विक्रमादित्य !
आजको सङ्क्रान्तिमा तिमीलाई
सम्झिन मन लाग्यो ।
सिन्धु, सतलज, कर्णाली
कौशिकी र ब्रह्मपुत्र सबैतिर
तिम्रो चक्रवर्ती पहुँच भए पनि
मेरै कृष्णाको तटलाई तिमीले आफ्नो ठान्यौ ।
भर्तृहरि र भोज अनि वाल्मीकिले झैँ
कृष्णाका तटमा तिमीले विश्राम लियौ ।
मेरा पुर्खाले भरोसा गरेको ग्रह–गणित
कतिलाई कस्तै लाग्ला…,
तर तिम्रो योगदान र मेरो पञ्चाङ्ग
रवि–सोमादि नक्षत्रको गति–गणनामा
कृतिः, धृतिः र स्मृतिमय छ ।
त्यसैले
सकल गणितज्ञ ऋषिवर सहित
तिमीलाई पनि सादर नमन !
हुन त…
पारकोटका नीप र विदेहका मिथी समेतले…
पौलस्त्य, विश्रवा र गालव अनि भरत समेतले
वशिष्ठ, भारद्वाज, अत्रि र कौशिक समेतले
यो धुरी र धरालाई धुनपूर्वक धन्य बनाएकै हुन् ।
धवलाचलमा पार्थः, पद्मसम्भव र शालङ्कायन समेतले
‘अहं ब्रह्मास्मि’, ‘वसुधैव कुटुम्बकम्’ जपेकै हुन् !
ती ऊर्जाको ओतमा नै
यो आश्रय ‘नेपाल’ भएको छ ।
त्यसैले ती सकलसँगै तिमीलाई पनि
काल–गणित बदलिएको साइतमा
धुरी, धरा र धुनसहित नमस्कार !
कृष्णातटको चित्रवन र सोमेश्वरसहित
तिम्रो उपस्थितिमा… आभार !

