मानिस भएर मानिसकै लागि
बन्छौ किन निर्दयी ?
भई सृष्टिकै अमूल्य उपहार तिमी
ब्रह्माण्डले गरेन होला स्वागत त्यसै तिमीलाई
जगतकै पञ्चतत्त्व तिमीमै समाई ।
होस् केही कर्म तिम्रो सत्कर्म पनि
मानिस भई मानिसकै जीवन पार लगाई ।
के छ र बाँकी अब तिमी पूर्ण हुनमा ?
पृथ्वी, जल, वायु, अग्नि अनि आकाश
अदृश्य छन् तिमीमा ।
ए मानिस, किन बन्छौ तिमी
निर्बल र अर्थहीन ?
सोच्दैनौ किन अरूभित्र
बलिरहेछ अन्तरआत्माको
धिपधिपाउँदो दीप भनी ?
ए निर्जीव मानिस
एकपटक बनिहेर न जीवित
रोकेर ती ननिभ्ने गरी प्रेमका धार ।
नसक्ने भए
किन टपटप झार्छौ
निर्लज्ज आँसुका ढिक्का फेरि ?
भन न तिमी, त्यो दियो निभ्यो भनी ?
पोखेर त्यो जाल जलैसरि।
थप्नै छ त तिमीले जसरी पनि
थपिदेऊ बरु जीवनको तेल
रहर र उमङ्ग
अनि हाँसो र खुसीको भेल ।
बल्नेछ त्यो दीप अखण्डसरि
पर्नेछौ आश्चर्यमा तिमी आफैँ पनि
साँच्चै नै भगवान्को ठूलो वरदान भनी
सृष्टिकै ममतामै जीव जानी ।
भई हेर न तिमी मानिस मात्रै
नसोची तिमी कुनै थरी
न त होस् महिला, न पुरुषै पनि
बसी एउटै खुला आकाशमुनि ।
किन हाँस्छौ र तिमी अरूको पीडाभरि ?
माटोमा नै त मिलिजानेछौ तिमी पनि ।
चेतनामा चेत गरी हेर बरु
के हुँदो हो एउटै परिवार भए ?
के हुँदो हो एउटै संसार भए ?
के हुँदो हो एउटै ढुकढुकी भए ?
छरी हेर आफैँमा करुणाको बीउ
मुदिताझैँ फैलिनेछ
संसारकै मनमा सुगन्धसरि ।
उत्साह मनाउनेछौ
ज्ञानको चक्षु आफैँ नै खोली
तिमी मानिस भएर
छ आफ्नो अस्तित्व भनी
मानी समस्त जगत्लाई साक्षी तिमी ।

