नारीको देह
रातको झ्यालजस्तै
अलिकति खुल्दा हावाले मन पोल्छ
पहिला आँखाले चाख्छ
छायाँले लाज छोप्छ
र चाहनाले आफैँ बिर्सिन्छ ।
प्रेम हो कि तिर्खा ?
छातीभित्रको धड्कनले के उत्तर दिने, खै !
उनी हाँस्दा मेरो मन ढुक्क हुन्छ
अनि उनको नजिकिँदो सराईले
छालामा बिजुली दौडिन्छ ।
भनिन्छ
जब स्त्रीले आफ्नो सबैभन्दा प्यारो सीमा
कसैका लागि खोल्छिन्
त्यो केवल देह होइन, विश्वासको उज्यालो हो
जहाँ हात काँप्छ र मन नाङ्गो हुन्छ ।
मभित्र प्रश्नको ताप जल्दै थियो
तर एक चाहना सबैभन्दा बलियो बन्दै पनि थियो
उनको छालामा मेरो नाम कस्तो सुनिन्छ होला ?
मनले सोध्दै थियो ।
उनीसँगको भेटका शृङ्खलाहरूमा
दिनहरू मखमली हुन्थे
रातहरू धड्कनले हल्लिन्थे ।
प्रेम जाग्थ्यो तर उनको “आज होइन” आवाजले
मेरो अहङ्कारलाई चिस्याइदिन्थ्यो ।
त्यतिबेला महसुस हुन्थ्यो
साँचो कामुकता जिद्दीमा होइन, प्रतीक्षामा छ ।
देह त क्षणिक ज्वाला हो
प्रेम त्यो आँच हो, जसले स्पर्श नहुँदा पनि तातो राख्छ ।
सायद सबैभन्दा कामुक क्षण त्यही हो
जहाँ चाहना थामिन्छ
र दुई मन नाङ्गै भएर एक–अर्कामा अडिन्छन् ।

