साहित्यपोस्ट डट कम

कविता : विक्रमादित्यलाई पत्र

कविता : विक्रमादित्यलाई पत्र

विक्रमादित्य !

आजको सङ्क्रान्तिमा तिमीलाई

सम्झिन मन लाग्यो ।

सिन्धु, सतलज, कर्णाली

कौशिकी र ब्रह्मपुत्र सबैतिर

तिम्रो चक्रवर्ती पहुँच भए पनि

मेरै कृष्णाको तटलाई तिमीले आफ्नो ठान्यौ ।

भर्तृहरि र भोज अनि वाल्मीकिले झैँ

कृष्णाका तटमा तिमीले विश्राम लियौ ।

मेरा पुर्खाले भरोसा गरेको ग्रह–गणित

कतिलाई कस्तै लाग्ला…,

तर तिम्रो योगदान र मेरो पञ्चाङ्ग

रवि–सोमादि नक्षत्रको गति–गणनामा

कृतिः, धृतिः र स्मृतिमय छ ।

त्यसैले

सकल गणितज्ञ ऋषिवर सहित

तिमीलाई पनि सादर नमन !

हुन त…

पारकोटका नीप र विदेहका मिथी समेतले…

पौलस्त्य, विश्रवा र गालव अनि भरत समेतले

वशिष्ठ, भारद्वाज, अत्रि र कौशिक समेतले

यो धुरी र धरालाई धुनपूर्वक धन्य बनाएकै हुन् ।

धवलाचलमा पार्थः, पद्मसम्भव र शालङ्कायन समेतले

‘अहं ब्रह्मास्मि’, ‘वसुधैव कुटुम्बकम्’ जपेकै हुन् !

ती ऊर्जाको ओतमा नै

यो आश्रय ‘नेपाल’ भएको छ ।

त्यसैले ती सकलसँगै तिमीलाई पनि

काल–गणित बदलिएको साइतमा

धुरी, धरा र धुनसहित नमस्कार !

कृष्णातटको चित्रवन र सोमेश्वरसहित

तिम्रो उपस्थितिमा… आभार !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.