ए ‘कुल’ र ‘मान’ का ठेकेदारहरू !
तिमीले जपिरहेको त्यो ‘पवित्रता’ को मन्त्र
कुनै ‘इनिसा’ को चित्कारमा कति पटक निथ्रिएको छ ?
जहाँ तिम्रो ‘इज्जत’ एउटा योनिमा कैद छ
र तिम्रो ‘शौर्य’ एउटा असहायको आँसुमा पौडिन्छ ।
हेर, तिम्रो भान्छामा पाकेको त्यो ‘विभेद’ को भोजन
जसले तिम्रो छोराको नसामा ‘राक्षस’ को रगत भरिदिन्छ।
जब तिमी ‘वंश’ को धाक लगाउँछौ
बिर्सन्छौ- त्यही वंशले एउटा निर्मलाको चिहान खनिरहेको छ।
तिमीले धोएको त्यो ‘सनातनी चोखोपन’
कुन गंगाले पखाल्छौ ?
जब तिम्रो हातमा न्याय होइन, ‘मनु’ को सडेको तराजु छ ।
तिमीलाई लाग्ला- तिम्रो ‘थर’ ले तिम्रो पाप ढाक्छ
तर सम्झिराख
जब सडकको रगतले तिम्रो दरबारको जग भिज्नेछ
त्यतिबेला न तिम्रो ‘जात’ बाँकी रहनेछ, न तिम्रो ‘औकात ‘!
मेरो यो रक्तरञ्जित कलमले
अब तिम्रो स्तुति होइन, तिम्रो ‘अन्त्येष्टि’ लेख्नेछ ।
यो देश अब तिम्रो ‘बलात्कार-शाला’ रहने छैन
यो त तिम्रो अहंकार जलिरहेको एउटा ‘महा-श्मशान’ हुनेछ !

