तथागत….!
जय होस् ।
उबेला
तिम्रो पहिचान खोल्दा
कौडिण्यलाई ‘बागी’ भने
तिमी बाटो लाग्दा
सत्ता र गुलामले वैरागी भने ।
प्रवज्याबाट सिद्ध भएको चाल पाएपछि
नागार्जुनजस्तै हुने आशामा
‘आफ्नै हो’ भन्ने होड चले ।
यो बेला
तिम्रो नाम ओढ्ने
तिम्रो धाम बेच्ने
तमाम अङ्गुलीमालहरू
यत्र–तत्र प्रकटम् ।
तर
जननी मायादेवी
र सहधर्मिणी यशोधरा
अप्रकटम् ।
जे होस्
तमाम तथागतहरू
पाठ सिकाउन निरन्तर आइरहेका छन्
कहिले वृक्ष बनेर
कहिले जीव बनेर
र कहिले कीट बनेर ।
अझै पनि
हिंसाको खेतीबाट
क्रोध र अहङ्कारको बीउबाट
मिथ्या सत्ता र पीडक वैभवबाट
भ्रमित अङ्गुलीमालहरू
मोक्षको गाना बजाइरहेछन् ।
तर पनि
मसिना र होचा अणुहरू
तिम्रो शङ्खको धुन सुनेर
“अमिताभाय नमः” जप्दै
कृष्णाका तटमा नियालिरहेछन् ।

