महलमा रमाउनेहरूको सपना बिगारिदिए रे
झुपडीमा बाँच्नेहरूले ।
सपना बिगारेको आरोपमा लखेटिँदै छन् सहरबाट
आफ्नै सपना मेटाएर आज ।
एक हातले नक्सा कोर्छ उसले
अर्को हातले झुपडी मेट्न खोज्छ सधैँ ।
थाहा छैन सायद त्यो हातलाई
कस्तो हुन्छ मेटिँदा सपनाको आवाज
कस्तो हुन्छ अभावमा बाध्यताको चित्कार ।
ठड्याउन चाहन्छ उसले आइफिल टावर आफ्नै सहरमा
सजाउन चाहन्छ उसले ताजमहलको सुन्दर दृश्य
आफ्नै आँखाअगाडि ।
बुझाइदेऊ कसैले उसलाई
आइफिल टावर र ताजमहल पनि
झुपडीका मजदुरहरूकै पसिनाले ठडिएको हो भनेर ।
सपना हराएर गाउँको अँध्यारोमा
खुसी खोज्दै सहरको उज्यालोमा भौँतारिरहेकाहरू
आज दोषी करार भएका छन्
बिगारिदिएको आरोपमा उसको सहरलाई ।
मुद्दा हालेनन् कसैले अदालतमा
मुखुण्डो लगाएर मानवताको
मदर टेरेसा जत्तिकै साह्रै दयालु छ ऊ।
धर्म निभाइरहेछ उसले जुन उसको धर्म थियो ।
र तिमी पनि
नहार्नु कहिल्यै धर्म आफ्नो
नमार्नु कहिल्यै आशा आफ्नो ।
आज चम्किरहेको उज्यालो तिम्रो नहुन सक्छ
तर भोलि सूर्योदय अवश्य हुनेछ
जो सबैको साझा हुनेछ ।
त्यतिबेला
न धनी हुनेछ, न गरिब
केवल मान्छे हुनेछ ।

