सोफी
मेरो झ्यालबाट छिर्न बिर्सेको
घामको एक चोक्टा उज्यालो नदेख्दा
मैले आज तिमीलाई सम्झें
माथि आकाश खाली थियो
ताराहरू सम्झें ।
आज बादल
बलेँसीमा आएर धेरै बेरसम्म रोयो
लुगा सुकाउने तारमा
एक्लै बसेर
गौथलीले आफैँलाई ठुङ्गिरह्यो ।
भुइँभरि छरपष्ट थिए
पारिजातका सेता फूलहरू ।
तिम्रो याद
मेरो ढोकामै उभिएर
के–के गनगनाइरह्यो
म थिएँ मौन
सालिक जस्तै ।
म सम्झन्छु
एक दिन तिम्रो याद
लट्ठ मातेर
मेरो कोठाभित्र पस्यो
र मसित झगडा गर्न थाल्यो ।
अर्को दिन तिम्रो याद
मेरो झ्यालबाट हाम फालेर
मेरो बेडमा खस्यो
र मलाई
बेसरी चिथोर्न थाल्यो ।
माफ गर सोफी
म तिम्रो जीवनकथामा
मीठो अक्षर भएर
कोरिन सकिनँ
न तिमी
मेरो जीवनको चित्रमा
सुन्दर रेखा भएर
उभिन सक्यौ ।
खै, के मिलेन
के मिलेन जिन्दगीमा !
हुन सक्छ
हामी छुटिनलाई नै भेटेका थियौँ
क्यार
र नै छुट्टियौँ ।
मैले देखेको छु
उर्बर माटोमा पनि
आँसु उम्रिएको
निर्जीव चट्टानमा
खुसी फुलेको ।
तात्पर्य
यहाँ
सम्भवहरू पनि
असम्भव हुन्छन्
असम्भवहरू
सम्भव ।
यद्यपि
जिन्दगी
कुनै लिखित दस्तावेज रहेनछ
न त
नियोजित यात्रामा
हिँड्दो रहेछ।
जीवन त
हिँड्दै जाँदा
लेखिँदै जाने कथा रहेछ
बग्दै जाँदा
भोग्दै जाने
खोला रहेछ ।
हामी पनि त
कुनै दिन
सुनकोशी बग्दै थियौँ
एकैसाथ
तर बग्दै–बग्दै
एक दिन
तिमी अरुण भएर उछिट्टियौ
म तमोर भएर छुट्टिएँ ।
त्यसपछि
राइफलको नोजलबाट
निस्केको गोली जस्तै
फर्केर
कहिल्यै पछि हेरेनौँ ।
जे होस्,
यादहरूको विशाल पोखरीमा पनि
नाच्दा रहेछन्
कहीँ–कहीँ
दिल झस्काउने तरङ्गहरू ।
जस्तो
मेरो झ्यालबाट छिर्न बिर्सेको
घामको एक चोक्टा उज्यालो नदेख्दा
मैले आज तिमीलाई सम्झें
माथि आकाश खाली थियो
ताराहरू सम्झें ।

