साहित्यपोस्ट डट कम

कविता : सृष्टिकै अमूल्य उपहार तिमी

कविता : सृष्टिकै अमूल्य उपहार तिमी

मानिस भएर मानिसकै लागि

बन्छौ किन निर्दयी ?

भई सृष्टिकै अमूल्य उपहार तिमी

ब्रह्माण्डले गरेन होला स्वागत त्यसै तिमीलाई

जगतकै पञ्चतत्त्व तिमीमै समाई ।

होस् केही कर्म तिम्रो सत्कर्म पनि

मानिस भई मानिसकै जीवन पार लगाई ।

के छ र बाँकी अब तिमी पूर्ण हुनमा ?

पृथ्वी, जल, वायु, अग्नि अनि आकाश

अदृश्य छन् तिमीमा ।

ए मानिस, किन बन्छौ तिमी

निर्बल र अर्थहीन ?

सोच्दैनौ किन अरूभित्र

बलिरहेछ अन्तरआत्माको

धिपधिपाउँदो दीप भनी ?

ए निर्जीव मानिस

एकपटक बनिहेर न जीवित

रोकेर ती ननिभ्ने गरी प्रेमका धार ।

नसक्ने भए

किन टपटप झार्छौ

निर्लज्ज आँसुका ढिक्का फेरि ?

भन न तिमी, त्यो दियो निभ्यो भनी ?

पोखेर त्यो जाल जलैसरि।

थप्नै छ त तिमीले जसरी पनि

थपिदेऊ बरु जीवनको तेल

रहर र उमङ्ग

अनि हाँसो र खुसीको भेल ।

बल्नेछ त्यो दीप अखण्डसरि

पर्नेछौ आश्चर्यमा तिमी आफैँ पनि

साँच्चै नै भगवान्को ठूलो वरदान भनी

सृष्टिकै ममतामै जीव जानी ।

भई हेर न तिमी मानिस मात्रै

नसोची तिमी कुनै थरी

न त होस् महिला, न पुरुषै पनि

बसी एउटै खुला आकाशमुनि ।

किन हाँस्छौ र तिमी अरूको पीडाभरि ?

माटोमा नै त मिलिजानेछौ तिमी पनि ।

चेतनामा चेत गरी हेर बरु

के हुँदो हो एउटै परिवार भए ?

के हुँदो हो एउटै संसार भए ?

के हुँदो हो एउटै ढुकढुकी भए ?

छरी हेर आफैँमा करुणाको बीउ

मुदिताझैँ फैलिनेछ

संसारकै मनमा सुगन्धसरि ।

उत्साह मनाउनेछौ

ज्ञानको चक्षु आफैँ नै खोली

तिमी मानिस भएर

छ आफ्नो अस्तित्व भनी

मानी समस्त जगत्लाई साक्षी तिमी ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.