान्छेले खनेको सडक ?

नाप्नु छ, त्यसैले

घडीभित्र गोलगोल हिँडिरहेछु

१, २, ३….. टिक् टिक् टिक्

आफ्नै अनुहार छाम्नु हो यात्रा

आफ्नै मनलाई नङ्ग्याउनु हो यात्रा

जङ्गलको बाटो एक्लै हिँडिरहँदा

कसलाई भेट्न खोज्छ मन

कुनै मान्छे या कुनै जनावर ?

अपरिचित सहरका गल्लीहरूमा, कसलाई खोज्छ आँखा

कुनै परिचित मान्छे

या

कुनै अपरिचित वेश्या ?

फेरि पुरानै पुरानै सहरहरूमा पुनः पुनः फर्केर

उही गन्ध खोज्न असम्भव छ

भलै काठमाडौँका सडकमा हरेक वर्ष झरून्

उही नीला ज्याकरण्डाहरू

या नैरोबीका सडकमा झरून्, उस्तै राता गुलमोहरहरू ।

सोच्छु

कसलाई भनूँ कि म तिमीतिर आइरहेको छु ?

जति हिँड्छु

स्वयंबाट छुटिरहेको छु

आफ्नै पदचिह्नहरूको विनाश गरिरहेछु

यात्रा

अन्त्यविहीन कथाजस्तै, हठात् खसेर टुङ्गिनु हो

जसरी

घामको किरण खस्छ नीलो समुद्रमा

र हराउँछ नफर्कने गरी

एउटा अनन्त अन्धकार गहिराइमा ।।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.