आफ्नो बैँसको भारी बिसाइसकेपछि
उनी भन्दै थिइन्
“त्यो समयको कुरै नगरौँ
त्यो समय म असाध्य सुन्दरी थिएँ
मलाई देखेर मानिसहरू लट्ठ हुन्थे
वरिपरि हेर्ने आँखै-आँखा
बिचमा म हुन्थेँ
मेरो अप्राप्यताले मेरो सुन्दरतालाई
दर्शन र रहस्यको आयाम दिएको थियो ।
गजल, गीत र गँजडी धेरै जन्मायो मेरो सुन्दरताले
म अघोषित विश्व-सुन्दरी !
ती लाचार पुरुषका विवश आँखाहरू
उफ ! कति आनन्द…….
मेरो जीवन— एउटा विजय-उत्सव नै थियो हरेक दिन ।
तर हेर मलाई अहिले
हेर न हेर म कुरुप, कुरुप, कुरुप भएकी छु
ऐनाको सामु जान पनि डर लाग्छ मलाई ।”
म सुनिरहेँ, सुनिरहेँ, सुनिरहेँ
उनलाई हेरिरहेँ, हेरिरहेँ, हेरिरहेँ
निःशब्द, मौन-मौन निःशब्द ।
एउटा सानो समय-यात्रा हिँडेँ, तिलस्मी
वर्तमानबाट उनलाई झिकेर अतीतमा लगेँ, सोह्र वर्षकी
बान्की परेकी बिछट्ट सुन्दरी बनाएँ
हेरेँ, हेरिरहेँ, एकोहोरो, एकतमास
अनि बिस्तारै बिस्तारै उनीलाई वर्तमानमा ल्याएँ
र थन्काएँ उनको स्व-घोषित विद्रूप वर्तमानमा ।
फर्कँदा मन एकतमास मौन रहिरह्यो
आफूसितै बोल्न मन गरेन मनले पनि
आफूभित्रकै भाषा दुर्बोध्य भयो
उनको सुन्दरताले मनको तलाउमा एउटा ढुङ्गो हानेको थियो
तरङ्गहरू उठिरहे धेरै बेर, सबै धमिलो थियो ।
कुन भाषा र लिपिमा सोच्नुपर्ने हो उनीबारे ?
प्रश्न प्रश्नमा नै विलीन भयो
आफैँभित्र कुन्नि के के हराएको भान हुँदै थियो ।
मेरो जीवनकी सबैभन्दा सुन्दरी नारी
सत्तरी वर्षकी मेरी माइजु !
समयले उनको जीवनमा असीम खेलबाड गरेको छ
शरीरमा चाउरी नपरेको ठाउँ नै छैन
उनी मात्र चाउरी हुन्
उनको शरीर पनि छैन झैँ लाग्छ— मात्र चाउरी छ
तर असाध्य बान्की परेकी
शब्दमाथिकी सुन्दरी
शब्द-अक्षता सुन्दरी
सौन्दर्यातीत सुन्दरी ।
उनको शरीर त मात्र एउटा आवरण हो
जसलाई उनले धेरै वर्षअघि फालिसकेकी हुन् ।
एक्काइस वर्षको शरीरको चरम उत्कर्षमा विधवा भएकी उनले
शरीरलाई पन्छाइदिइन्— फालिदिइन् बिस्तारै
शरीर र सुन्दरतादेखि एउटा सौन्दर्यातीत निराकारको यात्रा गरिन् ।
शरीरको अवस्थादेखि माथि बाँच्ने उनी एउटा विदेही
तपस्वी जनककी ओझल परेकी मेरी जानकी उनी
माइजु हुन् कि आमा— भन्नै नसकिने
मातृत्वको धारा भएर बगिन्
गिद्धे पुरुषको काल भएर बगिन् ।
उनको शरीर त मात्र एउटा भ्रम हो— देखिन्छ तर छैन
एउटा अमूर्त शरीरमा बाँच्न थालिन उनी
प्रेम, करुणा, दया, साधना, तपस्या, समदर्शिता
इत्यादि, इत्यादिका असामान्य कुरामा रूपान्तरण भइन् ।
मानौँ, करुणा नै उनको शरीर हो
मानौँ, आँसु नै उनको आवरण हो
मानौँ, अमूर्त नै उनको मूर्त हो ।
कुन्नि किन मेरो आँखा अनायास आँसुले भरिन्छ
सुन्दरताको संसार छिर्ने बाटो कतै आँसु त होइन ?
चरम सुन्दरताको अघि मानिस किन बगेर जान्छ तरल भएर ?
मनले अनायास अतीतको समय-यात्रा गर्छ फेरि
बाल्यकालमा पढेको संस्कृत वाङ्मयको याद आउँछ
जसले नारीलाई मात्र उसको स्तन र तिघ्रामा देखेको छ
यो नारीको असली रूप हो कि
यौनकुण्ठाको असली विद्रूप रूप ?
अनि फेरि माइजुको विदेही देह हेर्छु
उनी बिस्तारै बुद्धमा बिलाएको देख्छु
अनि बुद्ध बिस्तारै माइजुमा बिलाएको
तर प्रश्न भने बाँचिरहन्छ— मुटुमा एउटा खिल भएर
आखिर सुन्दरता हो के ?
एपस्टीन फाइलका अँध्यारा आँखाहरू हेर्छु
आँखा छन् तर ज्योति छैन
हेर्न सक्छन् तर देख्न सक्दैनन्
ती करुणासँग सम्बन्धविच्छेद भएका
बीभत्स ग्यासचेम्बर आँखाहरू
अन्तरदृष्टि ध्वस्त भएका पिशाच आँखाहरू
कस्तो सौन्दर्य-दर्शन बोक्छन् यी नदेख्ने आँखाहरू ?
कुन्नि किन
नेपथ्यबाट एउटा वाक्यले मलाई सधैँ तर्साइरहन्छ
“साँच्ची, त्यो त कति राम्री छे, गोरी, सबै थोक मिलेकी, कति राम्री हो कति ।”
छोरी, छोरा र आमाका ती आत्मीय सौन्दर्य-दर्शन !
छोरीको भने सुन्दरता हेर्ने एउटा आफ्नै अन्तरदृष्टि थियो
उनी सौन्दर्यलाई अझै सुन्दरीकरण गर्न सक्थिन् ।
ती सुन्दरताका आत्मीय सुन्दर समुद्र-मन्थनहरूले
मलाई सधैँ एक्लो बनाउँथे अनायास ।
आमा, छोरी र छोरा— सबै सुन्दर, बान्की-सुन्दर
अनायास आफूभित्र एउटा रित्तोपन, शून्यता
र अनागरिकता— सबै उर्लेर आउँथ्यो
आत्मीयबाट एलियन हुन्थेँ म एकैछिनमा ।
ती सुन्दरताका सप्तरङ्गी सप्तक बजेपछि
सबै ऐनाहरू कुरुप लाग्थे
ईश्वर एउटा पक्षपाती जेलर झैँ लाग्थ्यो
एउटा विराट शून्यतामा गएर लुक्थेँ म ।
म त्यहीँ हुन्थेँ, उनीहरू सँगै
तर मरिसकेको हुन्थेँ— निर्जीव, निष्प्राण ।
दिनहुँ चल्ने ती घरेलु सौन्दर्य-परीक्षामा
मेरा केश र खुट्टाहरू झुन्डिएर पास हुन्थे
बाँकी मेरो शरीर— सम्पूर्ण अपूर्ण— पूर्णाङ्ग विकलाङ्ग ।
कति सुन्दरता बुझ्न समय लाग्दो रहेछ
उनको सुन्दरताको एउटा हाइट थियो— पाँच फिट आठ इन्चदेखि माथि
उनको सुन्दरताको एउटा रङ्ग थियो— गोरो या गहुँगोरो
उनको सुन्दरता एउटा बिछट्ट बान्की परेको थियो
त्यो सुन्दरता एउटा अभिनेता-सुन्दरता थियो
त्यो सुन्दरता एउटा धनीपुर्जा-सुन्दरता पनि थियो
अनि एउटा अर्थशास्त्र-सुन्दरता पनि थियो
कयौँ जन्मको प्रारब्धले जन्माएको
जन्मकुण्डलीले सत्यापन गर्नैपर्ने
जनैसुपारीको बाटो हुँदै
मनुस्मृतिको मधुमाससम्म पुग्दै
एउटा कुलीन वंशावलीको लहरोमा टुङ्गिन्थ्यो ।
यो सुन्दरताको सामग्रीकरण थियो कि
सामग्रीको सुन्दरीकरण— खोई, के थियो के !
मन असीम तरलताले फेरि बगाउँछ अर्कै सौन्दर्य-लहरीतिर
डायना र टेरेसा लगभग सँगसँगै मरेका हुन्
डायनाको मृत्युले मिडिया-ग्रहण लाग्यो टेरेसाको मृत्युमा
बुझ्नै सकिएन डायना बढी सुन्दर थिइन्
कि टेरेसा बढी कुरुप ।
वैश्विक टेलिभिजनमा २४/७ प्रसारित
यी दुई लासहरूको सुन्दरी प्रतियोगितामा
डायनाको लासले टेरेसाको लासलाई
बिस्तारै बिस्तारै माऱ्यो— खर्लप्पै निल्यो ।
टेरेसाको लाससँगै अरू केही पनि मर्यो सायद
यो मासुको आँसुमाथिको विजय थियो सायद
विश्वसुन्दरीको ईश्वरसुन्दरीमाथिको !
मानिसले शरीरभरि बोकेको मासुमा
कति किलो मासुले उसको सुन्दरता बोकेको हुन्छ ?
त्यो मासु द्रष्टव्य हो कि— श्रव्य, या खाद्य ?
मासुभित्र मानिसलाई कहाँ खोज्नु ?
अनि मासुबाहिर उसलाई कहाँ हराउनु ?
साँच्ची, साँचो माया गर्न कति किलो मासु चाहिन्छ हँ, अनि कहाँको ?

