साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : सत्ताको हुरी र इमानको अवसान

कविता : सत्ताको हुरी र इमानको अवसान

आफ्नै आकाशमुनि

एउटा डरलाग्दो कालो छाया

घरीघरी झुल्किरहन्छ

अधिकारको नाममा

अरूलाई रित्ताएर

आफ्नो प्यास मेट्न पल्केको

एउटा विद्रूप आकृति ।

आशाका फूलबारी बोकेर

पसिनासँग भाग्य साट्न तम्सिएको

एउटा कमल, अहँ !

उसलाई फुल्न दिइएन ।

अन्यायको शिलामुनि थिचिएर

डाह र ईर्ष्याको सिरेटोले निमोठ्दै

पौरखी पाइलाहरूलाई

अन्तै मोड्न विवश पारियो ।

कति निर्दयी हुँदोरहेछ शक्तिको यो हुरी !

जसले आधारहरू नै उडाएर

अस्तित्वको नाम–निसान मेट्न कम्मर कस्छ ।

अनुहारमा दीप्ति र शिष्टताको लेप लगाएर

भित्र कालकुट बोक्ने ती पत्थरका मूर्तिहरू

लाग्छ, शक्तिको ओत लाग्नेहरूको छातीभित्र मन हुँदैन ।

सत्ता र शक्तिको यो क्रूर हुरी

जसले ठुल्दिदीहरूको बास मात्रै उडाउँदैन

आँगनमा सुस्ताएको इतिहासकै नाम–निशाना मेट्छ ।

अहङ्कारको कम्मर कसेर

आफ्नै जराहरूलाई पराई सम्झी

यसले मान्छेलाई आफ्नै माटोबाट लखेट्छ ।

यो हुरी होइन, यो त एउटा विस्थापन हो

जहाँ कुर्सी मुस्कुराउँछ

तर एउटा सिङ्गो सभ्यता आँसुमा डुब्छ ।

सहनुको पनि एउटा सीमा हुन्छ

जब मर्यादाको बाँध फुटेर धैर्यता खहरे बनिदिन्छ

आफूलाई जोगाउन उसले

एउटा प्रतिवाद के गरेको थियो

उल्टै उसैको इमानलाई

अपराधको पगरी गुथाइयो !

सबै मिलेर घेराबन्दी गरे

उसको सरल रेखाजस्तो जीवनमा

ईर्ष्याको तिर रोपे ।

रातिको भयानक सन्नाटामा

निर्मम हातहरूले उसको कलम समाते

र एउटा शिशुको मुखबाट दूध खोसेझैँ

जबरजस्ती आँसुले लेखाइयो

विवशताको राजीनामा–पत्र ।

बाहिर मुस्कुराउनुपर्ने छटपटीपूर्ण विवशता बोकेर

आज ऊ आफ्नो पराजित अस्तित्व सम्हाल्दै छ ।

जहाँ तीन वर्षकी छोरी र छ महिनाको छोराको

दूधको कचौरा रित्ताएर

सत्ता र अहङ्कारले एउटा

बीभत्स विजयोत्सव मनाइरहेछ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.