ढल्कँदै गरेको उमेरसँगै
मेरा नृत्यका चालहरू पहिले जस्ता रहेनन्
मेरा स्वरहरूको मोहकता अब कहाँ रहिरहन्थ्यो र ?
त्योसँगै मेरो शरीरसँग खेल्न खोज्नेहरू
बिस्तारै कम हुँदै गए ।
आज मेरो विगतलाई एक पटक फर्किएर हेर्न खोजेँ
खै कतिखेर म यो परिवेशमा रुमल्लिन पुगेछु !
हेर्दाहेर्दै प्रत्येक बाटोहरूले
ती सबैलाई म कहाँ ल्याइपुर्याउन थालेछन्
बाटो बिराएका देखि बाटोबाट वाक्क भएकाहरू
यौवनको सुरुवात देखि उमेरका डाँडा कटेकाहरूसम्म ।
कोही लहैलहैमा, कोही आफ्नो दुःख भुल्न
कोही धोका पाएका, कोही साथ नपाएका
कोही लतमा चुर्लुम्म डुबेका
जीवनका हर तरेलीहरूका, जीवनका हर भोगाइहरूका
मसँग ठोक्किन पुगे
मेरो नृत्य, मेरो स्वर र मेरो शरीरसँग खेल्न ।
प्रतिष्ठाको खाेल ओढेका
आदर्शका बर्कोले बेरिएका ती कैयौँमा
दरिद्रताको नाङ्गोपना मैले देखेको छु ।
नशामा डुबी मेरो नृत्यमा झुम्न चाहनेहरूभित्र
चाहनाको असीमित उत्कण्ठा मैले महसुस गरेको छु ।
मेरो स्वरमा मुग्ध हुनेहरू मेरो स्वरलाई होइन
उनीहरूभित्रको कुण्ठालाई थुमथुम्याएको पाएको छु ।
मेरो शरीरमा खेल्न खोज्नेहरू
प्रदर्शन गर्न नसकेको पुरुषार्थ वा भनौँ
पौरुष देखाउन तम्सिएको देखेको छु ।
तिनका प्रत्येक पाशविकतासँग म परिचित बन्दै गएँ
लुछ्न र चुँड्न खोज्ने कुण्ठित मनस्थितिसँग
म अभ्यस्त हुँदै गएँ ।
म एउटा ‘सोकेस’ मा सजिएको गुडियाझैँ
प्रत्येक पल खेलिने वस्तु बनेँ ।
यतिका वर्षमा मैले अनुभव गरेको समयक्रममा
प्रायः सबै भोको भेटेँ, प्रायः सबै खोक्रो पाएँ ।
अव्यक्त अपुरो सपना र डगमगाएका अधुरो धरातल बोकेका
ती शरीरहरू, ती मनहरू
कहिले परिवर्तन होलान् र ?
उनीहरूको उत्कण्ठा कहिले मेटिएला र ?

