म जन्मिनेबित्तिकै
धर्तीमा
तीर प्रतीक्षामा थियो
म चाहन्नथेँ तर
ऊ पछि-पछि लाग्यो ।
नियालेँ दूर-दूर
तीर नदेखिने ठाउँ
खोज्दै म आएँ
तीर नभेटिने गाउँ
ऊ अझै पछि-पछि
छेउछाउ लाग्यो
न हार मैले खाएँ
न ऊ भाग्यो।
म पहराको शिर चढेँ
झरना भई तल खसेँ
यात्रापथमा अघि बढेँ
तीर पछि लागिनै रह्यो ।
खाल्डो भई बसेँ
तीर झन्-झन् बढ्यो
एकताक त अलमल्ल परेँ ।
दूर-दूर नयन लगाई नजर दौडाई
समतल समथर ममतामयी छाती बुझी
बेग लगाएँ छोड्ला कि तीर भनी !
छाती चिरिदियो, छोडेन तैपनि ।
म डुबेँ, निस्सासिएँ
भक्कानिएँ
तीरले भने पछ्याइरह्यो
पल-पल, हरपल ।
मनको मैला मेट्दै-मेट्दै
जीवन जुर्मुराउने आशाको
फिलिङ्गो एक बोकी
भेष धरी जोगियाना
ओ यात्री !
कहाँ पुग्छौ ?
शनैः शनै
हिँड्नु त यात्राको एक सम्भाग हो ।
हिँड्दा-हिँड्दै
तीर-तीर बोकी मनमा
तीररहित स्वप्न पाली
अह्लादित, आनन्दित भावमा
मैले हाम्फालेँ
झन् विकराल विराट तीर-सिन्धुमा !
मलाई कहिल्यै थर्काइयो
कहिल्यै दबाइयो
कहिल्यै पछारियो
कहिल्यै फकाइयो
आखिर तीरको माझमा
रनभुल्लिएँ म ।

