साहित्यपोस्ट डट कम

कविता : साथीलाई चिठी

कविता : साथीलाई चिठी

प्रिय साथी विवेक

तिमीलाई यो चिठी लेख्दैछु

मेरो बुबाको खेतबारीबाट

जहाँ माटोले जीवन दिन्छ

जीवनले माटो चिन्छ ।

बिहान कागको स्वरले

मोबाइल अलार्मजस्तै जगाउँछ

बत्ती निभाएको कोठाबाट निस्कँदा

सूर्यको पहिलो किरणले हात मिलाउँछ

तिमी सहरको झिलिमिली उज्यालोमा

बिहान–बेलुका हराउँछौ होला

यहाँ बत्ती निभाउँदा

ताराहरू झलमल्ल बल्छन्

कुनै बिल तिर्नुपर्दैन ।

हिलो–धुलो खेल्दै

हावासँग कुरा गर्दै

अर्गानिक माटोको उत्पादन खान्छु

तिम्रो रेस्टुरेन्टको जस्तो स्वादिलो नहोला

तर मेरो जिब्रोले कार्बन पाप बोक्दैन

आफैँले फलाएको ताजा तरकारीले

स्वास्थ्यमा नोक्सानी गर्दैन ।

तिम्रो जीवन आधुनिक

तर म माटो अँगालिरहेछु

राति ताराहरू हेर्छु

लाग्छ, अँध्यारो पनि उज्यालो हो

बचतको दीयो

यो शरीर धरतीको ऋण तिरिरहेछ

माटोसँगको मितेरी

मानवताको मियो ।

साथी, मलाई म भएर बाँच्न देऊ

गाउँले किसान भनी नहेपिदेऊ

यो माटो मेरो उज्यालो छाया

प्रकृतिप्रेममै खुल्छ साथीको माया ।

ट्याग: शरद्शोभा
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.