झरी–बर्सादको याम
खचाखच थकान भरिएको
तीन रात चार दिनको पैदल यात्रा ।
बाटोमै भेट भएकी अञ्जान युवतीसँगको हिँडाइ
उनीसँग भएका कुराकानी
सँगै हिँड्दा देखिएका दृश्यहरू
परस्पर हेराहेर गर्दै हाँसेका विषयहरू
एक–एक गरी स्मृतिमा ल्याइरहेछन् वरिपरिका दृश्यहरूले ।
बसको यात्रामा सँगैको सिटमा
झ्यालतिर थिइन् उनी यही बाटोमा ।
पचास–पचपन्न वर्ष पहिले पैदल हिँड्दाकै जस्तो
एक अञ्जान, अपरिचित नारी ।
सडक नभएको उबेलाको त्यो घोडेटोमा
सँगै हिँड्दा भएका भलाकुसारीले
एक–अर्काको मनमा अज्ञातको अन्धकारबाट
बिस्तारै ज्ञातको मिरमिरे उज्यालोतिर सर्दै थियौँ हामी ।
यस्तै अवस्थामा हाम्रो यात्राको साझा बाटो तुरिएको थियो
र त्यहीँबाट छुट्टिएर लागेका थियौँ आ–आफ्नो गन्तव्यतिर ।
छुट्टिने बेलामा उनले भनेकी थिइन्
“यो उमेरका केटा यति संयमी, यति भलाद्मी हुन्छन् भन्ने ठानेकी थिइनँ
मर्यादाको सीमा ननाघी यात्रामा साथ दिनुभयो, धन्यवाद ।”
कृतज्ञताले भरिएका शब्दले मेरो हृदयलाई सुम्सुम्याउँदै
बिदा भएकी थिइन् उनी ।
नारी हृदय— यति सङ्लो, यति निसङ्कोच
यति छलछामरहित र सुझबुझले भरिएको हुन्छ भन्ने बुझ्न
“पहिलो मौका पाएँ” भन्दै
मैले पनि आफ्नो अनुभूतिलाई शब्दमा प्रस्तुत गरेर
उनको हृदयलाई छुने कोसिस गरेको थिएँ ।
अहिले बसमा सँगै भएपछि भलाकुसारी हुने नै भयो
अविवाहित नै रहिछिन् ।
“पचास–पचपन्न वर्ष पहिले यहाँ सडक नहुँदा पैदलै यात्रा गरिन्थ्यो
एक पटकको यात्रामा एक अपरिचित युवा सहयात्री थिए
अति संयमी, ज्यादै भलाद्मी र मर्यादाका हिमायती ।”
त्यही बखत— यस्तै वर जुरे मात्र वधू बन्ने
नत्र कुमारी नै बस्ने निधो गरेकी थिएँ
आजसम्म त्यस्तो जुरेन हृदय खोलेर छ्याङ्गै देखाइन् उनले ।
छुट्टिने बेलामा ती व्यक्तिले भनेका थिए
“नारी हृदय यति सङ्लो, यति निसङ्कोच
यति छलछामरहित र यति सुझबुझले…”
मैले आफ्नो भनाइ पूरा गरिनसक्दै
अनुहारभरिबाट हर्षका किरणहरू छर्दै
सुखमय आश्चर्य व्यक्त गरिन् उनले
भनिन् “आहा! त्यो व्यक्ति तपाईं नै हो, पक्का ।”
मलाई हेरेर शिरदेखि पाउसम्म नियालिन्
आँखा रसाएका थिए ।
मैले चाहिँ आफ्नो आँसु लुकाएँ
र आफूले पनि त्यही बेला उनकै जस्तो प्रण गरेको बताए ।
छुटिनु त छँदै थियो
अर्को जन्ममा हाम्रो मिलन होस् भन्ने भावनालाई साझा बनाएर हामी छुट्टियौँ ।
म गाडीबाट ओर्लिएँ, उनको गाडी अगाडि बढ्यो ।
अर्को बस पर्खँदै गर्दा मैले उनलाई हेरिरहेँ
आफ्नो हृदयको टुक्रै छुटेझैँ गरी फर्की–फर्की हेर्दै गइन्
जाँदा मेरो हृदयको एउटा ठुलो हिस्सा नै लिएर गइन् ।
हामीले फेरि एक पटक जन्मनै पर्ने भएको छ ।

