साहित्यपोस्ट डट कम

कविता : सत्ता र संस्कारका मतियारहरूलाई

कविता : सत्ता र संस्कारका मतियारहरूलाई

​ए ‘कुल’ र ‘मान’ का ठेकेदारहरू !

तिमीले जपिरहेको त्यो ‘पवित्रता’ को मन्त्र

कुनै ‘इनिसा’ को चित्कारमा कति पटक निथ्रिएको छ ?

जहाँ तिम्रो ‘इज्जत’ एउटा योनिमा कैद छ

र तिम्रो ‘शौर्य’ एउटा असहायको आँसुमा पौडिन्छ ।

​हेर, तिम्रो भान्छामा पाकेको त्यो ‘विभेद’ को भोजन

जसले तिम्रो छोराको नसामा ‘राक्षस’ को रगत भरिदिन्छ।

जब तिमी ‘वंश’ को धाक लगाउँछौ

बिर्सन्छौ- त्यही वंशले एउटा निर्मलाको चिहान खनिरहेको छ।

तिमीले धोएको त्यो ‘सनातनी चोखोपन’

कुन गंगाले पखाल्छौ ?

जब तिम्रो हातमा न्याय होइन, ‘मनु’ को सडेको तराजु छ ।

​तिमीलाई लाग्ला- तिम्रो ‘थर’ ले तिम्रो पाप ढाक्छ

तर सम्झिराख

जब सडकको रगतले तिम्रो दरबारको जग भिज्नेछ

त्यतिबेला न तिम्रो ‘जात’ बाँकी रहनेछ, न तिम्रो ‘औकात ‘!

​मेरो यो रक्तरञ्जित कलमले

अब तिम्रो स्तुति होइन, तिम्रो ‘अन्त्येष्टि’ लेख्नेछ ।

यो देश अब तिम्रो ‘बलात्कार-शाला’ रहने छैन

यो त तिम्रो अहंकार जलिरहेको एउटा ‘महा-श्मशान’ हुनेछ !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.