समाजको इतिहास र सोसल रिभोल्युसन पढ्ने मान्छे
प्रकृतिको इतिहास र नेचुरल इभोल्युसन खै पढेको ?
पर्यावरणीय इतिहासको जीवन्त चेतना खै लेखेको ?
नपत्याए खोतलेर हेर
साढे चार बिलियन वर्षको यो धर्तीको इतिहास
खरबौँ वर्षको त्यो जिओलोजिकल टाइमस्केल ।
जहाँ
प्रिकेम्बरियनदेखि फेनेरोजोइक महाकल्पहरू देखिनेछन्
थप
तीन सय मिलियनको इभोल्युसनको इतिहास भेटिनेछन्
अझ तहाँ
डेभोनियनदेखि क्वाटरनरी महायुगहरू समेत देखिनेछन् ।
हो, यही इतिहास भन्छ
तिमीभन्दा जेठा छन्
तिमीभन्दा जेठा छन्
ती भोर्लाका लहराहरू
तिमीभन्दा जेठा छन्
ती लज्जावती झारहरू।
उसैगरी
डाइनोसरभन्दा पनि जेठा हुन्
पैयूँ र सल्लाका रुखहरू ।
अनि
हिमचितुवाभन्दा जेठा हुन्
धूपी र देवदारका रुखहरू ।
जसको जन्मकुण्डली नै छ लाखौँ–करोडौँ वर्षको
जसको डिएनए नै छ हजारौँ–करोडौँ वर्षको ।
तिमी त भर्खर अठार लाख वर्षको दूधे बालक
तिमी त भर्खर जन्मेको बचेरो बालक !
यसैले,
तिमीले चिन्नुपर्छ
यीनै हुन् तिम्रा सञ्जीवनी ओखतीबुटीहरू
यीनै हुन् तिम्रा भृकुटी दिदीबहिनीहरू
यीनै हुन् तिम्रा जीवनदायिनी सुसारेहरू
यीनै हुन् तिम्रा अस्तित्वका धाईआमाहरू ।
अनि खै त ?
रुखहरूउपर आदरसम्मान
अनि खै त ?
लहराहरूउपर सादरप्रणाम
अनि खै त ?
प्रकृतिउपर ढोग–नमस्कार ?
ए ! उल्टै तिमी त
धमाधम जङ्गलहरू काटिरहेछौ
खडाखड बुट्यानहरू छाँटिरहेछौ
धडाधड तृणमूलहरू फाँडिरहेछौ ।
ए ! अल्पज्ञानी मान्छे
नलगाऊ एक जीवन्त लाक्षागृहमा
आफैँले आगो
नचलाऊ एक पल्लवित फूलबारीमा आफैँले
कोदालो
नहान एक सुन्दर इन्द्रप्रस्थमा
आफैँले एटम बम
अनि
नगर भो
यस मानव सभ्यताको आफैँले सर्वनाश !
त्यसैले
अविलम्ब यो बिन्ती स्वीकार गर
ए इभोल्युसनका दूधे बालक !
ए इकोसिस्टमका कान्छो सन्तान!
ए होलोसिनका कनिष्ठ वंशज !
आजै रोक प्रकृति विनाशको यो डोजरे टेराफर्मिङ
आजै रोक प्रकृति संहारको यो पीडादायी
इकोसाइड
आजै रोक प्रकृति दोहनको यो
विध्वंसकारी ओभरसुटिङ ।
तसर्थ
ए मान्छे
आऊ बस
यो इभोल्युसन र सहअस्तित्वको चौतारोमा
र तिम्रा अवचेतनाको पर्दा पनि उघारेर हेर
तहाँ देख्नेछौ
अरबौँ जीवनहरू सँगसँगै मौलाइरहेका
तहाँ भेट्नेछौ
खरबौँ चेतनाहरू सँगसँगै बौराइरहेका ।
हो, त्यतै कुनातिर भेट्नेछौ
पर्या−चेतनाका साक्षीहरू
जहाँ तिम्रै लागि हुर्किरहेका छन्
पर्या−इतिहास बोकिरहेका
अजम्मरी ऊन्यूका रुखहरू !


