आफ्नै आकाशमुनि
एउटा डरलाग्दो कालो छाया
घरीघरी झुल्किरहन्छ
अधिकारको नाममा
अरूलाई रित्ताएर
आफ्नो प्यास मेट्न पल्केको
एउटा विद्रूप आकृति ।
आशाका फूलबारी बोकेर
पसिनासँग भाग्य साट्न तम्सिएको
एउटा कमल, अहँ !
उसलाई फुल्न दिइएन ।
अन्यायको शिलामुनि थिचिएर
डाह र ईर्ष्याको सिरेटोले निमोठ्दै
पौरखी पाइलाहरूलाई
अन्तै मोड्न विवश पारियो ।
कति निर्दयी हुँदोरहेछ शक्तिको यो हुरी !
जसले आधारहरू नै उडाएर
अस्तित्वको नाम–निसान मेट्न कम्मर कस्छ ।
अनुहारमा दीप्ति र शिष्टताको लेप लगाएर
भित्र कालकुट बोक्ने ती पत्थरका मूर्तिहरू
लाग्छ, शक्तिको ओत लाग्नेहरूको छातीभित्र मन हुँदैन ।
सत्ता र शक्तिको यो क्रूर हुरी
जसले ठुल्दिदीहरूको बास मात्रै उडाउँदैन
आँगनमा सुस्ताएको इतिहासकै नाम–निशाना मेट्छ ।
अहङ्कारको कम्मर कसेर
आफ्नै जराहरूलाई पराई सम्झी
यसले मान्छेलाई आफ्नै माटोबाट लखेट्छ ।
यो हुरी होइन, यो त एउटा विस्थापन हो
जहाँ कुर्सी मुस्कुराउँछ
तर एउटा सिङ्गो सभ्यता आँसुमा डुब्छ ।
सहनुको पनि एउटा सीमा हुन्छ
जब मर्यादाको बाँध फुटेर धैर्यता खहरे बनिदिन्छ
आफूलाई जोगाउन उसले
एउटा प्रतिवाद के गरेको थियो
उल्टै उसैको इमानलाई
अपराधको पगरी गुथाइयो !
सबै मिलेर घेराबन्दी गरे
उसको सरल रेखाजस्तो जीवनमा
ईर्ष्याको तिर रोपे ।
रातिको भयानक सन्नाटामा
निर्मम हातहरूले उसको कलम समाते
र एउटा शिशुको मुखबाट दूध खोसेझैँ
जबरजस्ती आँसुले लेखाइयो
विवशताको राजीनामा–पत्र ।
बाहिर मुस्कुराउनुपर्ने छटपटीपूर्ण विवशता बोकेर
आज ऊ आफ्नो पराजित अस्तित्व सम्हाल्दै छ ।
जहाँ तीन वर्षकी छोरी र छ महिनाको छोराको
दूधको कचौरा रित्ताएर
सत्ता र अहङ्कारले एउटा
बीभत्स विजयोत्सव मनाइरहेछ ।

