यात्रामा भेटिएको कोही सहयात्री
स्मृतिको गहिराइमा बसिरहन्छन् ।
नजिकै रहेर एउटै सिटमा यात्रा गरिरहँदा
आँखाले पहिल्यै र मनले भित्रभित्रै
संवाद गरिसकेको हुन्छ।
नचिनेरै सुरू भएको यो यात्रा
सँगैको सफरमा नबोलेरै काटिएका दूरीहरू
कति सहजै नजिकिँदै जान्छन् ।
सम्बन्ध नगाँसिँदै मन जोडिएको आभास हुन्छ
बोली नफुट्दै भित्रभित्रै शब्दहरूले
अनेक तर्क बुन्दै गरेका हुन्छन्।
हृदयमा मायाको तरङ्ग फैलिन्छ
मनमा छुट्टिने डर उम्रन्छ ।
अनुहार रङ्गीन हुन्छ
शरीरमा स–साना कम्पन चल्छन्।
गन्तव्य एकको टुङ्गिन्छ
नबोलेरै, नचिनिकनै छुटिन्छौँ
तर भित्रभित्रै कहिल्यै नछुट्टिने सपनाहरू बुनेर।

