म हिँड्ने बाटाहरूमा
मेरो बालापन हरायो
म खेल्ने आँगनहरूमा
मेरो कबड्डी र भुरुङ हराए ।
घरनजिक थियो स्कुल
मेरो शिक्षक, सङ्गी-साथीहरू हराए
म हुर्किएको-बढेको
मेरो सम्पूर्ण परिवेश हरायो ।
खोज्छु खोज्नु बेकार लागेर छोड्छु
मनले उतै लैजान्छ
फेरि खोज्छु तर सकिन्न पाउन ।
जता जान्छु उतै पाउँछु
मात्र नौलो परिवेश
बदलिएको सडक
अरू खेलिरहेको आँगन
साथी-सङ्गीविहीन
र ती वेलाका शिक्षक नभएको स्कुल ।
नयाँ निर्माण भए पनि
आनन्द नमिल्ने उजाड-उजाड संस्था
त्यही ठाउँ भए पनि आफ्नैपन
लुप्त भएको माटो ।
घरपछाडिकी माइली आमा
घरअगाडि सडकपारिकी बडी आमा
ठूली आमा, काका-काकी
कतै कहीँ देखिन्नन् ।
शान्त स्वभावकी साइँली आमाको
घर छ ठिङ्ग उभिएको
‘प्रमोद’ भनेर बोलाउने
मायामिश्रित आवाज सुनिन्न।
घुम्छु हेर्छु, यता खोज्छु उता खोज्छु
हात लाग्छ मात्र शून्य ।
आमा बाफतालाई त आर्यघाटमा
निकै भयो सद्गत गरेको
बुबा रामचन्द्रलाई त झन्
त्योभन्दा निकै पहिले।
संसारको रीत यस्तै छ
विधिको विधान यस्तै छ ।
ठिङ्ग उभिएको रुख
मतिर हेरेर हाँसिरहेको रहेछ
अँ, ऊ पनि त्यही वेलाको
अझ भनौँ मेरो हजुरबुबाको पालाको ।
मेरो बाल्यकालको हरेक पलको साक्षी
मलाई मन पर्ने फल दिने
त्यो बडहरको रुख
मैले चिनेको त्यही मात्र !
केही बोल्ने प्रयत्न गर्दै थियो ऊ
त्यत्तिकैमा हावाहुरी चल्यो ।
म दगुँरें ओत लाग्न
गर्लम्म ढल्यो ठुलो आवाजसँगै ।
मेरो त्यो अन्तिम साक्षी पनि
मिल्ने साथी पनि
मलाई पुरै परिवर्तन भएको
कसैले नचिन्ने बनेको
मेरो त्यो प्रिय सहरमा ।
अस्तु ।
वीरगन्ज

