श्वेत वस्त्रकोटले विभूषित पूर्ण कदको आङ
आलाको मालाले सिँगारिएको
अञ्जुलिको स्पर्शले मानव शरीरमा
हार्मोनियमका स्वरझैँ पीडाका भजनहरू गुन्जिरहेछन्
स्तब्धताले भरिएका गह
पोख्दै छन् पीडाका पठारहरू
माग्दै छन् मनका इच्छाहरू
माग्दै छन् नयनमा निद्रा
अनि सयनमा सपनाहरू
प्रस्ताव राख्दै छन् मलाई
मेरो क्षमता, सीप र ज्ञानभन्दा परको प्राण
माग्दै छन् वंशवृक्ष र दसपिण्ड भर्ने पुत्रको वरदान
माग्दै छन् दुई कुलको उद्धार गर्ने पुत्रको वरदान
बाघझैँ गर्जिरहेछन् मनु आवाजहरू
कानमा गुन्जिरहेछन् गाली
पढ्दै छु पृथक धराको समाज
लेख्दै छु नलेखिएका अक्षरहरू
कोर्दै छु नकोरिएका चित्रहरू
बोल्दै छु नबोलिएका वाणीहरू
तर्दै छु नतरिएका जल स्वरूपहरू
उक्लिँदै छु नउक्लिएका हिमशृङ्खलाहरू
कसरी फोरूँ पीडाका पठारहरू
कसरी रोकूँ रोदनका रासहरू
आमा ! म हजुरको सामीप्यताभन्दा अर्को कुनै
विपिन, निहारिका, रवि र गगन देख्दिनँ
ममतामयी माताको काखमा रमाउन मन छ
परमपूज्य पिताको पोल्टोलाई पलङ बनाई लडिबुडी गर्न मन छ
भाइबहिनीसँग हाँसो र ठट्टा गर्न मन छ
आमा !
मेरो जवानीको गोठालो लाग्न कसरी सक्छु होला र म
पूर्वाद्र्ध स्मृतिमा अलमलिएर होइन, उत्तराद्र्ध बुझेर पोखिनु छ
कहाँ पो छ र जवानीको जहर नाप्ने तराजु
कहाँ पो छ र मनको बहाव नाप्ने मानापाथी
म सुईको विशेषता बोक्दै, जलको स्वभावझैँ बग्छु
आमा ! मलाई रामायणको पुष्पक विमान पठाइदेऊ
म सांसारिक लक्ष्मण रेखा तोड्न बाध्य हुनेछु
बाचुन्जेल बाँच्नका लागि बाँच्ने बालीको बेर्ना राख्नै पर्दो रहेछ
छामेर नाडीका चालहरू, सुनेर मुटुका धड्कनहरू
बुझेर व्यथाका वंशजहरू, हेरेर घाउका पूर्वजहरू
अवलोकन गरेर मनु अस्थिपञ्जरका अवस्थाहरू
नखोलिएका रहस्यका ढोकाहरू
लुकाइएका लज्जाका पीडा पोखिँदैनन् भने
सान र अवसानको सिमानामा देख्छु
आर्जित कौशलका अस्त्रहरू
आला, सुई, औषधि र शल्यक्रियाको जुक्तिले
बिसन्चोबाट निवृत्तिको अपेक्षा राख्दै
हस्तान्तरण गर्दै छु उपहार, बिरामी उपचारको पुर्जा
ज्ञान, क्षमता र सीपले धानेसम्म मनु मनकाङ्क्षा तृप्तिमा
नित्य पहरेदार भई खटिइरहने छु
जहाँ, जति, जस्तो ठेस लागे पनि, जुधेर अघि बढिरहने छु

