साहित्यपोस्ट डट कम

कविता : उत्कण्ठा

कविता : उत्कण्ठा

ढल्कँदै गरेको उमेरसँगै

मेरा नृत्यका चालहरू पहिले जस्ता रहेनन्

मेरा स्वरहरूको मोहकता अब कहाँ रहिरहन्थ्यो र ?

त्योसँगै मेरो शरीरसँग खेल्न खोज्नेहरू

बिस्तारै कम हुँदै गए ।

आज मेरो विगतलाई एक पटक फर्किएर हेर्न खोजेँ

खै कतिखेर म यो परिवेशमा रुमल्लिन पुगेछु !

हेर्दाहेर्दै प्रत्येक बाटोहरूले

ती सबैलाई म कहाँ ल्याइपुर्‍याउन थालेछन्

बाटो बिराएका देखि बाटोबाट वाक्क भएकाहरू

यौवनको सुरुवात देखि उमेरका डाँडा कटेकाहरूसम्म ।

कोही लहैलहैमा, कोही आफ्नो दुःख भुल्न

कोही धोका पाएका, कोही साथ नपाएका

कोही लतमा चुर्लुम्म डुबेका

जीवनका हर तरेलीहरूका, जीवनका हर भोगाइहरूका

मसँग ठोक्किन पुगे

मेरो नृत्य, मेरो स्वर र मेरो शरीरसँग खेल्न ।

प्रतिष्ठाको खाेल ओढेका

आदर्शका बर्कोले बेरिएका ती कैयौँमा

दरिद्रताको नाङ्गोपना मैले देखेको छु ।

नशामा डुबी मेरो नृत्यमा झुम्न चाहनेहरूभित्र

चाहनाको असीमित उत्कण्ठा मैले महसुस गरेको छु ।

मेरो स्वरमा मुग्ध हुनेहरू मेरो स्वरलाई होइन

उनीहरूभित्रको कुण्ठालाई थुमथुम्याएको पाएको छु ।

मेरो शरीरमा खेल्न खोज्नेहरू

प्रदर्शन गर्न नसकेको पुरुषार्थ वा भनौँ

पौरुष देखाउन तम्सिएको देखेको छु ।

तिनका प्रत्येक पाशविकतासँग म परिचित बन्दै गएँ

लुछ्न र चुँड्न खोज्ने कुण्ठित मनस्थितिसँग

म अभ्यस्त हुँदै गएँ ।

म एउटा ‘सोकेस’ मा सजिएको गुडियाझैँ

प्रत्येक पल खेलिने वस्तु बनेँ ।

यतिका वर्षमा मैले अनुभव गरेको समयक्रममा

प्रायः सबै भोको भेटेँ, प्रायः सबै खोक्रो पाएँ ।

अव्यक्त अपुरो सपना र डगमगाएका अधुरो धरातल बोकेका

ती शरीरहरू, ती मनहरू

कहिले परिवर्तन होलान् र ?

उनीहरूको उत्कण्ठा कहिले मेटिएला र ?

ट्याग: दिपेश राई
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.