कोही शुद्ध भएन किन्तु अहिले, डाँका भए ती बरु
लाटा छन् जनता म ठालु छु भनी, हेप्छन् त नेताहरू।
को–को छन् गतिला गुणी र असली, गन्दै छ यो ज्ञानले
नेता भ्रष्ट सबै नयाँ न पहिले, भन्दै छ अन्जानले ।
नेताकै तलुवा बनेर जिउँछौ, हे कार्यकर्ता कति ?
नेताकै मतियार, दास भतुवा, बन्छौ नि झोले कति ?
द्रोही उम्कनु हुन्न हेर कहिले, भन्दै छ यो ज्ञानले
नाङ्गो हेर्दिनँ नाच दुष्ट मतिको, भन्दै छ अन्जानले ।
डाँकाको सरदार गर्छ अझ नै, लुट्ने र खाने मति
लाग्यो फुट्न भुँडी घिचेर नपुगी, खान्छस् हसुर्छस् कति ?
पुर्नै पर्छ भनेर खाडल ठुलो, खन्दै छ यो ज्यानले
जो खाइस् सब त्यो छदाउँछु भनी, भन्दै छ अन्जानले ।
भ्रष्टाचार समाप्त पार्दछु भनी, भ्रष्टै भए लौ कति !
देशै स्वर्ग सरी बनाउँछु भनी, नेता भए लौ कति !
नेताका सब ती कुरा दिनदिनै, सुन्दै छ यो कानले
घोक्रेठ्याक नलाई हुन्न अब लौ, भन्दै छ अन्जानले ।
डोकाले कति छोप्नु छोपिनु कठै, लाजै पचेकाहरू
एकाएक खुली गए सब कुरा, खाओ न विष्ठा बरु ।
खोक्रो देश बनाउने र चुसुवा, चिन्दै छ अन्जानले
नेताको अब श्राद्ध गर्नु छ भनी, भन्दै छ अन्जानले ।

