साहित्यपोस्ट डट कम

कविता : सास फेर्ने मूर्ति

कविता : सास फेर्ने मूर्ति

अन्धकारले सास निमोठ्छ

बेलगाम दौडन चाहन्छन् खुट्टा

अस्तित्वमा जकडिएको छ अहम्‌को धुलो

यदि यस्तो नहुँदो हो त

ठान्न सक्ने थिइनँ आफूलाई ज्यूँदो मानिस

ओठ थर्थराउँदैनथ्यो त उत्पात झोकले

दाँतहरू किटिइँदैनथ्यो त दासता विरुद्ध

आँखाले देख्दैनथ्यो त उच्च उडानको सपना

औंलाहरू एकठ्ठिएर

मुठी कङ्क्रिट बन्दैनथ्यो त जुलुमको प्रतिशोधमा

या पैतलाले टेक्न डराउँथ्यो भने आगाको हिमाल

कसरी ठान्ने आफुलाई जीवित ?

ज्यूँदो हुनु भनेको त केही हुनु हो

‘केही हुनु भनेको विध्वंस या बबण्डर हुन सक्छ

वा हुन सक्छ

एलिटहरूको रक्सी पिएर मात्तिएको

अदालतको फैसलामा आगो लागोस्

हुन सक्छ

उपेक्षाको कर्कश सुर अलाप्ने ग्रन्थको घाँटी न्याँकियोस्

हुन सक्छ

पुर्खाको बलिदानमाथि टेकेर

निर्लज्ज हाँसिरहने दरबारको सिसामा

आवेगको एउटा ढुङ्गा टकराओस्

केही हुनु भनेको जे पनि हुन सक्छ

ज्युदो हुनु भनेको केही हुनु हो

ज्यूँदो हुनु भनेको

पैतलामा गति हुनु हो

रगतमा तापक्रम

आँखामा सपना

र ओठमा आवाज हुनु हो

ज्यूँदो हुनु भनेको

प्रतिकृया

प्रतिवाद

या प्रतिपक्ष हुनु हो

ज्युदो हुनु भनेको केही त जरूर हो

यदि

चिमचिमाउँदैनन् टाउकाभरि जिज्ञासाका चिमहरू र

प्रश्नका नङ्ग्राले चिथोरिंइदैन भने

यदि

प्रतिकृयाबिहीन

यथास्थितिमै रहिरहन्छ

र जसको उपस्थितिले कुनै अर्थ राख्दैन भने

त्यो त हो केबल- सास फेर्ने मूर्ति ।

ट्याग: सुरज राना
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.