चिल्लो मार्ग यहाँ डुलेर रहँदा सम्पूर्ण देशैभरि
उड्दैनन् उति नै न कि धुवाँ हावा छ छानेसरि
मेट्रो रेल चढी घुमेर मनमा आनन्द मान्ने दिन
स्वप्ना देख्नु कुनै नि पाप नभए स्वप्ना नदेख्ने किन ?
(१)
धारामा कहिले अभाव नभई पानी नटुट्दा जब
कैल्यै जान दिँदैन ताकि बिजुली छन् दङ्गदासै सब
छोरी हुन् कि त वृद्ध, बालक सबै डुल्छन् नि ढुक्कै यिन
मेरो देश गयो विकास गतिमा स्वप्ना नदेख्ने किन ?
(२)
बाटो बक्र हुँदैन यो सुरूङ भै पुग्नेछ डाँडागढी
पाखा पर्वत लेक फाँट सबमा फल्नेछ नीलो मणि
छोई नील सफा सफा गगनमा स्वप्नाहरू कञ्चन
स्वप्ना उड्छ म उड्छु उड्नु छ सदा स्वप्ना नदेख्ने किन ?
(३)
झण्डा सूर्य र चन्द्रको झलमली देखिन्छ संसार यो
सत्ता, शक्ति विशिष्ट व्यक्ति तल छन् कानून माथि भयो
उद्योगै इलमै छ देशभरि नै आस्था र आकर्षण
को जाने अब साउदी अरब यैँ स्वप्ना नदेख्ने किन ?
(४)

