साहित्यपोस्ट डट कम

कविता : श्राद्ध

कविता : श्राद्ध

कोही शुद्ध भएन किन्तु अहिले, डाँका भए ती बरु

लाटा छन् जनता म ठालु छु भनी, हेप्छन् त नेताहरू।

को–को छन् गतिला गुणी र असली, गन्दै छ यो ज्ञानले

नेता भ्रष्ट सबै नयाँ न पहिले, भन्दै छ अन्जानले ।

नेताकै तलुवा बनेर जिउँछौ, हे कार्यकर्ता कति ?

नेताकै मतियार, दास भतुवा, बन्छौ नि झोले कति ?

द्रोही उम्कनु हुन्न हेर कहिले, भन्दै छ यो ज्ञानले

नाङ्गो हेर्दिनँ नाच दुष्ट मतिको, भन्दै छ अन्जानले ।

डाँकाको सरदार गर्छ अझ नै, लुट्ने र खाने मति

लाग्यो फुट्न भुँडी घिचेर नपुगी, खान्छस् हसुर्छस् कति ?

पुर्नै पर्छ भनेर खाडल ठुलो, खन्दै छ यो ज्यानले

जो खाइस् सब त्यो छदाउँछु भनी, भन्दै छ अन्जानले ।

भ्रष्टाचार समाप्त पार्दछु भनी, भ्रष्टै भए लौ कति !

देशै स्वर्ग सरी बनाउँछु भनी, नेता भए लौ कति !

नेताका सब ती कुरा दिनदिनै, सुन्दै छ यो कानले

घोक्रेठ्याक नलाई हुन्न अब लौ, भन्दै छ अन्जानले ।

डोकाले कति छोप्नु छोपिनु कठै, लाजै पचेकाहरू

एकाएक खुली गए सब कुरा, खाओ न विष्ठा बरु ।

खोक्रो देश बनाउने र चुसुवा, चिन्दै छ अन्जानले

नेताको अब श्राद्ध गर्नु छ भनी, भन्दै छ अन्जानले ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.