हातमा राहदानी
काँधमा चन्द्र–सूर्य
आँखामा महासागर
गलामा मालाले सज्जित
बलवान् र बलवतीहरूलाई
भविष्य देखाउन
सक्रिय छ विमानस्थल ।
साक्षीहरूले
नयना नदीमा बाँध बाँध्दै भने
“सर्वस्व ठानेका कोपिला उडाउँदा
कसको मुटु फुट्दैन हजुर ?
हामी यत्ति भन्न सक्छौँ
सतीको श्राप मात्रै होइन
आँसुका छालबाट
मुक्त नहुने भयो नेपाल ।”
चौथो अङ्गको प्रश्नमाथि
बलवान् र बलवतीहरूले भने
“आजीवन !
आसन ग्रहणकर्ताको मन्त्रबाट
मातृभूमिले
सिद्धि प्राप्त नगरेपछि
जिउँदै चितापोर्ट जानुभन्दा
एयरपोर्टको उडान भर्यौँ ।
तपाईँमार्फत थाहा होस्
जो जससँग सम्बन्धित छ
हामीसँगै उडेका छन्
जनताका आस
युवाका सपना
देशको भविष्य
मातापितासहित मातृभूमिको माया ।”
अन्तर्राष्ट्रिय ब्यानर न्युजमा आयो
“बुद्धको देशमा
जिम्मेवारी भनेकै प्रतीक्षा हो
सत्ता र प्रतिपक्षको
कर्णधारहरू
क्षितिजभित्र बन्छन् सत्ताको भर्याङ
सिमानापार बन्छन् समृद्धिको मेरुदण्ड ।”
“इतिहास भन्छ
वीरका सन्तानको रगतले
दुनियाँ मुक्त स्वतन्त्र भयो
विडम्बना !
वीरकै देश
निरन्तर लत्रिरह्यो कृष्णपक्षमा ।”
अक्टोबर एकमा
विश्व सभाबाट
डाँडाका जुनहरूले उद्घोष गरे
“नानी–बाबुहरू !
हामीलाई मुखाग्नि दिनुभन्दा पहिले
डढेलोबाट बचाउन देश
तिमीले
वर्तमानमै बाल्नुपर्छ
समृद्धिको दियो ।”

