शब्दहरू धेरै छन्
तर मौन अझै ठूलो छ
आवाजहरू चर्का छन्
तर अर्थ बिस्तारै घस्रिँदै हराइरहेछ।
हामी सूचनाको समुद्रमा उभिएका छौँ
तर तिर्खाएका छौँ
स्क्रिनमा सत्य चम्किन्छ
तर हातले छुँदा केवल प्रकाश बाँकी रहन्छ
वजन होइन ।
एक समय समाचार छापिनु भनेको उत्तरदायित्व थियो
सम्पादनको पसिनाले वाक्यहरू शुद्ध हुन्थे ।
आज फिल्टरले अनुहार मात्रै होइन
सत्य पनि सजाइदिन्छ ।
हामी भाइरललाई नेता बनाइरहेछौँ
नारालाई नीति ठानिरहेछौँ
संवादको नाममा असहमतिको अनुहारमा ढुङ्गा फालिरहेछौँ ।
एल्गोरिदम नदेखिने शासन हो
न हुकुम जारी गर्छ
न बन्दुक तान्छ
ऊ केवल देख्ने आँखाको दिशा बदलिदिन्छ।
हामी भन्छौँ
“मैले आफैँ रोजेँ”
तर रोजाइअघि रास्ताहरू पहिल्यै चिह्न लगाइएका हुन्छन्।
डेटा कसको हो ?
निर्णय कसले गर्छ ?
चेतनाको ढोका कसले खोल्छ र कसले बन्द गर्छ ?
यी प्रश्नहरू भीडको स्वरमा निलिन्छन् ।
र, आयो मेसिन मधुर भाषा बोल्ने
आत्मविश्वासले भरिएको उत्तर दिन कहिल्यै नहिचकिचाउने ।
हामी चकित भयौँ सेकेन्डमै समाधान !
तर सोच्न बिर्सिन थाल्यौँ ।
धैर्य हरायो, सङ्घर्ष अनावश्यक लाग्यो
ज्ञान आयो, तर चेतना पच्न पाएन ।
जब उत्तर सुन्दर हुन्छ
प्रश्न असजिलो हुन्छ
जब समाधान छिटो हुन्छ
विचार ढिलो लाग्छ।
यहीँ मानिसको सोच्ने क्षमता बिस्तारै मेसिनको काखमा सुम्पिन्।
तर मेसिन पनि निरपेक्ष कहाँ हुन्छ र ?
उसको स्मृतिमा ‘शक्ति’ बोल्छ, ‘पूर्वाग्रह’ फुसफुसाउँछ
स्वामित्वको छाया वाक्यहरूमा लुकेर बस्छ ।
यसरी प्रविधि केवल औजार रहेन
ऊ सूक्ष्म दर्शन बन्न थाल्यो नदेखिने
तर गहिरो ।
अब प्रश्न उठ्छ हामी के गरौँ ?
न त स्क्रिन फोड्नु समाधान हो
न त आँखा बन्द गर्नु ।
समाधान त फेरि सोच्न सिक्नु हो
ढिलो सोच्न, लामो पढ्न; असहमतिलाई शत्रु होइन
दर्पण मान्न ।
दृश्यको चमकभन्दा प्रमाणको तौल नाप्न
लोकप्रियताभन्दा नीतिलाई रोज्न ।
इतिहास भन्छ सङ्क्रमणकालमा भीड अगाडि हुन्छ
विचार किनारामा ।
तर समय बितेपछि दिशा दिने काम फेरि विचारले नै गर्छ।
नेपाल आज त्यही मोडमा छ
जहाँ स्वर धेरै छन्, तर दिशा खोजिँदैछ।
यदि हामीले प्रश्न गर्न छोड्यौँ भने लोकतन्त्र केवल एउटा रूप हुनेछ।
तर यदि सोच्ने साहस जोगायौँ भने यो शून्यता सम्भावना बन्न सक्छ।
किनकि आजको चुनौती प्रविधि होइन
आजको चुनौती हामी ‘कसरी सोच्छौँ’ भन्ने हो ।
यही सोचबाट भोलिको नेपाल लेखिनेछ।

