साहित्यपोस्ट डट कम

कविता : सद्‍भावको सन्तरी

कविता : सद्‍भावको सन्तरी

आजकाल बढेको मोबाइलको “रिङटोन” ले

सूचना र जानकारीसँगै व्यस्तता बढाइरहेछ ।

समन्वयका पानामा हार्दिकताका हरफ बढाउँदै जाँदा

छिमेकमा लागेको आगोले चिन्ता थपिरहेछ ।

आशङ्काले जन्माएको कम्पनसँगै,

आक्रोशको ज्वारभाटा थाम्नुछ यहाँ।

सडकमा निस्केको मशालभन्दा धेरै

सामाजिक सञ्जालको आगो निभाउनुछ जहाँ ।

मन्दिरको घण्टी र मस्जिदको अजान

दुवैको अस्तित्व जोगाउनुछ यहाँ ।

मतदाता र मतपेटिकाको मात्रै होइन

आफ्नै विश्वासको रक्षा गर्नुछ जहाँ ।

हामी सचेत छौँ

कतै एउटा अफवाहले सहरको शान्ति नखोसियोस् !

धार्मिक-सांस्कृतिक सद्‍भाव तोड्न

प्रतिशोधको आगो नझोसियोस् !!

हामी प्रतिबद्ध छौँ

सेवाले भरिएको हाम्रो मस्तिष्कलाई

तन-मनले कहिल्यै थाक्न दिँदैनौँ ।

देश र जनताको शान्तिको अभिलाषा

कसैले चाहँदैमा रोक्न दिँदैनौँ ।

हामी बुझ्दछौँ

नागरिकको मौन अपेक्षा

हाम्रो साथमा छ सहकर्मीको अटल भरोसा ।

चिर्दै जानेछौँ सबै प्रतिकूलता

किनकि, कर्तव्य नै हो हाम्रो जिजीविषा ।

हामी ठान्दछौँ

राष्ट्र र राष्ट्रियता सधैँ

हामीभन्दा धेरै माथि छन् ।

सार्वजनिक शान्तिका लागि हाम्रा कर्म

इतिहासमा सधैँ साक्षी छन् ।

ट्याग: जय रिमाल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.