साहित्यपोस्ट डट कम

कविता : साँचो कामुकता

कविता : साँचो कामुकता

नारीको देह

रातको झ्यालजस्तै

अलिकति खुल्दा हावाले मन पोल्छ

पहिला आँखाले चाख्छ

छायाँले लाज छोप्छ

र चाहनाले आफैँ बिर्सिन्छ ।

प्रेम हो कि तिर्खा ?

छातीभित्रको धड्कनले के उत्तर दिने, खै !

उनी हाँस्दा मेरो मन ढुक्क हुन्छ

अनि उनको नजिकिँदो सराईले

छालामा बिजुली दौडिन्छ ।

भनिन्छ

जब स्त्रीले आफ्नो सबैभन्दा प्यारो सीमा

कसैका लागि खोल्छिन्

त्यो केवल देह होइन, विश्वासको उज्यालो हो

जहाँ हात काँप्छ र मन नाङ्गो हुन्छ ।

मभित्र प्रश्नको ताप जल्दै थियो

तर एक चाहना सबैभन्दा बलियो बन्दै पनि थियो

उनको छालामा मेरो नाम कस्तो सुनिन्छ होला ?

मनले सोध्दै थियो ।

उनीसँगको भेटका शृङ्खलाहरूमा

दिनहरू मखमली हुन्थे

रातहरू धड्कनले हल्लिन्थे ।

प्रेम जाग्थ्यो तर उनको “आज होइन” आवाजले

मेरो अहङ्कारलाई चिस्याइदिन्थ्यो ।

त्यतिबेला महसुस हुन्थ्यो

साँचो कामुकता जिद्दीमा होइन, प्रतीक्षामा छ ।

देह त क्षणिक ज्वाला हो

प्रेम त्यो आँच हो, जसले स्पर्श नहुँदा पनि तातो राख्छ ।

सायद सबैभन्दा कामुक क्षण त्यही हो

जहाँ चाहना थामिन्छ

र दुई मन नाङ्गै भएर एक–अर्कामा अडिन्छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.