साहित्यपोस्ट डट कम

कविता : स्वयुद्ध

कविता : स्वयुद्ध

पृथ्वीको हरेक मान्छेले
आफैंभित्र
रणभूमि भोग्छ
आँधी तुफान
र महासागरभित्र डगमगाउने कम्पन
मान्छेले आफैंभित्र भोग्छ

कहिलेकाहीँ
हिमालयको चिसो
कहिले
मरुभूमिको सुक्खा बालुवासहितको
तातो बतास
मान्छेले आफैंभित्र भोग्छ

मान्छे कहिले
बर्खायाममा रुझेको धर्ती बन्छ
मान्छे कहिले
वसन्त-शिशिर त
कहिले पतझर बनेर
आफैंभित्र ऋतुहरू भोग्छ

आफ्नै मस्तिष्क र हृदयबिचको महायुद्ध
आफैंभित्र भोग्छ मान्छे
आफैंभित्रका बुद्ध र अह‌ङ्कार
आफैंभित्र भोग्छ मान्छे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.